पोखरा– ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक समेत रहेका सो सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राई पक्राउ परेका हुन् । उनको साथमा राईसँगै सूर्यदर्शन बचत तथा ऋण सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई समेत पक्राउ गरेको भदौ २५ गते प्रहरीले जनाएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.का पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत कास्कीबाट सो सहकारीका पूर्वअध्यक्ष जिबी राईसहित सात जनाविरूद्ध पक्राउ अनुमति लिएको जिल्ला प्रहरी कार्यालय कास्की स्रोतले जानकारी दियो । स्रोतका अनुसार बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको र रकम फिर्ता नगरेको आरोप उनीहरूमाथि छ ।
सो सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूविरूद्ध ९७१ जनाले जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएको डिएसपी श्रवणकुमार विकले बताउनु भयो ।
उहाँका अनुसार बचतकर्ताको १ अर्ब ८ करोड रकम हिनामिना भएको जाहेरीमा उल्लेख गरिएको छ । उहाँले भन्नुभयो, ‘कार्यालयले उक्त सहकारीका पदाधिकारीविरूद्ध भदौ १५ गतेभित्र जाहेरी दिन साउन ३२ गते सार्वजनिक सूचना नै जारी गरेको थियो ।’
निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेर फरार रहेको भन्दै पीडितहरू प्रहरी कहाँ पुगेका हुन् ।
पीडितहरूले सहकारी ऐन शीर्षकमा जाहेरी दिएको जानकारीमा आएको छ । राई ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालन समेत हुन् ।
यसैबीच, पोखरा स्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । सुर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले बताउनु भयो । उहाँका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयसँगको समन्वयमा रम्तेललाई पक्राउ गरिएको हो ।
प्रकाशित मिति २०८० भाद्र २५, सोमबार २१:०२ गते