बाहुनडाँडामा भलिबल प्रतियोगिता सुरु

बाहुनडाँडामा भलिबल प्रतियोगिता सुरु

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज २ गते मङ्गलबार ०९:३७

सो प्रतियोगितामा १० टिमले भाग लिएका छन् । उदघाटन सत्रपछि आयोजक टिमको ए र वि टिमका बीचमा मैत्रीपूर्ण भलिबल खेल भएको थियो ।

स्थानीय योगस्टार युवा क्लबद्वारा २७ औं वार्षिकोत्सवका अवसरमा आयोजित

बाहुनडाँडा(लमजुङ)– जिल्लाको उत्तरी क्षेत्रको रमणीय गाउँ बाहुनडाँडामा आयोजित भलिबल प्रतियोगिता सुरु भएको छ । स्थानीय योगस्टार युवा क्लबद्वारा २७ औं वार्षिकोत्सव तथा हरितालिका तीजका अवसरमा आयोजित सो प्रतियोगिताको मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले यहाँ स्थित चन्द्रोदय माविको प्राङ्गणमा असोज १ गते उदघाटन गर्नु भएको हो ।
उदघाटन मन्तव्य व्यक्त गर्दै अध्यक्ष गुरुङले तीजको अवसरमा गीतमार्फत दिदी– बहिनीले व्यक्त गर्नु भएको भावनाको कदर गर्दछु तर प्राप्त अधिकारको सही कार्यान्वयनका जिम्मेवारी पुरा गर्नु पर्ने दायित्व हामीसँग छ, त्यसलाई सम्झौं भन्नुभयो । उहाँले खेलकुदको विकास गाउँगाउँबाट हुन आवश्यक रहेको समेत औंल्याउनु भयो ।
सो प्रतियोगितामा १० टिमले भाग लिएका छन् । उदघाटन सत्रपछि आयोजक टिमको ए र वि टिमका बीचमा मैत्रीपूर्ण भलिबल खेल भएको थियो । बेष्टअफ थ्रिमा खेलाइएको सो खेलमा १– २ अन्तरले ए टिम विजयी भएको आयोजक क्बलका पूर्वअध्यक्ष एवम् उदघोषक विष्णु गुरुङले बताउनु भयो ।
उहाँका अनुसार प्रतियोगितामा पहिलो हुने टिमलाई ४० हजार नगद, शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै दोस्रो हुने टिमका लागि २५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गर्ने तयारी छ । त्यसैगरी, उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर(सटर), उत्कृष्ट स्याटर(रेजर)लाई जनही एक एक हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गर्ने तथा टिम लिडरहरूलाई पनि ट्रफी र प्रमाणपत्रको प्रवन्ध रहेको उहाँले जानकारी दिनुभयो छ ।
आयोजक क्लबका अध्यक्ष पवित्रा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि एवम् वडानं– ५ का अध्यक्ष घनश्याम घले, नेपाली काँग्रेसका पूर्वजिल्ला उपसभापति कुलबहादुर घले लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । सो कार्यक्रममा स्वागत क्लबका उपाध्यक्ष जगमाया गुरुङले गर्नु भएको थियो ।
प्रतियोगिताको समापन भोलि गरिने भएको आयोजकको भनाइ छ ।

प्रकाशित मिति २०८० आश्विन २, मंगलवार ०९:३७ गते
हजुरको प्रतिक्रिया