हातेमालो मूल आमा समूहद्वारा आयोजित खुला तीज गीत प्रतियोगितामा नौबीसे आमा समुह पहिलो

हातेमालो मूल आमा समूहद्वारा आयोजित खुला तीज गीत प्रतियोगितामा नौबीसे आमा समुह पहिलो

विराट न्यौपाने/अन्तरङ्ग

@antaranganews

२०८० असोज १ गते सोमबार ०९:०६

प्रतियोगितामा व्याप्त भ्रष्टाचार विरुद्ध, संस्कार संस्कृति तथा प्राकृतिक सम्पदाको संरक्षण, ईन्टरनेटका बिकृति, महिला हिंसा, जहाज दुर्घटना आदि बारेमा मर्मस्पर्शी गीत प्रस्तुत भएका थिए ।

तीज पछिल्ला दिनमा भड्किलो हुँदै गएको प्रति प्रमुख अतिथि कांग्रेसका पूर्वजिल्ला सभापति एवं गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलद्वारा चिन्ता व्यक्त

भोटेओडार(लमजुङ)– हरितालिका तीजको पावन अवसरमा रहेक वर्ष आयोजना गर्ने गरेको यहाँ स्थित हातेमालो मूल आमा समूहले यो वर्ष पनि तीज गीतको प्रायोगिता गर्यो । सुन्दरबजार नगरपालिका– ९ यहाँ स्थित कृष्ण बगैँचामा तीज विशेष कार्यक्रम असोज १ गते सञ्चालन गरिएको हो ।
नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति एवं गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेल प्रतियोगिताको प्रमुख अतिथि हुनुहुन्थ्यो । उहाँले विजेताहरूलाई पुरस्कार वितरण गर्दै तीज पछिल्ला दिनमा भड्किलो हुँदै गएको प्रति चिन्ता व्यक्त गर्नु हुँदै समाजका अगुवा महिलाहरूले त्यस्ता विकृतिलाई रोक्नुपर्नेमा जोड दिनु भएको थियो ।
प्रतियोगितामा सुन्दरबजार नगरपालिका– ८ नौबीसे आमा समूह पहिलो, तीनधारे आमा समूह गाउँशहर दोस्रो, बाइसजाँगर आमा समुह तनहुँ तेस्रो र धारापानी आमा समूह सुनपा– ९ ले सान्त्वना स्थान हासिल गरेका छन । उनीहरूलाई क्रमशः नगद १५ हजार रुपैयाँ, दोस्रो हुने टिमलाई १० हजार, तेस्रो हुने टिमलाई पाँच हजार रुपैयाँ, २ हजार ५ सय नगद र उत्कृष्ट नृत्य भविष्य निर्माणकी छात्रा आकृति गुरुङलाई एक हजार ५ सयका साथ विजेत समूह सबैलाई प्रमाणपत्र प्रदान गरिएको आयोजक आमा समूहका अध्यक्ष खत्रीले बताउनुभयो ।
उहाँका अनुसार उक्त प्रतियोगितामा १० समूहले भाग लिएका थिए । उहाँले भन्नुभयो, ‘प्रतियोगितामा प्रत्येक समुहले फरक फरक शीर्षकमा गीत प्रस्तुत गरेका थिए । तीज गीतमा आधारित रहेर देशमा व्याप्त भष्ट्रचार, हिंसा लगायत सुन्दरजार नगरपालिकाका प्राकृतिक सम्पदाहरूका बारेमा प्रस्तुति दिएका थिए ।’
बाईसजागर आमा समूहले गीत प्रस्तुति दिईरहदा मञ्चासिन अतिथिहरू तथा दर्शकको आँखा आशुले भरिएका थिए । सो समूहले २०७९ माघ महिनाको कम्बोडियामा भएको आगालागीमा १२ तला माथिबाट एक नेपाली खसेको चिच्याहट र पारिवारलाई भनेको क्षणलाई गीत मार्फत प्रस्तुत गरेका थिय । ‘कस्तो भयो होला उस्को श्रीमतीलाई, बाकसमा देख्दा उस्को पतिलाई’ भन्दै प्रस्तुति दिईरहदा दर्शकहरू स्तब्ध भऐका थिए । गीत पश्चात गड्गडाहड तालीले सो समुहलाई हौसला प्रदान गरका थिए ।
यसैगरी, तीनधारे आमा समूहले प्रस्तुति मार्फत देशको आर्थिक र सामजिक अवस्था, राजनैतिक दलको गैर जिम्मेबारपनलाई व्यङ्ग्य गरे । देशमा बालेन जस्ता स्वतन्त्रको उदयले केही आशा पलाएको भावना समेत गीतमा व्यक्त गरेका थिए ।
