बाहुनडाँडा(लमजुङ)– लमजुङमा सञ्चालन गरिएको जिल्लास्तरीय अन्तर वडा भलिबल प्रतियोगिताको उपाधि राइनास नगरपालिका– ५ ले प्राप्त गरेको छ । मर्स्याङदी गाउँपालिका– ६ को बाहुनडाँडा स्थित स्थानीय योगस्टार युवा क्लबद्वारा २७ औं वार्षिकोत्सव तथा तीज पर्वका अवसरमा सो प्रतियोगिता आयोजना गरिएको हो ।
उक्त प्रतियोगिताको फाइनल खेल राइनास नगरपालिका– ५ र मध्यनेपाल नगरपालिका– ५ को टिमका बिचमा भएको थियो । बेष्ट अफ फाइभमा आधारित सो खेलामा २– ३ गरी राइनास नगरपालिका– ५ टिमले उपाधि हत्याएको हो । सो प्रतियोगितामा १० टिमले भाग लिएको आयोजक क्बलका पूर्वअध्यक्ष एवम् कार्यक्रमका उदघोषक विष्णु गुरुङले बताउनु भयो ।
उहाँका अनुसार सो प्रतियोगितामा पहिलो हुने टिमका कुशल श्रेष्ठ र अमृत गुरुङले क्रमशः उत्कृष्ट स्पाइकर(सटर) र उत्कृष्ट स्याटर(रेजर)को उपाधि प्राप्त गरेका छन् । त्यस्तै, दोस्रो हुने टिमका सरोज कुमालले उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गरेका छन् । प्रतियोगितामा पहिलो हुने टिमलाई ४० हजार नगद, शिल्ड, ट्रफी र प्रमाणपत्र, दोस्रो हुने टिमका लागि २५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आयोजक क्बलका पूर्वअध्यक्ष विष्णु गुरुङले बताउनु भयो ।
उहाँका अनुसार उत्कृष्ट उपाधि पाएका तीन जनालाई जनही एक एक हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गर्ने तथा प्रतियोगितामा भाग लिन आएका सबै टिमका लिडरहरूलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगिताको समापन कार्यक्रममा मर्स्याङदी गाउँपालिका– ६ का वडाध्यक्ष मिनराशी गुरुङ, नेपाली काँग्रेसकका पूर्वजिल्ला सभापति कुलबहादुर घले, क्लबका अध्यक्ष पवित्रा गुरुङले संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको हो । आयोजक क्लबका अध्यक्ष पवित्रा गुरुङको अध्यक्षतामा समापन कार्यक्रम भएको थियो ।
मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले सो प्रतियोगिताको उदघाटन असोज १ गते गर्नु भएको हो । सो अवसरमा विशेष अतिथि एवम् वडानं– ५ का अध्यक्ष घनश्याम घले, नेपाली काँग्रेसका पूर्वजिल्ला उपसभापति कुलबहादुर घले लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । सो कार्यक्रममा स्वागत क्लबका उपाध्यक्ष जगमाया गुरुङले गर्नु भएको थियो ।
उदघाटन सत्रपछि आयोजक टिमको ए र वि टिमका बीचमा मैत्रीपूर्ण भलिबल खेल भएको थियो । बेष्टअफ थ्रिमा खेलाइएको सो खेलमा १– २ अन्तरले ए टिम विजयी भएको थियो ।
प्रकाशित मिति २०८० आश्विन ३, बुधबार २०:४७ गते