एमाले लुम्बिनी अधिवेशन : अध्यक्ष पदमा दुई मत अन्तरले कँडेल विजयी

एमाले लुम्बिनी अधिवेशन : अध्यक्ष पदमा दुई मत अन्तरले कँडेल विजयी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ २० गते बुधबार ०७:००

बुटवल– नेकपा एमालेको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कँडेल विजयी हुनु भएको छ । अध्यक्ष पदका अर्का प्रत्याशी हरि रिजाललाई मात्र दुई मतले पराजित गर्दै कँडेल विजयी हुनु भएको हो । पाल्पा निवासी विजयी कँडेल...

बुटवल– नेकपा एमालेको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कँडेल विजयी हुनु भएको छ । अध्यक्ष पदका अर्का प्रत्याशी हरि रिजाललाई मात्र दुई मतले पराजित गर्दै कँडेल विजयी हुनु भएको हो ।
पाल्पा निवासी विजयी कँडेल एमालेका उपाध्यक्ष विष्णु पौडेल निकट बताइन्छ । बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा सम्पन्न मत परिणाम अनुसार विजयी कँडेलले ४७९ मत प्राप्त गर्नु भएको छ भने रिजालले ४७७ मत प्राप्त गरेको निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले बताउनु भएको छ । निवर्तमान अध्यक्ष रहेका कँडेलले केन्द्रीय सदस्यसमेत रहेका प्युठानका हरि रिजाललाई दुई मतले पछि पार्दै विजयी भएको हो ।
यसैगरी अन्य पदाधिकारीको घोषित अन्तिम मत परिणाम अनुसार उपाध्यक्ष पदमा कँडेल समूहका भोजप्रसाद श्रेष्ठले ४५५ मत ल्याएर विजयी हुनु भयो भने रिजाल समूहका विश्वराज बराल अनुपले ३०६ मत पाउनु भएको छ ।
त्यस्तै पुरुष उपसचिवमा रिजाल समूहका रोल्पाका पूर्ण बुढा मगरले ४१८ मत पाएर विजयी बने भने उहाँका प्रतिस्पर्धी बाँकेका दुर्गाप्रसाद थारूले ३९३ मत पाए । थारूले कँडेलको समूहबाट उम्मेदवारी दिनु भएको हो ।
उता, महिला उपसचिवमा कँडेल समूहकै बर्दियाकी लिला राना मगर ३५२ मत ल्याएर विजयी हुनु भएको छ भने रिजाल समूहकी बाँकेकी वसन्ती अधिकारीले ३५१ मत ल्याएर पराजित हुनु भयो ।
गत १६ गते सुरू भएको एमाले लुम्विनीको प्रथम अधिवेशनमा कुल १ हजार ४ जना मतदाता रहेकोमा १९ गते सम्पन्न निर्वाचनमा ९६५ मत मात्रै खसेको थियो ।
अधिवेशनको उद्घाटन सत्र र बन्द सत्रलाई सम्बोधन गर्नु हुँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै नेतृत्व छान्न निर्देशन दिनु भएको थियो । तथापि सहमतिको नाममा हरिजालको नेतृत्वमा टिम बनाउन अध्यक्ष ओलीको निर्देशन थियो ।
अध्यक्ष पदका प्रत्यासी दुवैले आफूलाई बलियो ठान्दै नेतृत्व छाड्न तयार हुनु नभए । त्यसपछि निर्वाचन हुन गएको हो ।
सचिव पदमा निर्विरोध निर्वाचित दाङका लक्ष्मण आचार्य कँडेलकै समूहका मानिनु हुन्छ ।
लुम्बिनी प्रदेशको यो अधिवेशनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको शक्तिको लडाइँको रूपमा लिँदा अझ पेचिलो र रोचक बनेको आम बुझाइ छ ।
प्रदेशको यो पहिलो अधिवेशनसँगै पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरूसमेत प्रदेश अधिवेशनमा कँडेल र रिजाल समूहमा विभाजित हुने स्थिति उत्पन्न भएको छ । सायद अन्य प्रदेशमा पनि यही स्थितिले निरन्तरता पाउने छ ।

स्मरणीय छ, विजयी कँडेललाई उपाध्यक्ष विष्णु पौडेल र प्युठानका रिजाललाई महासचिव शंकर पोखरेलसँगै अध्यक्ष केपी शर्मा ओलीको समेत समर्थन रहेको थियो ।

प्रकाशित मिति २०८० भाद्र २०, बुधबार ०७:०० गते
हजुरको प्रतिक्रिया