काठमाडौँ– प्रेस काउन्सिल नेपालको पछिल्ला केही वर्षदेखि थालेको कथित ठूला दलको भागवण्डाबाट पत्रकारका नाउँमा वितरण गर्ने गरेको सम्मान र पुरस्कारले यो वर्ष पनि निरन्तरता पाएको छ । शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेल र सञ्चारमन्त्री रेखा शर्माले काउन्सिलको ५४औँ वार्षिकोत्सवको अवसरमा विभिन्न सञ्चारमाध्याममा कार्यरत पत्रकारहरूलाई सम्मान र पुरस्कार असोज ६ गते वितरण गर्नु भयो ।
सो क्रममा काउन्सिलले १६ जनालाई सम्मान गरेको हो । सम्मानित हुने पत्रकारहरूमा विजय चालिसे, कुलचन्द्र वाग्ले, धर्मेन्द्र झा, गगन विष्ट, राजन कार्की, नरेन्द्रजङ्ग पिटर, राजु सिलवाल, रमेश तुफान, मनमोहन स्वाँर, रविन्द्र घिमिरे, केदार भट्टराई, मोती पौडेल, कृष्ण अधिकारी, रमेश पौडेल, उदय जिएम र राजकुमार कार्की रहेको बनाइन्छ ।
त्यस्तै, यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई प्रदान गरिएको छ । प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार पत्रकार सागर पण्डित र चुडामणि भट्टराईले सदएको छ ।
यसैगरी, प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पत्रकार दमन राईलाई दिइएको जानारीमा आएको छ । त्यस्तै, प्रेस काउन्सिल आचारसंहिता पुरस्कार चेष्टा साप्ताहिक, राममणि दाहाल र माधवसिंह धामीलाई प्रदान गरेको छ ।
प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार थप १६ जना पत्रकारलाई दिइएको छ । पत्रकारहरू विमल ज्ञवाली, जीवन भण्डारी, शङ्कर रोक्का, श्यामदत्त भट्ट, रामकला खड्का, ताराचन्द्र देवकोटा, भीष्मराज ओझा, माधव बस्नेत, रामकृष्ण अधिकारी, चाँदनी आचार्य, दामोदर न्यौपाने, मणिराज (मोहन) बाँस्तोला, रमेश गिरी, रमेश शाही, प्रेमकुमार आचार्य र वीरेन्द्र रमण रहेको बताइन्छ ।
यसैगरी, प्रेस काउन्सिल यो वर्ष युवा पत्रकारिता पुरस्कारका नाउँमा १९ जना पत्रकारलाई पुरस्कृत गरेको जनाएको छ । त्यस्तो, पुरस्कार पाउनेहरूमा पाण्डव शर्मा, मिन ठकुरी, वीरेन्द्र केसी, सञ्जीव घिमिरे, कृष्ण ओली, दीपा रेग्मी, मदन कोइराला, सुवास पण्डित, युवराज खड्का, नरेन्द्रसिंह कार्की, अमृतप्रसाद पौडेल, विनोदकुमार मल्ल, भानुभक्त निरौला, हरि भण्डारी, विजय रावत, जगदिश्वर पाण्डे, राजु लामिछाने, इन्द्र विवस डिसी र ओमकार आचार्य रहेको काउन्सिलले जनाएको छ ।
प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार पवित्रा सुनार, भवानी अधिकारी, तारा चापागाईं, दुर्गा आचार्य, रुपा घिमिरे र गगनशीला खड्का समेत छ जनालाई प्रदान गरेको छ । प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार पाउने सात जनामा सन्तोष सिंह, मनकुमार गदाल, शर्मिला बुढाथोकी, रितेश त्रिपाठी, रजनी योगी, विनोद परियार, फिरोज सिद्दिकी रहनु भएको छ ।
उता, प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार केशव थोकर र नेमिश गौतमलाई दिइएको छ । प्रेस काउन्सिल साहित्यिक पुरस्कार पाउनेमा हिमाल गुँरास द्वैमासिकका खिमानन्द पोखरेल तथा प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार मैथली भाषाको आँजुर द्वैमासिकका सम्पादक रामभरोष काँपडीलाई दिइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्ने लोकतान्त्रिक व्यवस्थाका लागि आफ्नो जीवनको उर्वर समय जेल, नेल, यातना र अनेकौँ कष्टले बितेको स्मरण ः
