लमजुङ– राष्ट्रिय कोटी होमका लागि देशबासीलाई निम्ता गर्न हिडेको रथयात्राको टोली असोज ४ गते बेसीशहरमा आउने भएको छ । काभ्रेको बनेपा स्थित पावन तीर्थस्थल लड्केश्वर क्षेत्रमा आउँदो माघ शुक्ल पक्षदेखि श्रुतिस्मृतिपुराणोक्त विधिविधानले राष्ट्रियस्तरको कोटिहोम महायज्ञ गर्ने संकल्प सहित कोटिहोमको तयारीको क्रममा लमजुङ बासीलाई निमन्त्रणा गर्न कोटी होमको आयोजक टिम रथयात्रा सहति असोज ४ गते बेसीशहर आउने भएको हो ।
नेपाल राष्ट्र र सम्पूर्ण नेपालिहरूको सुख शान्ति र समृद्धिको लागि हुन लागि रहेको राष्ट्रिय कोटी होममा सहभागी बनौ भन्ने हेतुले राष्ट्रिय कोटी होमको अभियानमा निमन्त्रणा दिन राष्ट्रिय कोटी होम रथ यात्रा ७७ जिल्लाको रथयात्रा अन्तर्गत ३९औं जिल्लाको रुपमा ॐकार टेलिभिजनमा प्रत्यक्ष प्रसारण सहितको कार्यक्रम यहाँ हुने भएको छ ।
सो प्रयोजनका लागि असोज ४ गते दिउँसो ३ः३० बजे लमजुङ जिल्लाको बेसीशहर आईपुग्ने भएको छ । सो अवसरमा सम्पूर्ण संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू सहित सम्पूर्ण जिल्लाबासी आदरणीय व्यक्तित्वहरू तथा भक्तजनहरूमा सादर निमन्त्रणा गर्दछौँ । बेसीशहर प्रवेश द्वारबाट शोभा यात्रासँगै रथलाई बेसीशहर बजार परिक्रमा गराई फूलबारीमा रथ बिराजमान हुने कार्यक्रम छ । सोही क्रममा त्यस दिन साँझ ५ः३० बजेदेखि भजन किर्तन र सन्ध्या आरती हुने छ । साथै, ५ गते बिहान ७ बजे रुद्राभिषेक हुने कार्यक्रम छ ।
यसैले सम्पूर्ण श्रद्धालु भक्तजनहरूले रथको दर्शन गरी लाभ लिनु हुन तथा यस जिल्लाबाट उत्कृष्ट सहभागिता जनाउनु हुन हार्दिक अनुरोध गर्दछौं ।
उक्त कार्यक्रममा यहाँहरू सम्पूर्ण– सम्पूर्णमा सादर निमन्त्रणा रहेको हार्दिक जानकारी गरिएको छ ।
राष्ट्रिय कोटिहोम महायज्ञको निमन्त्रणा पत्रको पूर्ण पाठ :
ॐकारेश्वर महादेव दर्शन
राष्ट्रिय कोटिहोम महायज्ञको निमन्त्रणा
लङ्केश्वर महादेव दर्शन
नेपाल राष्ट्रको गौरवशाली परिचय यो देशको धार्मिक, साँस्कृतिक र प्राकृतिक सम्पदासँग जोडिएको छ । यिनै सम्पदाको महिमा र गरिमालाई संसारभर फैलाउने उद्देश्यले ॐ कार टेलिभिजनको स्थापना गरिएको हो । ॐकार टेलिभिजनले लुकेर बसेका तीर्थको प्रचारप्रसार गर्दै आवश्यकता अनुसार धार्मिक क्षेत्रमा भौतिक संरचना निर्माणकार्यलाई समेत अगाडि बढाएको छ । यसैक्रममा ॐकार टेलिभिजन र ॐकार फाउन्डेसनको सत्संकल्पमा समस्त भक्तजनको सहयोगले काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका– ११ मा रहेको लड्केश्वर महादेवस्थान परिसरमा विश्वकै ठूलो त्रिशूल (१०८ फिट अग्लो) निर्माण भइसकेको छ । यस्तै लिलावती र सुनकोशी संगमस्थल दुम्जा कुशेश्वर क्षेत्रमा दुर्गातीर्थ र गायत्री मन्त्र प्राकट्यस्थल विश्वामित्र गुफा क्षेत्रको भौतिक विकास निर्माणमा महत्वपूर्ण कार्य सम्पन्न भएको छ ।
