खत्रीठाँटी(लमजुङ)– ठाडोभाका लोककला प्रतिष्ठान नेपालद्वारा चालु आवका लागि वार्षिक कार्यक्रम पारित गरिएको छ । प्रतिष्ठानको यहाँ स्थित प्रतिष्ठानका कार्यकारी सदस्य कृष्ण केसीको निवासमा बसेको बैठकले ‘यो वर्षलाई प्रशिक्षण वर्ष’ बनाउने, कविवर डिल्लीजङ गुरुङ स्मृति पुरस्कार स्थापनामा जोड दिने लगायतका निर्णय गर्दै भदौ १८ गते सम्पन्न भएको हो ।
प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’को सहभागिता रहेको सो बैठकबाट ठाडोभाका नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि यो वर्ष प्रशिक्षणलाई विशेष जोड दिने भएको छ । सो अवसरमा गरिएका निर्णयहरूमा भदौ भित्र प्रतिष्ठानको लेखा परीक्षण गरी नवीकरण गर्ने, असोजको पहिलो सातासम्म प्रतिष्ठानले वितरण गरिआएको छात्रवत्ति सम्बन्धित विद्यालयमा गएर ठाडोभाकाको कार्यक्रमका साथ वितरण गर्ने, कार्तिक १४ गतेका दिन कविवर डिल्लीजङ गुरुङको जन्मजयन्तीमा खुल्ला कविता प्रतियोगिताको पुरस्कार वितरणका साथ उहाँकै जन्मस्थलमा कार्यक्रम राख्ने ।
सो अवसरमा कविवरको अर्धकदको शालिक अनावरणका साथ स्मृति पुरस्कार अक्षयकोषको घोषणा लगायतका कार्यक्रम गरिने भएको छ । कविवर गुरुङको स्मृति पुरस्कारको अक्षयकोषका लागि प्रतिष्ठानबाट ५० हजार रुपैयाँ प्रदान गरिने निर्णय भएको प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले बताउनु भयो । उहाँका अनुसार उक्त कोषमा रकम थप गर्नका लागि कविवरका परिवारजन, इष्टमित्र, नातेदार तथा सुभेच्छुकहरूलाई समेत अनुरोध गरिने भएको छ । त्यस्तै, यो वर्ष प्रतिष्ठानले पोखरामा रहेका लमजुङे समाजका विभिन्न समूहमा गएर तिहारका अवसरमा द्यौसीभैलो खेख्ने निर्णय भएको उहाँका भनाइ छ ।
यसैगरी, मंसिरको पहिलो साता पोखरामा ठाडोभाकाको प्रतिक्षण सञ्चालन, मंसिरको अन्तिम सातामा असल आमा – बाबु सम्मान पुरस्कार वितरण तथा मंसिरमै दूधपोखरी गाउँपालिकामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरिएको छ । पुरस्कृत दम्पती छनौटका लागि प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । सो समितिको सदस्यमा वरिष्ठ उपाध्यक्ष युवराज घिमिरे, कोषाध्यक्ष सीता गुरुङ, सदस्यहरू कृष्ण केसी, विश्वविनोद घिमिरे, देउकुमारी गुरुङ र राधा भण्डारी रहनु भएको छ । एकल आमाका लागि पनि सो पुरस्कार प्रदान गर्न सकिने बताइएको छ ।
पुस महिनामा ल्होसारको कार्यक्रममा सहभागी हुने, माघको पहिलो सातामा भरतपुर चितवनमा प्रशिक्षण सञ्चालन गर्ने, अन्तिम सातमा प्रतिष्ठानको आठौं स्थापना दिवस विगत झैं ठाडोभाका र बाघ चालको खुल्ला प्रतियोगिता, ठाडोभाका टीकाकुमारी स्मृति पुरस्कार वितरण, ठाडोभाका– गायक सुवे. सन्तबहादुर गुरुङ स्मृति पुरस्कार वितरण सहितका कार्यक्रम गरिने छ ।
फागुनमा शिवरात्री मेलामा ठाडोभाकाको प्रस्तुति कार्यक्रम गरिने छ । यसैगरी, चैत पूर्णिमाका अवसरमा इलमपोखरीमा लाग्ने मेलामा ठाडोभाकाको प्रस्तुति कार्यक्रम गरिने भएको छ । यसैगरी बैशाख र जेठमा नयाँ माग भएको स्थानमा ठाडोभाकाको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
यसैगरी, ठाडोभाकाको पोशाकको निर्धारण गर्ने साथै प्रतिष्ठानको झण्डा समेत बनाइने भएको छ । ठाडोभाकाको पोशाकको निर्धारणका लागि महिला सदस्यका लागि उपाध्यक्ष सीता दुराको संयोजकत्वमा मीना गुरुङ र पानमाया गुरुङ सदस्य रहनु भएको छ । त्यस्तै, पुरुष सदस्यका लागि सल्लाहकार रमेशचन्द्र अधिकारीको संयोजकत्वमा संरक्षक एवम् ठाडोभाका महानायक धम्पु र नवीन बराल सदस्य चयन हुनुभएको छ ।
यसैगरी, प्रतिष्ठानका सल्लाहकार वरिष्ठ सामाजसेवी नरेन्द्रराज ढुंगानाको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । त्यस्तै, प्रतिष्ठानलाई सम्मान गर्ने अन्तराष्ट्रिय साहित्य समाज, नेपाल च्याटरलाई धन्यवाद दिनुका साथै राष्ट्रिय आदिवासी तथा चलचित्र क्वालिटी फिल्म प्रालिबाट कार्यकारी सदस्य देउकुमारी गुरुङ सम्मानित हुनु भएकोमा बधाई ज्ञापन गरिएको प्रतिष्ठानका कार्यकारी सदस्य कृष्ण केसीले बताउनु भएको छ ।
उहाँका अनुसार बैठकपछि ठाडोभाकाको प्रस्तुति गर्ने काम समेत गरिएको थियो । त्यसपछि, सो टोलीले प्रतिष्ठानका सल्लाहकार नरेन्द्रराज ढुंगानाको निवासमा पुगेर उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गरी फर्केको केसीले जानकारी दिनु थियो ।
प्रकाशित मिति २०८० भाद्र १९, मंगलवार ०८:०० गते