चितवनमा कांग्रेसका क्रियाशील सदस्यहरू ३० प्रतिशतले नवीकरण नगरेको खुलासा

चितवनमा कांग्रेसका क्रियाशील सदस्यहरू ३० प्रतिशतले नवीकरण नगरेको खुलासा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ २३ गते शनिवार ०९:४४

कांग्रेसका जिल्ला सभापति खनाल भित्र केन्द्रदेखि नै गुट उपगुट रहेको र कुनै न कुनै नेताको फेरो तलका नेता कार्यकर्ताले समाउने भएपछि समस्या आउने गरेको बताउनु भएको छ ।

चितवनमा कांग्रेसको नयाँ कार्यसमिति बनेको करिब १८ महिनापछि आज जिल्ला सम्मेलन गरेको हो

चितवन– कांग्रेसका क्रियाशील सदस्यहरू चितवनमा ३० प्रतिशतले नवीकरण नगरेको खुलासा भएको छ । यसअघिको तुलनामा यस पटकको जिल्ला सम्मेलनमा ३० प्रतिशत क्रियाशील सदस्यले सदस्यता नवीकरण नगरेको भदौ २३ गते खुलासा भएको हो ।
चितवनमा कांग्रेसको नयाँ कार्यसमिति बनेको करिब १८ महिनापछि आज जिल्ला सम्मेलन गरिएको छ ।
चितवन नेपाली कांग्रेसको बढी क्रियाशील सदस्य भएको जिल्ला मध्येमा पर्छ । जिल्लामा सात पालिका र ९८ वटा वडा छन् । विगतमा जिल्लामा २८ हजार पाँच सय क्रियाशील सदस्य थिए । तर यस पटकको जिल्ला सम्मेलनमा ३० प्रतिशत क्रियाशील सदस्यले सदस्यता नवीकरण नगरेको जिल्ला सभापति राजेश्वर खनालले बताउनु भयो ।
जिल्ला सम्मेलनमा आउनु भएका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गल्ती केन्द्रबाट आफूहरूले नै गरेकाले नेता कार्यकर्ताको भावनाको सम्मान गर्न नसक्दा समस्या सिर्जिएको भन्दै गल्ती भएको उल्लेख गर्नुभएको थियो । उहाँले विगतमा कांग्रेस चितवनको विरासत देखेर आफूलाई गर्व लाग्ने गरेको तर पछिल्लो समयमा देखिएका विवाद र तिक्तता अब अन्त्य हुनुपर्नेमा जोड दिनु भयो । उहाँले भन्नुभयो, ‘तपाईंहरूलाई कुनै समस्या भए अब मलाई सीधै भन्नुस्, तपाईंहरूको भावनाको प्रतिनिधित्व हुन्छ म गर्छु ।’

नेता कोइरालाले पार्टीमा व्यक्तिवादी चरित्र हाबी भएको र नेता–कार्यकताले यसलाई अन्त्य गर्न जरुरी रहेको उल्लेख गर्नु भयो ।
अर्को एक प्रसङ्गमा उहाँले वर्तमान प्रणालीबाट देशमा कुनै एक पार्टीको मात्र सरकार बन्न नसक्ने भन्दै प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा राख्नु भएको थियो ।
नेता कोइरालाले पार्टीविरुद्धको भ्रम चिर्नका लागि अब कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्ने बताएका छन् । उहाँले अहिले कांग्रेस सरकारमा हुँदा पनि कुनै काम गर्न नसकेको हुँदा आफ्नै नेतृत्वको सरकार चाहिने जिकिर थियो । कांग्रेसविरुद्ध पनि विभिन्न भ्रम छर्ने प्रयास भइरहेकोले यसलाई चिर्नका लागि अब कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्ने उहाँको जोड थियो ।
उहाँले अहिले देशमा फैलिएको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अराजकता नियन्त्रण गर्न पनि कांग्रेसको सरकार आवश्यक रहेको दावी गर्नुभयो ।
काँग्रेसको जिल्ला कार्यसमितिको गत साउन ६ गतेको बैठकले जिल्लाका सबै वडामा क्रियाशील सदस्यता नवीकरण अभियान चलाउँदै तहगत संरचनाको सम्मेलन गरेको थियो । यो क्रममा ३० प्रतिशत सदस्यले सदस्यता नवीकरण नगराएको जिल्ला सभापति खनालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अधिवेशनका बेलामा अन्तिम समयमा नवीकरण गर्ने अभ्यास हुँदै आएको र सम्मेलन मध्य भागमा परेकाले अधिवेशनको बेलासम्म अधिकांशले नवीकरण गर्ने विश्वास पार्टीले लिएको बताउँछन् ।’
जिल्ला सम्मेलनमा बोल्ने क्रममा नेताहरूले माओवादीसँग गठबन्धन गरेर पार्टी कमजोर बन्दै गरेको बताएका छन् ।
जिल्लाका ७ पालिकामध्ये कांग्रेसले चार पालिका प्रमुखमा उम्मेदवारी दिएकोमा दुई पालिका प्रमुख मात्रै जितेको थियो । उसले माओवादीलाई २, समाजवादीलाई १ पालिका छाडेको थियो । यस्तै गत मंसिरमा भएको संसदीय निर्वाचनमा समेत चितवन निर्वाचन क्षेत्र नं. ३ मा माओवादीका उम्मेदवारलाई कांग्रेसले सघाउने निर्णय गरेपछि केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दिनु भएको थियो । उहाँलाई एमालेले सहयोग गरेको थियो ।
स्थानीय तथा संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवार तथा उनीहरूका पक्षमा खुलेका नेता कार्यकर्तालाई कांग्रेसले कारबाही गरेर पार्टीबाट निकालेको थियो । पार्टीले कारबाही गरेपछि कांग्रेस भित्रको विवाद झनै बढ्न गएको थियो ।
कांग्रेसका जिल्ला सभापति खनाल भित्र केन्द्रदेखि नै गुट उपगुट रहेको र कुनै न कुनै नेताको फेरो तलका नेता कार्यकर्ताले समाउने भएपछि समस्या आउने गरेको बताउनु भएको छ ।
निर्वाचनअघि गठबन्धनको पक्षमा खुलेका नेताले पनि जिल्ला सम्मेलनमा माओवादीसँगको गठबन्धन प्रत्युत्पादक भएको तथा आगामी दिनमा एक्लै निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए ।
गत स्थानीय तहको निर्वाचनमा जिल्लाको एक मात्रै महानगरपालिका भरतपुरमा कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेनु दाहाललाई मेयरमा सहयोग गरेको थियो । माओवादीलाई महानगरमा सहयोग गरेको भन्दै कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेल लगायतका नेताले पार्टी भित्र विद्रोह गरेर अलग्गै उम्मेदवारी दिनु भएको थियो ।
तर स्थानीय र संघीय चुनावमा पार्टीको हित विपरीत काम गरेको भनेर कारबाही गरेका १८ जनाको कारबाही फुकुवा गरेपछि अहिले कांग्रेसमा मन मिलाउने प्रयास भइरहेको बताइन्छ ।

प्रकाशित मिति २०८० भाद्र २३, शनिबार २१:४४ गते
हजुरको प्रतिक्रिया