लालबन्दी(सर्लाही)– लालबन्दी नगरपालिका साहित्यको श्रीबृद्धिमा जुटेको छ । सो नगरपालिकाले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार– २०८०’ तथा ‘लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार– २०८०’ को समेत घोषणा गर्दै त्यस्तो उत्कृष्ठ कार्यको थालनी भदौ २० गते गरेको हो ।
नगर वाङ्मय परिषद्ले राष्ट्रियस्तरमा ख्याति कमाएका कृति तथा स्थानीय प्रतिभाहरूको सम्मान गर्दै तिनको प्रोत्साहनका लागि ती दुई पुस्कारको स्थापना गरेको परिषद्का अध्यक्ष अच्युत अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
परिषद्ले ‘लालबन्दी नगर वाङ्मय परिषद भाषा तथा साहित्य पुरस्कार (राष्ट्रिय) आख्यानकार रामलाल जोशीको कृति ‘बाआमा’लाई र ‘लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार’ लालबन्दी सर्लाहीका देवराज पौडेललाई प्रदान गर्ने निर्णय गरेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
जारी विज्ञप्तिमा भाषा तथा साहित्य पुरस्कारकासाथ नगद राशि ५० हजार रुपैयाँ तथा स्थानीय प्रतिभा पुरस्कारका साथ नगद राशि १० हजार रुपैयाँ रहेको बताइएको छ ।
स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरूमध्येबाट रामलाल जोशीकृत ‘बाआमा’ आख्यानले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार– २०८०’ हात पारेको हो ।
स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका कृति मध्य ‘बाआमा’ उत्कृष्ट कृतिको रूपमा सिफारिस भएको परिषद्ले विज्ञप्तिमार्फत जनाएको छ ।
दुवै पुरस्कार आउँदो कार्तिक १८ गते सर्लाहीमा विशेष साहित्यिक कार्यक्रमका बीच प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति २०८० भाद्र २१, बिहीबार २०:३७ गते