लमजुङ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) निर्धा निमुखाको आवाज बन्न थालेको छ । बेसीशहर नगरपालिका– ८ को मर्स्याङदी नदी किनारमा बस्दै आएका विद्युतीय झड्काका कारणले दायाँ हातसमेत गुमाएका बुद्धिबहादुर तामाङ र उनको परिवारलाई न्याय दिलाउन रास्वपाले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै विद्युत प्राधिकरणलाई प्रजिअमार्फत ज्ञापनपत्र भदौ २० गते बुझाएर त्यस्तो छनक दिएको हो ।
ज्ञापन पत्रमा रास्वपाले मुख्य रुपमा छ वटा विषय उठाएको छ । ती हुन् : १) बुद्धिबहादुर तामाङको थप उपचार गराउने र त्यसको खर्च प्राधिकरणले बेहोर्ने । २) सो परिवारका लागि आजसम्मको मानसिक पीडा र बालकको उपचारका लागि त्यो परिवारले गरेको काठमाडौं जादा– आउँदाको बस तथा खाना खर्च र त्यसपछिको खर्च आदिको थप क्षतिपूर्ति दिने । ३) बुद्धिबहादुरका लागि बिएसम्मको अध्ययनमा लाग्ने सम्पूर्ण खर्च प्राधिकरणले बेहोर गर्ने ।
४) उनले जागिर नपाएसम्म उनको दैनिक गुजाराका लागि पालिन पुग्ने गरी मासिक खर्च घट्ना घटेकै दिनदेखि प्राधिकरणले बेहोर गर्ने । ५) पीडित बालकको बाबु या आमामध्ये एक जनालाई प्राधिकरण (लमजुङ)मा नोकरी दिनु पर्ने र ६) पीडित बालकले विए पास गरेपछि उनलाई पनि प्राधिकरणमै नोकरी दिनु पर्ने आदि ।
ज्ञापन पत्रमा त्यसअघि घट्नाको पृष्ठभूमिका बारेमा उल्लेख गर्दै कर्पुरेश्वर महादेव मन्दिर हातादेखि नगरपालिकाको डम्पिङसाइटसम्म नेपाल विद्युत प्राधिकरण, लमजुङ वितरण केन्द्रले लापरवाही तारिकाबाट घट्ना हुनुभन्दा तीन चार महिनादेखि नाङ्गो तार अलपत्र रुपमा छाडिएको थियो । डम्पिङसाइट नजिक खेल्न जाँदा बेवारिसे रुपमा रहेको सोही नाङ्गो तारमा प्रवाहित भएको विद्युत प्रवाहको झड्काका कारण सोही स्थानमा बाबुआमासँग बस्दै आएका ११ वर्षीय बुद्धिबहादुर तामाङले २०७९ बैशाख ५ गते एउटा हातसमेत गुमाएका छन् । करेन्टका कारण उनको शरीर पैतालासम्मै घाँउ बनाएको प्रष्टै देखिन्छ । त्यो बेलामा घाइते बालकको उपचारसमेत राम्रोसँग नगरी डिस्चार्ज गर्न समेत प्राधिकरणले बाध्य बनाएको पीडित बालकाका बुबा मिनराज तामाङले बताउनु भयो भनिएको छ ।
त्यस्तै, बुद्धिबहादुरको उपचारका क्रममा ती बालकको पाँच दिन पछि होस आएका रहेको छ । त्यो अवस्थाका उनको अस्पतालमा बसेको ३३ औं दिन प्राधिकरणबाट थप खर्च बेहोर गर्न नसक्ने भने पछि ‘मसँग खर्च नभएको हुँदा छोरो मरे मर्छ, बाचे बाच्छ’ भनेर फिर्ता लिएर आएँ भनी उनका बुबा मिनराज तामाङले बताउनुभएको छ । उहाँले छोराले ऐले पनि रातको समयमा दुःख्यो भनेर निद्रैमा पनि कराउने गर्दछ भन्नुभयो । यस्ता पीडित परिवारलाई पनि हेर्ने बोल्ने आजका दिनसम्म कोही देखिएको थिएन ज्ञापनपत्रमा भनिएको छ ।
त्यो परिवारका लागि बोल्ने व्यक्ति/संस्था कोही भएको नदेखिएका कारणले आजका दिनसम्म क्षतिपूर्ति नाम मात्रको एक लाख ४० हजार रुपैया त्यो पनि गत असार २८ गते दिइएको र थप क्षतिपूर्ति दिन अटेर गरिएको बुझिएको छ । सो घट्नाका बारेमा उल्लेख भएको स्थानीयस्तरबाट प्रकाशन हुने लमजुङकै जेठो पत्रिका अन्तरङ्गले प्रकाशन गरेको समाचार सहितको पत्रिका यसै ज्ञापनपत्रका साथ संलग्न रहेको ज्ञापनपत्रमा जनाइएको छ । 
