बेसीशहर नगरपालिका– ११ (चिति)मा भव्य समारोहका बीच रास्वपाको वडा समिति गठन

बेसीशहर नगरपालिका– ११ (चिति)मा भव्य समारोहका बीच रास्वपाको वडा समिति गठन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ ३० गते शनिवार १०:२३

राजनीतिमा बुद्धि विबेक मिलाउने काम नगरिएको र गन्ध(भ्रष्ट) राजनीतिका कारणले मर्स्याङदी रोएर सुसाएको हो तर अब मर्स्याङदीलाई हसाउनु पर्छ र त्यो काम रास्वपाले गर्नेछ कार्यक्रमका प्रमुख वक्ता परिवारले बताउनुभयो ।

रास्वपा सुशासन र स्वाभिमानको राष्ट्रिय अभियान हो : परियार

बेसीशहर– लमजुङ जिल्लाको विशेष महत्वको र अनेक दाउपेचबाट गुज्रदै आएको बेसीशहर नगरपालिका– ११ को चितिमा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा समिति गठन भव्य समारोहका बीचमा भदौ ३० गते गठन भएको छ । सो अवसरमा कार्यक्रमका सभापति बाहेक अन्यको आसन ग्रहण गराइएन । न त खदा, मालाको नै प्रयोग गरिएको थियो ।
उक्त वडा भेलालाई सम्बोधन गर्न सो पार्टीको संघीय संसदका प्रमुख सचेतक सन्तोष परियारर पार्टी केन्द्रीय समितिको अनुशासन आयोगका संयोजक भरतमणि देवकोटा हिजै लमजुङ आउनु भएको थियो । उहाँहरूले संयुक्त रुपमा घण्टी बजार सो वडा भेलाको उदघाटन गर्नु भएको हो भने राष्ट्रिय गानबाट कार्यक्रमको थालनी गरिएको थियो ।
आफ्नो उदघाटन मन्तव्यमा प्रमुख वक्ता रास्वपाका केन्द्रीय सदस्य एवम् प्रमुख सचेतक परिवारले रास्वपा सुशासन र स्वाभिमानको राष्ट्रिय अभियान हो भन्नुभयो । उहाँले राष्ट्रकवि माधव घिमिरेले लेखेको कविता पंक्ति ‘मर्स्याङ्दी नदी नरमाइलो सुसाइरहेको’को स्मरण गर्नु हुँदै आज चितिजस्तो शिक्षित गाउँ किन उजाड भएको छ ? राजनीतिमा बुद्धि विबेक मिलाउने काम नगरिएको र गन्ध(भ्रष्ट) राजनीतिका कारणले मर्स्याङदी रोएर सुसाएको हो तर अब मर्स्याङदीलाई हसाउनु पर्छ र त्यो काम रास्वपाले गर्नेछ भन्नुभयो ।
उहाँले पञ्चैबाजाबाट गरिएको स्वागतले आफू विह्वल भएको उल्लेख गर्दै विकसित देशमा हुन्थ्यो भने यस्ता कलाकारको धेरै सम्मान हुन्थ्यो, तर हाम्रोमा किन हुन सकेको छैन ? भन्ने प्रश्न गर्दै आफ्नो मात्र स्वार्थ हेर्ने नेताका कारणले यस्तो स्थिति उत्पन्न भएको हो भन्नुभयो । उहाँले राजनीतिले जोड्छ भन्ने लागेको थियो तर त्यस्तो भएन र हामी राजनीतिमा आउनु परेको हो भन्नुभयो । उहाँले जनता बलियो भएमात्र राज्य अर्थात सरकार बलियो हुन्छ, जनता कंगाल हुँदा राज्य बलियो हुन सक्दैन त्यसैले सुशासनका साथ जनतालाई बलियो बनाउने अभियानमा आफूहरू लागि परेको उल्लेख गर्नुभयो । पार्टीका दस्तावेजहरू आउँदो अधिवेशनमा पारित गर्ने गरी तयार हुँदै गरेको जानकारी दिनु हुँदै उहाँले रास्वपा अग्रगामी, लोकतान्त्रिक, प्रगतिशील पार्टी हो भन्नुभयो ।
