
भोर्लेटार(लमजुङ)– श्रीकृष्णाटमीमा यहाँ खुल्ला तीज गीत प्रतियोगिताको तयारी गरिएको छ । श्रीकृष्ण प्रणामी मन्दिर दोभानडाँडा र नवज्योति आमा समूह भोर्लेटारको संयुक्त आयोजनामा खुल्ला तीज गीत प्रतियोगिता तथा श्रीकृष्ण जन्माष्टमी उत्सव कार्यक्रम भोलि भदौ २० गते हुने भएको हो ।
श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, दोभानडाँडा इकाई समितिका सचिव रमेश लामिछानेले अन्तरङ्ग न्युजलाई बताउनुभयो । उहाँका अनुसार श्रीकृष्ण प्रणामी मन्दिर, मध्यनेपाल– ६ भोर्लेटार लमजुङमा बिहान ११ बजेदेखि उक्त कार्यक्रम गरिने भएको छ । उहाँले भन्नुभयो, ‘तीज गीत प्रतियोगिताका लागि पहिलो पुरस्कार सात हजार नगद तथा प्रमाणपत्र, दोस्रो पुरस्कार पाँच हजार रुपैयाँ तथा प्रमाणपत्र, तेस्रो पुरस्कार तीन हजार रुपैयाँ तथा प्रमाणपत्र, सान्त्वना पुरस्कार एक हजार रुपैयाँ तथा प्रमाणपत्र र उत्कृष्ट नृत्य पुरस्कार एक हजार रुपैयाँ तथा प्रमाणपत्र रहेको छ ।’
पुरस्कारका लागि विभिन्न संस्था र सामाजिक व्यक्तित्वबाट प्रायोजन हुने तय भएको नवज्योति आमा समूह भोर्लेटारकी अध्यक्ष यशोदा न्यौपाने पौडेलले जानकारी दिनु भएको छ । उहाँका अनुसार सो उत्सव एवम् प्रतियोगिताका लागि मादीमिदिम वचत तथा ऋण सहकारी संस्थाले पहिलो पुरस्कारको तथा श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, दोभानडाँडा इकाइले दोस्रो पुरस्कारको प्रायोजन गरेका छन् । त्यस्तै तेस्रो पुरस्कार प्रायोजन उपेन्द्र अधिकारी, सान्त्वना पुरस्कार प्रायोजन प्रतीक्षा सुवेदी ‘कान्छी’ तथा उत्कृष्ट नृत्य पुरस्कार प्रायोजन प्रकाश खनालद्वारा गर्नु हुने छ ।
प्रकाशित मिति २०८० भाद्र १९, मंगलवार ०९:१५ गते