ती बालकका बाबुआमा आजका दिनमा पनि बेसीशहर नगरपालिका– ८ को कर्पुरेश्वर महादेव मन्दिर नजिक अर्काको जग्गा रेखदेखका लागि भाडा निलिने गरी बस्न दिएको जग्गामा बाँसको चिर्पटले घेरेको टहरामा बसेका रहेछन् । त्यो टहरो पनि ढल्ने अवस्थामा पुगेको स्थिति छ । उनीहरू गिट्टी बालुवाको काम गरी छोरा छोरी र आफूहरू पालिदै आएको पीडित बालकका बुबाले बताउनु भयो । सो परिवारमा पीडित बालकका बाबुआमा, एक एक जना दिदी, दाजु र भाइ– बहिनी समेत सात जान रहेका छन् । त्यसैले ती बालकका लागि निम्न काम विद्युत प्राधिकरणबाट गरिनु पर्ने मनासिव देखिन्छ भनिएको छ ।
पीडित बालकको हितका लागि प्राधिकारणबाट उपरोक्त कार्य गरिनु मानवीय दृष्टिकोणबाट पनि उचित देखिन्छ । अतः उपरोक्त काम यथासिघ्र ढिलोमा एक महिना भित्र पुरा गरिनु पर्छ । अन्यथा, पीडितलाई आवश्यक क्षतिपूर्ति र न्याय दिलाउनका लागि जुनसुकै कदम चाल्न पनि राष्ट्रिय स्वतन्त्र पार्टी बाध्य हुने समेत जानकारी गरिन्छ ज्ञापनपत्रमा चेतावनीपूर्ण शैलीमा उल्लेख गरिएको छ ।
सो ज्ञापन पत्रमा रास्वपाका जिल्ला संयोजक धर्म केसीले दस्तखत गर्नु भएको छ । ज्ञापनपत्र बुझाउन उहाँको नेतृत्वमा बेसीशहर नगरपालिकाका नगर सभापति कृष्णबहादुर राउत, उपसभापति हरिकृष्ण बुढाथोकी, बेसीशहर नगरपालिका– ८ का सभापति ध्रुव ढकाल, रास्वपाका कार्यकर्ता एवम् वरिष्ठ पत्रकार नवराज पहाडी, रास्वपाको सुन्दरबजार नगरपालिका– ८ का वडा सचिव विष्णुप्रसाद गौली लगायत हुनुहुन्थ्यो ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले ज्ञापन पत्र बुझ्न हुँदै त्यो बालकको अवस्था यति गम्भिर होला भन्ने आफूले आंकलन नगरेको उल्लेख गर्नु भयो । ज्ञापनपत्र सम्बन्धित स्थानमा पठाउने उल्लेख गर्दै माग पुरागर्नका लागि सबैबाट पहल हुनुपर्ने बताउनु भयो । रास्वपाका जिल्ला संयोजक धर्म केसी सहितको टोलीले ज्ञापनपत्र बुझाउन जानु अघि घट्नास्थलको निरीक्षण गर्ने, पीडित बालक र उनको परिवारलाई भेट्ने र वस्तुस्थितिको अध्ययन गर्ने गरेको थियो । यो टिम पीडित बालकलाई भटेन पुग्दा रहेको एक हालले खुटाको घाउँ कन्याई रहेको अतिनै दयनीय अवस्था देखिएको रास्वपाका बेसीशहरका नगर सभापति राउतले बताउनु भयो ।
दिनहुँ गिट्टी बालुवाको काम गरी खाने त्यो परिवारले हाल गिट्टी बालुवाको काम समेत रोकिएको कारण साँझ विहानको छाक टार्नसमेत धौ धौ भएको बुझिएको थियो । त्यसमा पनि ती बालककी आमा ३६ वर्षीया शर्मिला तामाङ यही भदौ १० गतेमात्र सुत्केरी भएकी रहिछन् । शर्मिलाका लागि सुत्केरीको खाना त के सामान्य पेटभर खान समेत नभएको स्थिति बुझिन आएको केसीले बताउनु भयो ।
बेसीशहर नगरपालिकाको डम्पिङ साइटबारे प्रश्न :
सो अवसरमा बेसीशहर नगरपालिकाले डम्पिङ साइट खुल्ला र मर्स्याङ्दी नदी किनारमा बनाएको बारेमा त्यसले नदीमा पार्ने असरका बारेमासमेत ज्ञापनपत्र बुझाउन जाने रास्वपाको प्रतिनिधि मण्डलले प्रजिअ अधिकारी समक्ष प्रश्न उठाएको थियो ।
यस प्रकार फोटोमा देखिएझैं फोहोरको रसायन पुरै नदीमा जाने वा जान मिल्ने गरी फोहर व्यवस्थापन गर्न नेपालको कुन ऐन निययमा व्यवस्था गरिएको छ ? वरिष्ठ अधिवक्ता नगरपिता रहेको बेसीशहर नगरपालिकाका मेयरसँग बजाफ छ ?
नोट : फोटाहरूमा ज्ञापन पत्र बुझाएको, करेन्टले हात गमाएको बालक र उनको परिवार के कसरी ? कस्तो ठाउँ(टहरो)मा बसेको छ ? उनकी सुत्केरी आमाको अवस्था र त्यो बुझ्न गएको रास्वपाका जिल्ला संयोजक केसी सहितको टोलीको दृश्य ।
प्रकाशित मिति २०८० भाद्र २०, बुधबार १८:४६ गते