राष्ट्रपति रामचन्द्र पौडेलले सो सम्मान तथा पुरस्कार वितरण पछि आफ्ना धारणा व्यक्त गर्दै निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउने बताउनु भयो । उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्ने लोकतान्त्रिक व्यवस्थाका लागि आफ्नो जीवनको उर्वर समय जेल, नेल, यातना र अनेकौँ कष्टले बितेको स्मरण गर्नुभयो । उहाँले निष्पक्ष, स्वतन्त्र र मर्यादित पत्रकारिताका लागि प्रेस स्वतन्त्रताका पक्षमा अटल विश्वास र समर्पण सधैँ रहँदै आएको उल्लेख गर्नु भयो ।
उहाँले प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि कतैबाट प्रश्न उठ्न नदिन काउन्सिलले निष्पक्ष र स्वतन्त्र रहँदै सृजनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले भन्नुभयो, ‘समग्र पत्रकारिता क्षेत्रको विश्वसनीयता तथा मर्यादा कायम राख्न र प्रेस स्वतन्त्रताको सदुपयोग होस् भनेर लोकतन्त्रमा काउन्सिलजस्ता निकाय स्थापना गरी आचारसंहिता तोक्ने, कार्यान्वयन भए÷नभएको अनुगमन गर्नेलगायत जिम्मेवारी बहन गर्दै आइरहेका छन् ।’
राष्ट्रपति पौडेलको थप भनाई थियो, ‘सामाजिक सञ्जालको तिव्र विकास र प्रयोगसँगै नागरिकलाई दिग्भ्रमित पार्ने विषयवस्तुले कतिपय बेला अन्योल सृजना भइरहेको भन्ने गुनासो सरोकारवालाले गरेको पाइन्छ, यस्तो अवस्थामा सामाजिक सञ्जालबाट सृजना हुने अन्योल समेत प्रेसजगत्ले चिर्ने गरी सूचना प्रवाह गर्नुपर्ने दायित्व थपिएको छ ।’
यसैगरी आफ्नो शुभकामना मन्तव्यका क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अभिव्यक्ति स्वतन्त्रता बिना राजनीतिक स्वतन्त्रताको अर्थ नहुने बताउनु भयो । उहाँले स्वच्छ, स्वस्थ्य र मर्यादित पत्रकारिताले लोकतन्त्रलाई थप बलियो बनाउने छ भन्नु भयो ।
उहाँले राजनीतिक र अभिव्यक्ति स्वतन्त्रता एकापसमा पूर्णरूपले गाँसिएको बताउँदै राजनीतिकर्मी र पत्रकारिता सँगसँगै भएको उल्लेख गर्दै भन्नुभयो, ‘लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो भन्ने कुरालाई पत्रकारिता क्षेत्रबाट थप सशक्त र प्रभावकारी बनाउने र अगाडि बढाउने काममा यहाँहरूको पत्रकारिता अगाडि बढ्ने छ भन्नेमा विश्वस्त छु ।’
बद्लिएको परिवेशमा नेपालको पत्रकारितालाई अझै जिम्मेवार र उत्तरदायी बनाउन काउन्सिलकै पुनःसंरचना बारेमा छलफल चलिरहेको मन्त्री शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा मिडियामाथिको नियन्त्रण कल्पनाभन्दा बाहिरको कुरा हो, अब गर्ने भनेको स्वनियमनको ढाँचामा नियमन नै हो, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मर्यादित पत्रकारिताको विकासलाई अगाडि बढाउने गरी मिडिया काउन्सिल ऐन बन्नुपर्छ भन्ने आमसञ्चार क्षेत्रका विज्ञहरूको सुझाव रहेको छ ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउँदै पत्रकारिता क्षेत्रले सबै क्षेत्रलाई खबरदारी गर्नुपर्ने उल्लेख गर्नु भयो ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रलाई दुरुपयोग गर्नेभन्दा पनि जिम्मेवार र प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिनु भएको थियो ।
सो अवसरमा काउन्सिलको वार्षिक प्रतिवेदन र ‘संहिता’ सार्वजनिक गरिएको छ ।
प्रकाशित मिति २०८० आश्विन ६, शनिबार २२:२४ गते