बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संगठन विस्तारमा जुटिरहेको छ । सो क्रममा बेसीशहर नगरपालिका– ३ वडा भेलाले हरिप्रसाद अधिकारीको अध्यक्षतामा वडा समिति भदौ १६ गते गठन गरेको छ ।
सो दलको गण्डकी प्रदेश सदस्य एवम् जिल्ला संयोजक धर्म केसी र ८७ वर्षीय बयोबृद्ध लक्ष्मीप्रसाद घिमिरे संयुक्त रुपमा घण्टी बजाएर उदघाटन गर्नु भएको थियो ।
प्रशिक्षण शैलीमा मन्तव्य :
भेलामा धर्म केसीले आफू राजनीति गर्ने उद्देश्यले नेपाल फर्केको थिइनँ, अन्य दलका नेताहरूलाई सहयोग गर्ने सोचले प्राविधिक ज्ञान दिने योजना थियो । त्यो क्रममा काँग्रेस नेता डा. नारायण खड्का, माओवादीका तत्कालीन वनमन्त्री, एमालेका नेता एवम् तत्कालीन मुख्यमन्त्री यसै जिल्लाका पिएस गुरुङ लगायतसँग सम्पर्कमा रहेर आफ्ना कुरा राखेको हुँ तर उहाँहरूले मुखले ठीक पार्ने व्यवहारमा आफ्नो भरियामात्र बनाउने सोच रहेको देखे, बुझे पछि म पनि राजनीतिमा लाग्नै पर्ने रहेछ भन्ने अठोटका साथ आफूले यो यात्रा तय गरेको उल्लेख गर्नुभयो । उहाँले एक, पाँच, १५, २५ वर्षे योजना बनाएर अघि बढ्नु पर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले सांसद स्वर्णिम वाग्लेले नेपाली सेनाका बारेमा गर्नु भएको टिप्पणीका बारेमा गरिएको भ्रमपूर्ण प्रचारको वास्तविकतासमेत खोल्नु भएको थियो ।
प्रशिक्षण शैलीको करिब एक घण्टाको विशेष मन्तव्यमा केसीले पार्टीको सिद्धान्त, नीति र कार्यक्रमका साथ विपक्षी दलका प्रश्न तथा अनर्गल प्रचारलाई के कसरी चिर्ने भन्ने प्रष्ट्याउनु भएको थियो । उहाँले रास्वपाको नीति र योजना खर्चको बोझको रुपमा रहेको हुँदा सभासद रहित प्रदेश हो, त्यसका लागि संविधान संशोधन नगरी हुँदैन, त्यसका लागि दुईतिहाई चाहिन्छ । संविधान स्वीकृतिका लागि राष्ट्रपति समेत हाम्रो चाहिन्छ । राष्ट्रपति चुन्नका लागि मतदाता स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयरदेखि प्रदेश सांसद समेत भएका कारणले ती ठाउँमा पनि हाम्रो पार्टीले कब्जा जमाउने पर्ने हुन्छ, यसका लागि आजैदेखि त्यो मिसन–२०८४ पुरा गर्न जुटौं भन्ने आह्वान गर्नुभयो ।
उहाँले म यो पदको व्यक्ति हुँ भनेर प्रचारमा लाग्नु भन्दा त्यसअनुरुपको गतिविधिमा जुट्न आवश्यक छ किनकि, हाम्रो पार्टीमा सभापति रवि वा अन्यले वा वडास्तरमा मै जिल्ला प्रमुख भएँ भने पनि मैले वडाअध्यक्ष वा सदस्यको टिकट दिने होइन । अर्कोकुरा हाम्रो पार्टीले प्रष्टरुपमा बढीमा दुई कार्यकाल मात्र भनेको छ, यसकारण सबैको पालो आउँछ, धैर्य गर्न पनि सिकौं, पार्टीलाई बलियो बनाउने काममा जुटौं, अध्ययनशील बनौं भन्नुभयो । उहाँले जुनकुनै पनि बेला जनहितकारी काम गरी सुशासनको पक्षपोषण गर्ने र भ्रष्टाचारको विरोध गर्ने गरौं भन्नुभयो । उहाँले सांसद ढाकाराम श्रेष्ठको काण्डको स्मरण गर्नुहुँदै पार्टीलाई सांसदभन्दा सुशासन चाहिएको छ भन्ने सबैले हेका राखौं भन्ने उल्लेख गर्नु भयो ।
उक्त भेलाको सञ्चालन जिल्ला सहसंयोजक अशोक सापकोटाले गर्नु भएको थियो । उहाँले बजेट मुखी कार्यक्रमतर्फमात्र ध्यान नदिई बजेट बिनाका ससाना काम भने पनि गरौं, र निरन्तरता दिऔं, त्यही कामपछि ठूलो र प्रेरणादायी हुन सक्छ भन्नुभयो ।
