गौलीटार(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सभापति रवि लामिछानेलाई सुन्न मानिसहरूको ओइरो लाग्यो । सो दलले यहाँ आयोजना गरेको नगरस्तरीय भेलालाई सम्बोधन गर्न यहाँ आउनु भएका रविलाई सुन्न मानिसहरूको ओइरो भदौ ३० गते लागेको हो ।
रविले मतदाताका सामुमा हामीले बोलेको बिर्सदैनौं भन्दै सुरु गर्नु भएको सम्बोधनमा भोट खेर जाने हो कि ? भन्ने डर हालिदिएका छन् तर त्यसको चिन्ता नगर्न आह्वान गर्नु भयो । उहाँले तपाईहरूको मतको सम्मानका लागि हामी क्षमतावान् मानिसहरूलाई जोड्दै छौं, आज तपाईहरू यहाँ यतिधेरै मान्छे त्यो पनि तीजको बेलामा आउनु हुन्छ भनेर मैले पत्याएको थिइन, दिदीबहिनीहरूको उत्साहजनक उपस्थितिले हामीलाई झनै उत्साहित बनाएको छ भन्नुभयो । अबका दिनमा यस्तै कार्यक्रम नै तीज हो भनेर घण्टी बजाउँदै दिदीबहिनीहरू नाच्नु होला उहाँले भन्नुभयो । विश्वका ३६ देशलाई आर्थिक सल्लाह दिने व्यक्तित्व डा. स्वर्णिम हाम्रा सामु हुनुहुन्छ । तर उहाँलाई हाम्रा विरोधीहरूले देख्न चाहेनन्, मान्छे गनेनन् तर हामीलाई चलाउने कोही माइकालाल जन्मेका छैनन् उहाँले भन्नुभयो । हामी बिक्न र जुठो खान आएका होइनौं रविले गर्विलो स्वरमा दृढतापूर्वक भन्नुभयो ।
जनमत लिएर उत्तरदायी नभए विश्वासघात हुन्छ भन्नुहुँदै तपाईलाई यहाँ आउनका लागि पनि रोकिदै थियो भन्ने मैले सुनें, तपाईहरू हामीलाई रोक्ने हैन, एयरपोर्र्टबाट दिनहु देशबाट बाहिरिने हजारौं युवालाई रोक्ने काम गर भन्नु होला उहाँले सुनाउनु भयो । आजकै स्थिति हुने हो भने अब तिनै दलका नेताका आसेपासे, भरौटे, ठेकेदार र झोले कार्यकर्ता बाहेक यो मुलुकमा कोही बाँकी रहने छैन तर हामी त्यसरी बाहिरिएका दाजुभाइ, दिदीबहिरीहरूलाई स्वादेशमा ल्याएर रोजगारी सिर्जना गर्ने योजनामा छौं रविले भन्नुभयो ।
नीतिगत भ्रष्टाचार नगर्ने र इमान्दारिताका साथ काम गर्ने अन्तिम आशा भनेकै रास्वपा हो, हाम्रा सबै काम पारदर्र्शी छन्, हामी चन्दा आतंक मच्चाउँदैनौं उहाँले भन्नुभयो ।
अन्त्यमा, उहाँले भन्नुभयो, ‘पवित्र मन भएकाहरू आउनु होला, तर हामीलाई बिटुल्याउने सोच कसैले नराख्नु होला त्यस्ताहरू टाढै बसेको राम्रो । मिसन ०८४ मा हामीलाई बहुमत दिएर देशको भविष्य कोर्ने मन बनाउनु होला, म बारम्बार तपाईहरू बीच आइरहनेछु ।’
यसैगरी, वरिष्ठ अर्थविद् एवम् सांसद डा. स्वर्णिम वाग्लेले आफ्नो सम्बोधनमा आफूलाई तनहूँ– १ बाट जिताउन लमजुङको पनि भूमिका रहेको उल्लेख गर्दै निर्वाचनमा आफूलाई हराउन सिङ्गो राज्य संयन्त्र लाग्यो, बहालवाला प्रधानमन्त्री, चार जना पूर्वप्रधानमन्त्री समेत आए, केन्द्रस्तरका ४०– ४२ जना नेताले क्याम्प नै चलाएर र पनि जिताउन खेल्नु भएको भूमिकाप्रति ऋणी छु र धन्यवाद व्यक्त गर्दछु भन्नुभयो ।
सम्बोधनका क्रममा उहाँले भरखरै एउटा डरलाग्दो तथ्यांक बाहिर आएको छ, गएको वर्ष मात्रै नौ लाख युवाहरू यो देशमा भविष्य नदेखेर विदेश पलायन भएका छन् । अन्य वर्षमा यो तथ्यांक पाँच लाख हाराहारीमा हुन्थ्यो, कोरोनाकालमा घटेर अढाई, दुई लाखमा झरेको थियो उहाँले स्मरण गर्नु भयो । तीमध्ये एकलाख १० हजार नेपाल नफर्कने गरी गएका हुन् र तिनले एक खर्ब डलर लिएर गएका छन् भन्नुभयो ।