सो अवसरमा पार्टीको केन्द्रीय अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाले ४८ वर्ष अघि आफू चिति आएको स्मरण गर्दै त्यो बेलामा र आजको दिनमा फरक भनेको २– ४ वटा घर थपिनु बाहेक खास केही भएको रहेनछ यो दुःखद स्थिति हो र यस्तो किन भयो ? भन्दा सुशासनको अभावले हो भन्नुभयो । उहाँले रास्वपा भ्रष्ट निषेधित पार्टी हो भन्नुहुँदै विशुद्ध मान्छेको छनौट गर्नु हाम सबैको दायित्व हो भन्नुभयो । रास्वपा वडातह देखिनै विकृति मास्न चाहन्छ भन्नुहुँदै त्यसका लागि अबका दिनमा चितिबासीको पनि साथ सहयोग रहने छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा रास्वपाका जिल्ला संयोजक धर्म केसीले आफूले संघीय संसदको चुनाव ताका ५– ७ जना मानिस भएर हिड्दा पनि नौ हजार बढी सदर मत र झण्डै तीन हजार बदर मत पाएको स्मरण गर्दै तर आजको जस्तो भिड त्यो बेलामा हुन पाएको भए परिणाम कस्तो हुन्थ्यो होला ? भन्नुभयो । उहाँले लमजुङमा आउँदो स्थानीय तह निर्वाचनमा नै ३९१ जना योग्य उम्मेदवारको आवश्यकता पर्छ त्यसैले ती पदका लागि योग्यको खोजीमा आजकै दिनबाट सुरु गरौं र यहाँहरू पनि तयार हुनुहोला भन्नुभयो ।
यसैगरी, काठमाडौं क्षेत्रनं– ७ का सदस्य कैलाश सिलवालले अन्य दलको नेताका समेत अनेक गुटले विकासमा बाधक बनिरहेको उल्लेख गर्दै त्यस्तो स्थितिलाई अन्य गर्नका लागि पनि रास्वपाको जन्म भएको हो, भविष्य भनेको यही दलको मात्र छ भन्ने ठोकुवा गर्नु भयो ।
उक्त कार्यक्रममा निर्वाचन क्षेत्र समितिको सदस्य भोला शर्माले स्वागत गर्नु हुँदै ठूला भनिने तीन पार्टीले राम्रो काम गरेको भए विकल्पका रुपमा रास्वपा जन्मिनु पर्दैनथ्यो भन्नुभयो । उहाँले आफ्नै हातले हालेको भोटले चोट दिएको हुँदा अब भोट दिदा निकै बिचार गर्ने बेला आएको छ भन्नुभयो ।
यसैगरी, केदार पन्तले आफूले प्रहरी सेवामा काम गर्दा थाहा पाएका विकृति त्यो बेलामा बर्दीको अनुशासनका कारणले भन्न मिल्दैनथ्यो तर अब भने छुट भएको छ र कहाँ कहाँ बदमासी हुन्छ त्यो कसरी कस्को इशारामा गरिन्छ भन्ने छर्लङ्ग छ भन्नुभयो । उहाँले विद्यालय शिक्षामा नैतिक शिक्षा किन पठाइन्न भन्ने प्रश्न गर्नु भएको थियो ।
रास्वपाका बेसीशहर नगर सभापति कृष्ण राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन प्रतीभा बास्तोलाले गर्नुभएको थियो ।
सो वडा भेलाले ई. मिलन कमलीको अध्यक्षतामा नयाँ समिति गठन गर्नुका साथै तीन जनाको सल्लाहकार समिति र चारजनालाई पालिकाको विभागमा सिफारिस गरेको छ । वडा समितिको उपाध्यक्षमा कृष्ण पाण्डे, सचिवमा सुभास तामाङ तथा सदस्यहरूमा कृष्णबहादुर भण्डारी, उत्तमराज पाण्डे, सीता भुजेल, भीमबहादुर क्षेत्री, भगवान सिलवाल, उद्धवराज सेढाई, कृष्णबहादुर तामाङ र सुकलाल विक चयन हुनुभएको छ ।
यसैगरी, सल्लाहकारमा रामचन्द्र बस्नेत, रामजी पाण्डे र प्रेमबहादुर बोगटी चयन हुनुभएको छ । त्यस्तै, पालिकाका विभागका सदस्य पदका लागि सिफारिस हुनुभएका अन्य व्यक्तित्वहरूमा दिनेश सिलवाल, सुरेन्द्र पन्त, राजन तामाङ र रामजी जोशी चयन हुनु भएको बेसीशहर नगरका समापति कृष्ण राउतले जानकारी दिनुभयो । उहाँका अनुसार प्रमुख बक्ता परियारले नवनिर्वाचितहरुलाई सपथ खुवाउनु भएको थियो भने नवनिर्वाचित अध्यक्ष कमलीले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति २०८० भाद्र ३०, शनिबार २२:२३ गते
हजुरको प्रतिक्रिया