पद काम गर्नका लागि हो :
यसैगरी, वरिष्ठ पत्रकार नवराज पहाडीले संक्षिप्त मन्तव्यमा अब आफू पेशाले पत्रकार भएता पनि कर्मका हिसाबले पार्टीमा एक अनुशासित, उत्साह एवम् जोस जाँगरका साथ युद्धमा होमिएको सिपाही जस्तै भूमिकामा रहेको उल्लेख गर्नु भयो । उहाँले पद काम गर्नका लागि हो भन्ने बानकिो विकास गर्नु पर्ने खाँचो रहेको औंल्याउँदै तर हाम्रो समाजमा भने त्यस्तो हुन सकेको छैन, पद लिन जे जत्ति हौसिने, रौसिने प्रचलन छ पदीय जिम्मेवारी र कर्तव्य पालनामा भने उस्तो ध्यान दिने गरिदैन । बेसीशहर नगरसमितिका साथीहरू यो पालिकाको वडाभेला तथा कार्यक्रममा त सबैठाउँमा पुग्नु पर्यो नि ! त्यस्तो देखिन सकेको छैन भन्ने स्मरण उहाँले गर्नु भयो । उहाँले आत्म मूल्यांकन गर्ने बानी बसालौं, अन्य पार्टीका कार्यकर्ता जस्तै हुने भए त ती पार्टी छाडेर स्वतन्त्र पार्टीमा आउन जरुरत थिएन । किन स्वतन्त्र पार्टीमा आएका छौं र पार्टीले के कस्तो गर्दैछ यसको गन्तव्य के हो ? भन्ने मनन गरौं भन्नुभयो ।
उहाँले पार्टीले सुशासनका पक्षमा चालेको कदमले आफूलाई बढी प्रभावित बनाएको उल्लेख गर्दै आज केन्द्रमा भएका भ्रष्टाचारका फायत जेजति खुलेका छन् र खुल्ने चर्चा छ त्यसमा ठूला माछा तानिन्छन् कि तानिदैनन् त्यो अझै एकिन हुन सकेको छैन तर रास्वपाले उठाएको भ्रष्टाचारका विरोधि अभियानले त्यति यो उपलब्धी भएको हो त्यसैले हामी आफैले पनि अन्याय नगर्ने र अन्याय नसहने प्रण गरौं भन्नुभयो । उहाँले हाम्रा गतिविधि लेख्नका लागि अन्य कसैलाई गुहार्न जरुरत छैन किनकि, हामीसँग आजका दिनमा पनि तीनवटा सञ्चारमाध्यमहरू अन्तरङ्ग, लमजुङ रत्न र अन्तरङ्ग न्यूज डटकम छन् भन्ने जानकारी दिनुभयो ।
उक्त भेलाबाट ११ सदस्यीय वडा समिति र तीन जना पालिका विभागका सदस्यहरू चयन भएका छन् । उनीहरूलाई जिल्ला संयोजक धर्म केसी तथा ८७ वर्षीय निवृत्त शिक्षक लक्ष्मीप्रसाद घिमिरेले नवनिर्वाचितहरूलाई रातो टिका लगाउनु भई आशीर्वाद दिनु भएको थियो ।
वडाध्यक्षमा हरिप्रसाद अधिकारी चयन :
उक्त भेलामा वडाध्यक्षमा हरिप्रसाद अधिकारी, उपाध्यक्ष इन्द्रबहादुर खत्री, सचिव धिरबहादुर घिमिरे तथा सदस्यहरूमा सीता श्रेष्ठ, अर्जुन दुलाल, अमृत विक, रामबहादुर परियार, नारायण घिमिरे, सोनिका दुलाल, गुरुप्रसाद घिमिरे र अकलबहादुर खड्का चयन हुनु भएको छ । यसैगरी, पालिकाको विभागका लागि चयन हुनुभएका सदस्यहरूमा लक्ष्मीप्रसाद घिमिरे, क्षेत्रबहादुर थापा र सन्तोष परियार हुनुहुन्छ ।
बेसीशहर नगरका सभापति कृष्णबहादुर राउतको अध्यक्षतामा भएको सो भेलामा उहाँले धन्यवाद ज्ञापन सहित आफ्ना भनाई राख्नु भएको थियो । उहाँले आफूलाई कखरा चिनाउने गुरुको समुपस्थितिमा ऐतिहासिक वडाको भेला आयोजना गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो । निर्वाचन क्षेत्र समितिका सदस्य एवम् बेसीशहर नगरपालिका– ६ का अध्यक्ष प्रकाश थापाले स्वागत मन्तव्य राख्नु हुँदै वडा समिति गठनको प्रक्रियाका बारेमा जानकारी दिनु भएको थियो ।
प्रकाशित मिति २०८० भाद्र १७, आईतवार १४:११ गते