
धरान(सुनसरी)– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पार्ङको हरकत विस्तारै उदाङ्ग हुन थालेको छ । उहाँले एक युवकलाई आफूमाथि प्रश्न गरेकै कारण प्रहरी थुनामा पु¥याएसँगै त्यस्तो खुलासा भदौ २२ गते भएको हो ।
मेयर हर्कको आदेश पाएपछि धरान उपमहानगरपालिका– १५ का अशोक लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।
मेयरलाई दुर्व्यवहार गरेको सूचना आएपछि लिम्बूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले बताउनु भयो । ‘मौखिक उजुरीका आधारमा राखिएको’ डिएसपी नवराज मल्लको भनाइ छ । उहाँका अनुसार हामीले पक्राउ गरेको होइन । नगर प्रहरीले ल्याएर जिम्मा लगाएको हो । उहाँ अहिले हामीसँग हुनुहुन्छ ।
मेयर साम्पाङले धरानमा हरेक शुक्रबार लागू औषधविरुद्ध सचेतना अभियान सञ्चालन गर्दै आएका छन् । सोही क्रममा भेयर हर्क धरान उपमहानगरपालिका– १५ मा पुगेका थिए । उनले हाते माइक लिएर सम्बोधन गर्दै स्थानीय वासिन्दालाई सरसफाइमा ध्यान दिन आग्रह गर्दै थिए ।
त्यसै क्रममा स्थानीय अशोक लिम्बूले उपमहानगरपालिकाले सडकमा पानी बगिरहँदा पनि नियन्त्रण नगरेको र त्यसले स्थानीय एक बिरामी परिवार समस्यामा परेको जानकारी दिनु भयो । ती युवाले सरी है भन्दै साम्पाङलाई ‘तपाईंहरूले पानी त हेर्न सक्नुभएको छैन दाइ, बाटोमा पानी बगिरहेको छ ।’ भन्नुभएको थियो ।
तर मेयर साम्पाङले उहाँलाई चुप लाग, तिमी विरोध गर्न आएको हो भन्दै हप्काएका थिए । त्यसपछि युवक लिम्बूले बोल्न पाइँदैन भन्दै प्रतिवाद गर्नु भएको थियो । प्रश्नकर्ता युवकले गरेको प्रश्नका बारेमा भिडिओ पनि सार्वजनिक भइसकेको छ ।
ती युवाले मेयरलाई ‘हर्क दाई’ भन्दै धरानमा मान्छे डेंगीले बिरामी भएको तर तपाईं चाहिँ फोटो खिचाउँदै हिँड्ने ? भन्दै प्रश्न राखेका थिए । जवाफमा मेयर साम्पाङ ‘तिमी विरोध गर्न आएको ?’ भन्दै रिसाउँछन् ।
त्यही बीचमा हर्कबाट नगर प्रहरीलाई अशोकलाई पक्राउ गर्न निर्देशन भयो । मेयरको निर्देशनपछि नगर प्रहरीले ती युवकलाई इलाका प्रहरी कार्यालय पु¥याए ।
कार्यक्रमपछि मेयर साम्पाङको भने फेसबुकमा बदमासलाई प्रहरीको जिम्मा लगाएको दावी छ ।
उता, सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मेयरमाथि अभद्र व्यवहार भएको कुरा आएपछि अनुसन्धानका लागि लिम्बूलाई नियन्त्रणमा लिएको तर आज २३ गते बिहानै छाडिसकेको बताउनु भयो । अहिले भर्खरै प्रहरीले ती युवा हामीसँगै हुनुहुन्छ भनिरहेको छ, कसरी छुटे होला ? भन्ने जिज्ञासामा ‘त्यसो भए किटानी जाहेरी परेर अनुसन्धानमा होला,’ भन्ने जवाफ प्रजिअ पाण्डेले दिनुभयो । तर प्रहरीले मेयरको मौखिक उजुरीका भरमा थुनामा राखेको जनाएको छ ।
मेयर साम्पाङले मौखिक उजुरी दिएको तर लिम्बूलाई थुनामा राखिरहनुपर्ने कारण नदेखिएकाले छोडिएको डीएसपी नवराज मल्लले उल्लेख गर्नुभयो ।
स्मरणीय छ, झण्डै एक दशकसम्म सामाजिक अभियन्ताको रूपमा सक्रिय रहँदा जवाफदेही निकायलाई प्रश्न गरेरै धरानको मेयर बनेका साम्पाङ आफूलाई प्रश्न गर्नेसँग भने सधैं कठोर रूपमा प्रस्तुत हुन थालेको देखिन आएको छ ।
प्रकाशित मिति २०८० भाद्र २३, शनिबार २०:४० गते