उनीहरूले शिक्षामा गुणस्तर नभएको र रोजगारीको अवसर नपाएका कारणले यो देशमा भविष्य छैन भनेर पलायन भएका हुन्, देशलाई यो हालतमा पुर्याउने को हुन् ? तपाईहरूले सोध्नु पर्छ र तिनलाई चिन्नु पर्छ उहाँले भन्नुभयो । विगतमा भएका सातवटा निर्वाचनमा जस्लाई मत दिएर सत्तामा पुर्याउने काम गरियो, तिनीहरू जनताका मुद्दाबाट टाढा छन्, त्यस्ता नेताहरूलाई अब विदा गर्नु पर्छ उहाँले भन्नुभयो ।
उहाँले हामी नयाँ सोचका साथ सुसंस्कृत राजनीतिको स्थिति बनाउन प्रयासरत छौं, संसदमै पनि देख्नु भएको छ, २५५लाई हामी २१ भाइले हल्लाएका छौं, जनताका मुद्दामा र्याख्र्याख्ती पारेका छौं भन्नुभयो । हामीसँग ५– १० वर्षकै अवधिमा नेपालालाई मध्यमस्तरको आय भएको राष्ट्र बनाउने योजनामा छौं र त्यो अबको प्रधानमन्त्री रवि लामिछानेको नेतृत्वमा हामी गर्र्न चाहन्छौं उहाँले दृढतापूर्वक उल्लेख गर्नुभयो ।
हामीलाई अलमलिने छुट छैन, त्यसैले उच्च र्नैतिक चरित्र भएका, वौद्धिक र नैतिक व्यक्तिहरू हामीसँग जोडिनु होला, आजको आधा जनसंख्या २५ वर्ष मुनीको छ तिनको भविष्य सोच्नुस् र अब मत मात्र हैन दल पनि फेर्नुुस् भन्ने उहाँले आह्वान गर्नुभयो ।
सो अवसरमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले हामीले मिसन ८४ भनिरहेका छौं तर निर्वाचन ८१– ८२ तिरै पनि हुन सक्छ त्यसैले हामी तयार रहनु पर्छ भन्नुभयो । उहाँले किसानका लागि मलको प्रवन्ध गर्न ३० अर्ब छुट्याइएको भनिन्छ तर त्यसमा २०– २२ अर्ब कमिसनमै जाने गरेको छ । त्यो सबै आफ्ना आसेपासेलाई ठेक्काको काम दिएर गर्ने गरिएको उल्लेख गर्दै अनि कसरी किसानको हित हुन्छ ? भन्ने प्रश्न गर्नुभयो ।
यसैगरी, रास्वपाका गण्डकी प्रदेशका सभापति राजन गौतमले यो देशको बेथितिका विरुद्धमा अब टोल– टोल र चोक चोकमा रवि जन्माउनु पर्ने बेला आएको छ, यो अवसर र चुनौति दुवै हो/छ भन्नुभयो । उहाँले प्रदेशको खारेजीको माग राखेको रास्वपाले किन प्रदेश समिति बनायो ? भन्ने पनि कतिलाई लाग्छ सक्छ, वर्तमान् संवैधानिक संरचना भत्काउनका लागि र हाम्रो राष्ट्रपति बनाउनका लागि पनि प्रदेशमा भाग लिनु पर्ने अवस्था आयो ।
किनकि, प्रदेशको मत बिना राष्ट्रपति बनाउन सक्ने अवस्था छैन उहाँले सुनाउनु भयो । उहाँले हामीसँग नेपालीको चिन्तन गर्ने वाद छ, हामी विदेशी मान्छेका फोटा बोक्दै हिड्दैनौं भन्नुभयो । हामी इमान र परिश्रमले आफ्ना परिवार पालेका मानिस हौं, नीति र विधि अनुसार काम गर्छौं त्यसैले तपाईहरूले हामीसँग जोडिनका लागि कुनै हिनताबोध मान्नु पर्दैन, त्यसैले मत दिएझैं गरी अब खुलेर अघि आउनु होस् भन्नुभयो ।
कार्यक्रममा रास्वपाका लमजुङ संयोजक धर्म केसीले अबको वैकल्पिक शक्ति हामी हौं, हामी सकैको धाक, धम्कीले तर्सने, दब्ने छैनौं र रोकिदैनौं भन्नुभयो । सर्पको काम नै डस्ने हो तर हामी त्यो विषलाई औषधिमा परिणत गरेर सर्पले डसेको औषधि बनाउने दौडमा छौं र गरिछाड्ने छौं भन्ने प्रण गर्नुभयो ।
सो दलका जिल्ला सहसंयोजक अशोक सापकोटाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम राइनासका पद्मराज पन्थीको सभापतित्वमा भएको थियो भने सञ्चालन प्रतीभा बास्तोलाले गर्नु भएको थियो ।
स्मरणीय छ, उक्त कार्यक्रममा मानिसहरू नजाउन् भनेर पाउँदी– बोराङ खोला रुटमा नियमित चल्ने बससमेत बन्द गराइएको स्थानीयको गुनासो थियो । रवि कार्यक्रम स्थलमा पुग्नु हुँदा पञ्चैबाजाका साथमा रास्वपाका कार्यकर्ताहरुले नाच सहित स्वागत गरिएका थिए ।
प्रकाशित मिति २०८० भाद्र ३१, आईतवार ०६:२८ गते