कलियुगको प्रभावले हाल संसारभर विकृति, विसंगति र अधर्मको विस्तार हुदैजाँदा धर्मको ग्लानी भएको छ । अतिवृष्टि, अनावृष्टि, वातावरण प्रदुषण, महाभूकम्प, नरसंहारकारक महामारी, व्याधिप्रकोप, अनिकाल, अशान्ति, गृहभङ्ग, राष्ट्रभङ्ग आदि समस्याले विश्व आक्रान्त भएको छ । यी सबै समस्या र प्रकोपबाट देश र देशबासीलाई बचाउन राज्यले कोटिहोम अतिरुद्री सहश्रचण्डी जस्ता ठूल्ठूला यज्ञ अनुष्ठान गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको छ । हालको धर्मनिरपेक्ष राज्यप्रणालीका कारण राज्य स्वयं यस्ता यज्ञ अनुष्ठान गर्न उत्साही छैन । अतः सम्पूर्ण जन–जनको सहभागिताद्वारा राज्यले गर्नुपर्ने कामको पूर्ति नागरिकस्तरबाटै गर्नुपरेको छ ।
नेपाल राष्ट्र र नेपाली जनताको कल्याण हेतु पावन तीर्थस्थल लड्केश्वर क्षेत्रमा वि सं २०८० माघ शुक्ल पक्षदेखि श्रुतिस्मृतिपुराणोक्त विधिविधानले राष्ट्रियस्तरको कोटिहोम महायज्ञ गर्ने संकल्प सहित कोटिहोमको तयारी अगाडि बढिसकेको छ । यसैक्रममा राष्ट्रिय कोटिहोम २०८० को प्रचारप्रसारका साथसाथै राष्ट्रको धार्मिक÷आध्यात्मिक/साँस्कृतिक जागरण अभियानका लागि नेपाल अधिराज्यको ७७ जिल्लामा पुग्ने गरी राष्ट्रिय कोटिहोम रथयात्राको शुभारम्भ भइसकेको छ । राष्ट्रिय कोटिहोम रथयात्रामार्फत देशभर निमन्त्रणा पुर्याउने र सबै जिल्लाबाट ऐक्यबद्धता प्राप्त गर्ने लक्ष्य राखेका छौं ।
शास्त्रीय विधिविधानले कोटिहोम यज्ञ पूरा हुँदा यो देशमाथि वाह्य देशको कुदृष्टि हटेर जानेछ । देशमा भैरहेका आन्तरिक द्वन्द्व र अस्थिरता हट्नेछ । अनिकाल अतिवृष्टि अनावृष्टि खण्डवृष्टिको अन्त्य हुनेछ । पापको भारले पीडित पृथ्वीको भूभार घट्नेछ र धर्मको अभ्युदय हुनेछ भन्ने विश्वास लिएका छौं ।
नेपालमा अहिलेसम्मकै अभूतपूर्व राष्ट्रियस्तरको कोटिहोममा नायव बडागुरुज्यू प्रा डा माधव भट्टराई प्रधान आचार्य चयन हुनुभएको छ । प्रा. डा. ऋषिराम पोख्रेल, प्रा डा दीर्घराज घिमिरे, प्रा. डा. रामचन्द्र गौतम, प्रा. डा. देवमणि भट्टराई, ज्यो पं सूर्यप्रसाद ढुंगेल र पं कृष्णप्रसाद खनाल लगायत गुरुवर्गले यज्ञलाई शास्त्रीय मार्गनिर्देशन गर्नुभएको छ । राष्ट्रिय कोटिहोम रथयात्राको संयोजक यातायात व्यवसायी एवम् विश्व हिन्दु महासंघ राष्ट्रिय समितिका उपसभापति जीतबहादुर भारती हुनुहुन्छ भने ॐकार सञ्चार अभियानका संस्थापक एवम् विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका निमित्त सभापति अरुणकुमार पाण्डेले कोटिहोम सचिवालयको नेतृत्व गर्नुभएको छ । सयौंको संख्यामा साधक, विद्वान, विदुषी, पण्डित र पुरोहितद्वारा कोटिहोम यज्ञ सम्पादन हुनेछ ।
यस्तो महिमामय राष्ट्रिय कोटिहोमको जानकार बनौं, आफन्त छरछिमेकी सबैलाई जानकारी दिऔं, मूलकर्ता र कर्ता बनौं, यथाशक्य भेटी, जौ तिल घ्यु आदि हवन सामग्री सहित कोटिहोममा सहभागी बनौं । विश्वकै अनुपम दिव्य लड्केश्वर तीर्थको दर्शन तीर्थाटन गरौं । राष्ट्रिय कोटिहोममा सम्पूर्ण नेपाली जनलाई हार्दिक निमन्त्रणा गर्दछौं ।
मुकुन्द शर्मा हुमागाई
कोटिहोम संकल्पकर्ता एवम् अध्यक्ष ॐकार टेलिभिजन/ॐकार फाउन्डेसन
सम्पर्क फोन नंः– ४८५१००४३१५/९८६०१७१६३८/९८५१०७८०१५
१०८ फिट त्रिशुल दर्शन
राष्ट्रिय कोटिहोम रथयात्रा दर्शन ।
प्रकाशित मिति २०८० आश्विन २, मंगलवार ०८:३८ गते