लमजुङ– ‘नागरिक समाजले अव्यवस्था तथा खराबीका विरुद्ध आवाज उठाउनु पर्छ, अन्यथा त्यस्ता प्रवृत्तिबाट शासित हुन तयार हुनुपर्छ ।’ प्रस्तुत भनाई प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका हुन् । उहाँले जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित पत्रकार भेटघाटका क्रममा भदौ २६ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले आफूले कार्यभार सम्हालेको ६ महिनाको अवधिमा भएका कार्यको अर्धवार्षिक समीक्षा गर्ने क्रममा पत्रकार भेटघाट गर्नु गर्दै नयाँ प्रयासको थालनी गर्नु भएको छ । त्यसले जिल्लाका विभिन्न निकायका प्रमुखहरूलाई अर्थबार्षिक समीक्षा गर्नु पर्ने सन्देश समेत सो कार्यबाट दिनु् भएको छ । लमजुङमा आएका प्रमुख जिल्ला अधिकारीहरू एका दुईले सरुवा भएर जानेबेलामा आफ्नो कार्यको फेहरिस्त पत्रकारका बीचमा पस्कने गरेता पनि यसरी अर्थबार्षिक समीक्षा गरिएको सम्भवतः पहिलो पटक हो ।
अधिकारी प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्लामा २०७९ चैत १६ गतेदेखि पदभार सम्हानु भएको हो । त्यो मितिले कार्यालयमार्फत भएका प्रमुख सेवा प्रवाहको बारेमा पत्रकारहरूलाई जानकारी दिनुभएको थियो । आफू आएको बेलामा पत्रकारका बीचमा राखेको र प्राप्त सुझावहरू के कति कार्यान्वयन हुन सके के कति सकेनन् त्यसबारेमा पनि आफूलाई सम्झाई दिन समेत उहाँको आग्रह थियो ।
जिल्लाको शान्ति सुरक्षा, विपद् व्यवस्थापन, लागू औषध, जुवातास नियन्त्रणका जस्ता प्रयासबारे स्मरण गर्दै उहाँले कार्यालयको सेवाप्रवाह र कार्यसम्पादनलाई सुव्यवस्थित बनाउन जिल्लाका प्रमुख समस्यालाई ध्यानमा राख्दै समाधानका लागि समन्वयको अधिकतम प्रयास गरेको उल्लेख गर्नु भयो । वर्षा याममा उदीपुर र खरखरेको पहिरो व्यवस्थापनलाई पहिलो प्राथमिकताका साथ काम गरेको बताउँदै उहाँले खरखरेको पहिरो तत्काल, तत्कालै खोल्ने प्रयास नगरेको भए आज खोल्न सक्ने अवस्था हुन्नथ्यो भन्नुभयो ।
विकास निर्माण, मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा देखिएका विवादमा सरोकारवाला पक्षबीच छलफल गरी समस्या समधानतर्फ अघि बढ्दा सुन्दरबजार खण्डमा विवाद समाधान गरिएको, भोर्लेटारको विवाद समाधानको प्रयास जारी रहेको उल्लेख गर्नु भयो । उहाँले जलविद्युत आयोजनाले कम्तिमा १० प्रतिशत पानी नदीमा छोड्नु पर्ने अन्तराष्ट्रिय मापदण्डको पालनामा सहमति गरिएको जानकारी दिनु भयो ।
उहाँले २२० केभी प्रशारण लाइनको मुआव्जा वितरणमा गरिएको, सहजिकरण उत्पन्न समस्या र समाधानका प्रयास, बजार अनुगमन, बसभाडालाई व्यवस्थित गर्ने बारेमा भएका पहलको जानकारी गराउनु भएको थियो । कार्यालय व्यवस्थापन तर्फ सेवाग्राही सहजताको लागि वहुभाषामा अडियो सामग्री तयार पारिएको, सूचनाको हकलाई प्रभावकारी रुपमा कार्यन्वयन गरिएको, कार्यालयमा गुनासो अधिकारीको व्यवस्था गरि गुनासो पेटिकालाई प्रविधिमैत्री र व्यवस्थित बनाइएको, राष्ट्रिय परिचयपत्र एवं राहदानीको अनलाइन फारम कार्यालयबाटै निःशुल्क भरिदिने व्यवस्था गरिएको, कर्मचारीको आन्तरिक मुल्याङ्कन कर्मचारीलाई नै नंबर दिन लगाई जोडेर प्राप्त नतिजा अनुसार प्रत्येक महिना एक जना उत्कृष्ट कर्मचारी घोषणा गरी नाम कार्यालयको वेभसाइटमा राख्ने गरिएको बताउनुभयो ।
विपद व्यवस्थापन तर्फ विपद पूर्वतयारी प्रतिकार्य योजना पारित गरी कार्यान्वयन गरिएको, मनसुन पूर्वतयारी कार्ययोजना पारित गरि कार्यन्वयन गरिएको उहाँले बताउनुभयो ।
सो अवसरमा सञ्चारकर्मीहरूले बजार अनुगमन देखाउनका लागि मात्र गर्ने नभई प्रभावकारी बनाउनु पर्ने, जहिले अनुगन गर्दा पनि पहिलो पटक भन्दै उन्मुक्ति दिनेकाम हुन नहुने, बसहरूमा टिकटको प्रवन्ध हुनु पर्नेमा जोड दिएका थिए । विकासका आयोजनाको काम गुणस्तर हुनुपर्ने, गुणस्तरहीन काम गर्नेलाई तत्काल कारवाही गर्नुपर्ने, नयाँ पिडी लागुऔषधमा फस्ने गरेकोमा त्यसको नियन्त्रणमा विशेष पहल गर्न, जिल्लास्थित अधिकांश विकासका कार्यालयहरू सञ्चार(खासमा छापा र त्यसमा पनि साप्ताहिक) मैत्री हुन नसकेकोमा समेत प्रजिअको ध्यानाकर्षण गरिएयो थियो ।
जिल्लामा यसअघिका प्रजिअबाट जिल्लामा पहिलो पटक अर्धबार्षिक समीक्षा भएकोमा खुशी व्यक्त गर्दै यो कार्य नयाँ तर जरुरी भएकोले निरन्तरता पाओस् भन्ने सुझाव समेत पत्रकारहरूको थियो ।
प्रजिअ अधिकारीले प्राप्त सुझावलाई ग्रहण गरी सोही अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
प्रकाशित मिति २०८० भाद्र २८, बिहीबार १०:२८ गते