बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहर बजारमा सुन चोरी गरेको अभियोगमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । बेसीशहर नगरपालिका– ८, शेरामा स्थायी बसोबास गर्ने २७ वर्षीया सुजा घिमिरेलाई प्रहरीले पक्राउ गरेको भदौ १८ गते खुलासा भएको हो ।
उनलाई प्रहरीले हिजै पक्राउ गरेको भएता पनि सार्वजनिक गर्न आनाकानी गरेको थियो । तर प्रहरीले घिमिरेलाई आज अबेर लमजुङ जिल्ला अदालत लगेर पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्ने भएको बताइएको छ । जिल्ला अदालतले घिमिरको पाँच दिनको म्याद थप भएको पुष्टि गरेको हो ।
पछिल्लो एक वर्षदेखि विभिन्न व्यक्तिका गरगहना हराउँदै(चोरी हुँदै) आएका थिए । पीडितहरूले पक्राउ परेकी निज घिमिरेउपर आशंका गरेता पनि मुख फोरेर भन्न सकेका थिएनन् । गत साउन ३० गते बेसीशहर नगरपालिका– ८ को न्यूइरा बोर्डिङ स्कुल नजिकै स्थित बालकुमारी घिमिरेको घरबाट करिव १२ तोला बराबरका सुनका गरगहनाहरू चोरी भएका थिए । उहाँसमेत तीन चार जनाबाट सुनका गहना हराएको र खोजविन गरी पाउँ भन्ने उजुरी प्रहरीकोमा परेको थियो । त्यो घट्नापछि अभियुक्तको खोजी गर्न र चोर पत्ता लगाउनै पर्ने प्रहरीलाई दबाब सिर्जना भएको थियो ।
प्रहरीले निज घिमिरेलाई हिजै पक्रेर आन्तरिक रुपमा मिलाउने योजना गर्दै गर्दा अचानक स्थिति विष्फोट हुन गएको थियो । फलस्वरुप प्रहरी निजविरुद्ध मुद्दा लगाउने निष्कर्षमा पुगेर आज अबेर मात्र अदालतबाट म्याद थप गरेको स्रोतको दावी छ ।
अविवाहित समेत रहेकी उनको डाक्टरसँग विहेको तयारी रहेको समेत बुझिन आएको छ ।
उनले चोरी गरेका गहना लुकाई राखेको अवस्थामा सुनका मिनीहार २ थान, गणेशको मुर्ती लकेट– १ थान, सुनका वाला– २ थान, सुनका रातो पत्थर जडित औंठी– २ थान, सुनका औठी– २ थान, सुनको सिक्री– १ थान, सुनका झुम्का– २ थान, सुनका टप– ४ थान, सुनका पत्थर जडित टप २ थान प्रहरीले बरामद गरेको स्रोतले बताएको छ ।
प्रकाशित मिति २०८० भाद्र १८, सोमबार २२:३७ गते