भविष्य निर्माणका छात्रा समुहले सुन्दरबजार नगरपालिकाका पर्यटकीय स्थल र देशको नेतृत्वले गरेका कामलाई गीत मार्फत प्रस्तुत गरेका थिए ।
यसैगरी, धारापानी आमा समूह, प्रकृति टोल आमा समूह, जागृति आमा समूहले भ्रष्टचारले समाज आक्रान्त भएको बेदना पोखेका थिए । मिलिजुली समूहले भने प्राकृतिक सम्पदाको महत्वलाई गीत मार्फत झल्काएका थिए ।
पहिलो बनेको नौबीसे आमा समूहले हाम्रो समाजमा रहेका ईन्टरनेटका बिकृतिलाई प्रयोगात्मक तरिकाले प्रस्तुति दिदै फेसबुक, फ्रिफाइर, टिकटकहरू लेखिएका पम्पलेट प्रयोग गरि अन्त्यमा मोबाईल बरदान कि अभिसाप ? लेखोएको व्यानर देखाई ओझेल पर्दा दर्शकहरूले भरपुर मनोरन्जन पाएको अनुभूति भएको प्रत्यक्षदर्शीहरूले बताए ।
अकला आमा समूहले महिला हिंसा सम्बन्धि प्रस्तुति दिईरहदा नयाँ बजार समुह बाइसजागरले २०७९ साल माघ १ गते पोखरामा भएको बिमान दुर्घटनामा ज्यान गुमाएकी गायिका निरा छन्त्यालको पारिवारिक पीडालाई गीतमार्फत प्रस्तुतिकरण गराका थिए ।
लोकदोहोरी गायिका सूर्यकुमारी गुरुङलाई सम्मान :
सो अवसरमा लमजुङको मध्यनेपाल नगरपालिका– ८ डडुवा जन्मनु भएकी अग्रज लोकदोहोरी गायिका सूर्यकुमारी गुरुङलाई सम्मान गरिएको थियो । उहाँले ईच्छा भए पनि रेडियो नेपालमा भोकल टेस्ट पछिमात्र गीत गाउन पाउने अवस्था रहेको बेलामा स्वर परीक्षा पास गर्न ३ वटा गीत गाएर सफल भएपछि २०४९ सालबाट गीत संगीतमा लागेको स्मरण गर्नु भएको थियो । उहाँले कालजयी चर्चित गीत ‘सालैको पातैले– दिए खान्थे मायाको दाईने हातैले’, बेसी बेलघारी, २०५२ तिर गाएको ‘तीज आयो भन्छ सबै माईत जान्छ म अभागी चेली कस्को माईत जाम’ बोलको तीज गीत पस्कनु भएको थियो । उहाँ व्यक्तिगत अवस्थाका कारणले पछिल्ला १० बर्षदेखि यो क्षेत्रमा सक्रिय हुन नसकेको जानकारी दिनु भयो ।
सो अवसरमा लोकदोहोरी गायिका विष्णुमाया गुरुङ, गायिका देउकुमारी दुरा, राष्ट्रिय लोक तथा लोकदोहोरी गीत प्रतिष्ठानका जिल्ला अध्यक्ष एवम् गायक अनुज अधिकारी, विवेक धिताल लगायतका कलाकारहरूले बेजोड सांगीतिक प्रस्तुती समेत प्रस्तुत दिनु भएको थियो ।
कार्यक्रममा प्रायोजन गर्नेहरूमा राजशान्ति फाउण्डेसन र भोटेओडार निवासी हाल अमेरिकामा रहनु भएका सुजन लामा, सुन्दरबजार नगरपालिका– ९को भोटेओडार तार्दी खोला खानेपानी आयोजना, फ्युचरस्टार आमावि लगायत स्थानीय संघ संस्था व्यक्तिहरू रहेको आयोजक संस्थाका अध्यक्ष मनु पन्त खत्रीले बताउनु भएको छ । उहाँका अनुसार सुन्दरबजार नगरपालिका– ८ र ९ का २० वटा आमा समूह सो हातेमालो मूल आमा समूहमा आवद्ध छन् । उक्त आमा समहूले सामाजिक सेवाका साथै सचेतनामुलक कार्यहरू समेत गर्दै आएको छ ।
आमा समूहका अध्यक्ष मनु पन्त खत्रीको अध्यक्षता भएको उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरूका साथै दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति २०८० आश्विन १, सोमबार २१:०६ गते
हजुरको प्रतिक्रिया