भोटेओडार(लमजुङ)– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली समाजमा बढ्दो अराजक प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति, लमजुङको आयोजनामा सुन्दरबजार नगरपालिका– ९ स्थित सिर्जनशील तमु समाजको भवनमा आयोजित ११० औँ विपि जयन्ती एवं तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै भदौ २४ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘मुलुकमा संघीयता, गणतन्त्र, समावेशिता र समानुपातिक प्रणाली मन नपराउनेहरू सल्बलाउन थालेका छन् । संविधानबाट प्राप्त उपलब्धीहरू उल्टाउने, भत्काउने प्रयत्न भइरहेका छन् । समाजमा अराजक प्रवृत्ति फैलदो छ । त्यसका विरुद्ध सबै एकजुट भएर लड्न जरुरी छ ।’

smart
पाण्डेले कांग्रेसका संस्थापक नेता विपि कोइराला राजनीतिक क्षेत्रमा मात्र नभइ साहित्यिक क्षेत्रमा उत्तिकै सक्रिय रहुनुहुन्थ्यो भन्नुभयो । उहाँले महामानव विपिले देखाएको मार्गमा हामी सबै हिँड्नु आजको आवश्यकता हो भन्नुभयो । लमजुङको विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रम नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डा. टकराज गुरुङको सभापतित्वमा भएको कार्यक्रममा गुरुङले विपि समग्रमा एउटा विश्वविद्यालय रहेको बताउनुभयो । विपि राजनीति, साहित्य, अर्थ, दर्शन लगायत हरेक विधामा अब्बल व्यक्तित्व रहेको उहाँले स्मरण गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस, गण्डकी प्रदेशका सहमहामन्त्री एवं मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डे, नेपाली कांग्रेसका पूर्वजिल्लासभापति एवं गण्डकी प्रदेशसभा सदस्य भेषबहादुर पौडेल, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवं संविधान सभा सदस्य चन्द्रबहादुर कुवँर, नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति एवं सुन्दरबजार नगरपालिका मेयर कृष्णप्रसाद कोइराला, महिला संघकी जिल्ला सभापति ज्ञानु शाह, नेपाल मुश्लिम संघ लमजुङका सहदिन मिया लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा नेपाली कांग्रेसका प्रदेश प्रतिनिधि, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू, नगर समितिका पदाधिकारी सदस्यहरू, निर्वाचित जनप्रतिनिधका साथै कांग्रेसका विभिन्न भातृ संगठनका प्रमुख, प्रतिनिधि एवम् कार्यकर्ताहरूको उलेख्य उपस्थिती थियो ।
नेपाली कांग्रेसका जिल्ला उपसभापति आनन्द घिमिरेले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस जिल्ला सचिव बिमल श्रेष्ठ र पार्टी प्रवक्ता गणेश गौलीले गर्नुभएको थियो ।
सो अवसरमा कांग्रेसमा आवद्ध महिलाहरूले तीज गीत तथा नाच समेत प्रस्तुत गरका थिए ।
दुराडाँडामा नवनिर्मित वि.पी. स्मृति भवन ‘मनोरथ बाटिका’को उदघाटन :
यसैबीच, ११० औं वि.पि. जयन्तिको अवसरमा आजै सुन्दरबजार नगरपालिका– ३ को ऐतिहासिक थलो दुराडाँडाको च्यानपाटामा नेपाली काँग्रेसको नवनिर्मित वि.पी. स्मृति भवन ‘मनोरथ बाटिका’को उदघाटन गरिएको छ । काँग्रेसका निवर्तमान जिल्ला सभापति एवम् गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलले सो भवनको एक कार्यक्रमको बिच उद्घघाटन गर्नु भएको हो ।
पौडेलले दुराडाँडा ऐतिहासिक स्थान भएको, यहिबाट नै आफूले राजनैतिक सिकेको स्थल अहिले केही ओझेलमा परेको आभाष भइरहेकोले सबैलाई आ–आफ्नो ठाँउबाट पुनः दुराडाँडालाई ब्युझाउन लाग्नु पर्ने र दुराडाँडालाई पुनः सक्रिय बनाउन आफू सधैं लाग्ने र पहिलो कामको रुपमा लिगेको बताउनु भयो ।
वडाकार्य समितिका सभापति प्रकाश न्यौपानेले स्वागत गर्नु भएको कार्यक्रममा भवन निर्माण समिति सचिव विश्वनाथ अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
प्रजातन्त्र सेनानीका के.स. भोजराज बास्तोला, वडा नं. ३ दलित महिला वडा सदस्य सावित्र वि.क., विश्वहिन्दु महासंघ महासचिव एवम् प्रदेश प्रतिनिधि गणेशप्रसाद न्यौपाने, वडा नं. ४ का सभापति कृष्णविलास न्यौपाने, नगर सभापति प्रकाश सेढाईले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
भवन बनाउने जग्गा सोही वडा निवासी भोजराज तिवारि र शिवराज तिवारिले निशुल्क रजिष्ट्रेशन पास वडा कार्यसमितिलाई ७ आना उपलब्ध गराउनु भएको वडा नं. ३ का सभापति प्रकाश न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार १ कोठे २ वटा सटर राखेर आरसिसि भवन बनाएका छौं । उहाँले भन्नुभयो ‘सो भवनको निर्माणको कुल लागत १२ लाख ८७ हजार रहेको छ ।’ सो रकम वडा नं. ३ को वडा कार्यलयबाट आ.ब. ०७६÷७७ मा २ लाख र आ.व. ०७७÷७८ मा ४ लाख प्राप्त भएको र बाँकी ६ लाख ८७ हजार जिल्लाका पदाधिकारी तथा सदस्य, नगरका पदाधिकारी तथा सदस्य र बिशेष गरी वडाका क्रियाशील सदस्यहरूबाट चन्दा संकलन गरिएको उहाँको भनाइ छ ।
भवन निर्माण समितिका अध्यक्ष ठाकुरप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रमा प्रदेश सांसद पार्वती तामाङ, प्रदेश संगठन विभाग प्रमुख हरिप्रसाद बराल, प्रजातन्त्र सेनानी के.स. भोजराज बास्तोला, विश्व हिन्दु महासघं महासचिव तथा काँग्रेसका प्रदेश प्रतिनिधि गणेशप्रसाद न्यौपाने, जिल्ला सचिव बिमल श्रेष्ठ, जिल्ला कोषाध्यक्ष अस्मिता गुरुङ, नगर सभापति प्रकाश सेठाईलगायत पदाधिकारी तथा सदस्यहरू, वडा नं. ४, १०, ८ का साभपति क्रमशः कृष्णविलास न्यौपाने, तिर्थराज मिश्र, महेन्द्र सापकोटा, जनप्रतिनिधिहरू लगायत क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्यहरूको समुपस्थिति थियो ।
प्रकाशित मिति २०८० भाद्र २४, आईतवार २१:१० गते