बेसीशहर– भ्रष्टाचारका विरुद्ध शुद्धिकरण अभियान सञ्चालन गरिरहेको बास नेपाल लमजुङ शाखाले आज भदौ २९ गते तीज गीत प्रतियोगिताको आयोजना गरेको छ । वरिष्ठ समाजसेवी सानुमाया गुरुङको प्रमुख आतिथ्यतामा सो प्रतियोगिता आयोजना गरिएको हो ।
बेसीशहर नगरपालिका– २ को भकुण्डे स्थित चौतारा (बालकल्याण मावि नजिक) सो प्रतियोगिता गरिने भएको आयोजकको भनाइ छ । उक्त तीज गीत प्रतियोगिता खुला रुपमा आयोजना गरिएको भएता पनि वडानं– २ र ३ का आमा समूहलाई विशेष रुपमा आमन्त्रण गरिएको बास नेपालका अध्यक्ष लक्ष्मी धिलालले बताउनु भयो ।
उहाँका अनुसार एक समूहबाट बढीमा सात जनाले नाच समेतमा भाग लिन सक्ने । उहाँले भन्नुभयो, ‘गीत गायनका लागि १० मिनेटको समय उपलब्ध हुने र गीत सुशासनलाई पक्षपोषण गर्ने खालका गीत हुनुपर्ने प्रावधान राखएको छ ।’
प्रतियोगितामा पहिलो हुने टिमलाई पाँच हजार रुपैयाँ, दोस्रो हुने टिमलाई तीन हजार र तेस्रो हुनेलाई दुई हजार रुपैयाँका साथमा प्रमाणपत्र प्रदान गर्ने तयारी रहेको बास नेपालका सचिव रामजी बसौलाले बताउनु भयो । उहाँका अनुसार विहान १०ः३० बजेका लागि सबैलाई आमन्त्रण गरिएको छ । उहाँले भन्नुभयो, ‘प्रतियोगितामा भाग लिने टिमले फोनबाट पनि नाम दर्ता गराउन सक्नु हुनेछ । प्रतियोगिता ढिलोमा पनि ११ बजे सुुरु गरिने छ ।’
सुशासनका पक्षधर महिलाहरूको विशेष पर्वको पावन अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाइ छ ।
एम्नेष्टि इन्टरनेसनलसँग समेत आवद्ध रहेको यो संस्थाले सुशासनका पक्षमा विविध प्रकारका काम गर्ने गरेको छ । बास नेपालले लमजुङले तीजका अवसरमा आयोजना गरेको यो पहिलो कार्यक्रम हो ।
प्रकाशित मिति २०८० भाद्र २९, शुक्रबार ०६:४२ गते