अन्ततः एमाले अडिन सकेन नैतिक धरातलमा ! देउवालाई दिइएको परमादेश र कोशी प्रदेशको समान

अन्ततः एमाले अडिन सकेन नैतिक धरातलमा ! देउवालाई दिइएको परमादेश र कोशी प्रदेशको समान

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ २३ गते शनिवार ०९:३२

त्यतिबेला (२०७८ असार २८ गते) शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको राजनीतिक चोटबाट मर्माहत बन्न पुगेको एमालेलाई अहिलेको परमादेशले नै त्राण दिएको छ । तर उसको नैतिक धरातल भने उहाँङ्गो भएको छ ।

एमालेले सबैलाई मिलाएर सरकार बनाउन पहल गर्ने, कांग्रेस र माओवादी केन्द्रले समर्थन नगर्ने

काठमाडौं– सर्वोच्च अदालतले उद्धव थापालाई पदमुक्त गर्दै सबभन्दा ठूलो दलको नेतालाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनु भएको छ । परमादेशअनुसार सरकार बनाउन तयार भएसँगै एमालेका सामू यतिबेला एक नैतिक प्रश्न भदौ २२ गते खडा भएको हो ।
यसअघि सर्वोच्च अदालतले २०७८ असार २८ गते देउवालाई २४ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि एमाले सत्ताच्यूत भएको थियो । जसको विरोध एमालेले गर्दै आएको छ । पछिल्लोपटक एमालेको समर्थनमा बनेको प्रचण्ड नेतृत्वको सरकार गिर्नुमा पनि एमाले अध्यक्ष ओलीले सोही नजिरको वकालत गर्नु पनि हो भनिन्छ । तर अहिले आएर कोशीमा एमाले त्यो अडानमा रहन सकेन । फलस्वरुप उसको नैतिकता पनि हावामा उडेको छ ।
भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले संसद् बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरी समेतलाई भोट हाल्न लगाएर संविधानको धारा १६८ (४) अनुसार विश्वासको मत लिनु भएको थियो । परमादेशमार्फत् ६८ दिनमै कोशी सरकारमा पुनरागमन हुने भएपछि एमाले पंक्ति खुसी देखिएको छ ।
बैठकको अध्यक्षता गरिरहेका मन्सुरीबाट विश्वासको मत लिएको भन्दै नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च गुहार गर्नु भएको थियो ।
सर्वोच्चले अन्ततः थापाले विश्वासको मत प्राप्त गर्न नसकेको ठहर ग¥यो । अदालतको परमादेशअनुसार अब प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता रहेका कार्कीलाई मुख्यमन्त्री बनाउन न्यायाधीश सपना प्रधान मल्ल, नहकुल सुवेदी र कुमार चुडालको पूर्ण इजलासले परमादेश दिएको हो ।
सर्वोच्च अदालतले अहिले कार्कीका पक्षमा दिएको ओदश र २०७८ असार २८ गते शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको समान प्रकृतिको आदेश हो ।
सर्वोच्चको उक्त परमादेशसँगै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको कुर्ची सहित बालुवाटार छोड्नु परेको थियो ।
शेरबहादुर देउवाले १ सय ४९ जना सांसदको हस्ताक्षरसहित तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । एमाले अध्यक्ष ओलीले पनि १ सय ५३ जना सांसदको समर्थन रहेको भन्दै दाबी गरेपछि राष्ट्रपतिले दुबैको प्रस्तावलाई खारेज गर्नु भयो । तत्कालीन एमाले अध्यक्ष ओली सरकारको सिफारिसमा संसद् भंग गरेपछि सांसदहरू अदालत गएका थिए ।
एमालेले त्यस घटनालाई असामान्य रूपमा लिँदै आएको छ । संसद्को सार्वभौम र विशिष्ट अधिकार संकुचित हुने गरी अदालतले फैसला गरेको भन्दै एमाले पंक्ति आन्दोलित नै देखिन्छ ।
‘परमादेशको सरकार फालौं’ भन्दै अदालतको फैसला राजनीतिक भएको र एमालेविरूद्धको षड्यन्त्रको रूपमा अर्थ्याउदै आएको हो । कार्यकर्तालाई पनि त्यहीअनुसार सूचित ग¥यो ।
त्यतिबेला (२०७८ असार २८ गते) शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको राजनीतिक चोटबाट मर्माहत बन्न पुगेको एमालेलाई अहिलेको परमादेशले नै त्राण दिएको छ । तर उसको नैतिक धरातल भने उहाँङ्गो भएको छ ।
मुख्यमन्त्री नियुक्त हुन लागेका हिक्मत कार्कीले सबैलाई समेटेर सरकारलाई राष्ट्रिय सहमतिको आकार दिने दाबी गर्नु भएको छ तर माओवादी र काँग्रेसले टेर्ने स्थिति देखिएको छैन ।
स्मरणीय छ, २०७२ मा नेपालको संविधान लागू भएपछि सर्वोच्चले सरकार प्रमुख कसलाई बनाउने भनी परमादेश दिएको यो दोस्रो पटक हो ।

प्रकाशित मिति २०८० भाद्र २३, शनिबार ०९:३२ गते
हजुरको प्रतिक्रिया