दमौली– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विद्यमान विकास र समृद्धिका लागि आफू निरन्तर लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उहाँले आफू दलीय राजनीतिमा नलाग्ने तर विकास र सुशासनका लागि सदैव सक्रिय रहने असोज ६ गते बताउनु भएको हो ।
राष्ट्रपतिमा निर्वाचित भएपपछि पहिलो पटक गृहजिल्ला तनहुँ आउनु भएका पौडेलले कव्यास नगरपालिका– ३ बिपी वनवाटिकामा निर्माण गरिएको दमौली सभागृहको उद्घाटन गर्दै त्यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘सुशासन र विकासका लागि सचेत गराउनु आफ्नो जिम्मेवारी हो, त्यस्तैले देशलाई विकास चाहिएको छ, देश पछाडि परेको छ । विकासका लागि म जहाँ पनि बोल्छु, सबैलाई सचेत गराउँछु ।’ उहाँले थप भन्नुभयो, ‘परिवर्तनको रक्षा गर्ने मेरो जिम्मेवारी हो । संविधानको रक्षक भएका नाताले मेरो कदम त्यसतर्फ हुनेछ ।’
रहेको उल्लेख गर्दै सबै धर्म र जातजातिको सम्मान गर्नुपर्ने बताउँदै राष्ट्रपति पौडेलले देशलाई बलियो बनाउनेतर्फ लाग्न सबैलाई हराष्ट्रपति पौडेलले आग्रह गर्नु भयो । मुलुकका लागि विकास नै पहिलो सर्त रहेको उहाँको भनाई थियो । ‘दुई ठूला देशका बीचमा रहेको नेपाललाई एकताको बाटोमा हिँडाउनुपर्छ । सबै दल मिले मात्रै देश बलियो हुन्छ ।’ उहाँको थप भनाइ थियो ।
संविधानको रक्षा गर्नु सबैको दायित्व रहेको बताउँदै राष्ट्रपति पौडेलले स्थायित्व र सुशासनबाट विकास सम्भव छ भन्दै व्यवस्था बदलिए पनि अवस्था नबदलिएको भन्दै राष्ट्रपति पौडेलले पदमा पुग्नेहरूले देशको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
सबै राजनीतिक दल मिलेर एकाआपसमा सहकार्य गरी काम गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले दलहरू मिले मात्रै मुलुक बलियो बन्छ भन्दै राष्ट्रपति पौडेलले निमुखा जनताले न्याय पाउनुपर्ने र विपन्नलाई आय चाहिएको छ भन्नुभयो । उहँले अति दलबन्दी भएमा निमुखाको न्याय मर्ने समेत उल्लेख गर्नुभयो ।
सो अवसरमा शहरी विकास मन्त्री सीता गुरुङले सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो । त्यस्तै, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले सबै दलको एकताबाट मात्रै विकास सम्भव छ भन्नुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यो देशमा केही हुन सक्दैन भन्ने भाष्य स्थापित गर्न खोजिएको बताउँदै नैराश्यताको फाइदा उठाएर गलत काम गर्नेहरूलाई परास्त गर्नुपर्ने उल्लेख गर्नुभयो । सीमित स्रोत र साधनबाट पूर्वाधार विकासमा जोड दिइएको उहाँको भनाइ थियो ।
तनहुँ क्षेत्र नं.– १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले कुशासनले विकास रोकिएको उल्लेख गर्नुभयो । तनहुँ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले विभिन्न राजनीतिक दलका बीचमा र कतिपय विषयमा दल भित्रै पनि असमझदारी बढ्नाले मुलुक पछाडि परेकाले सबै दलहरूका बीच र दल भित्रै पनि एकता आवश्यक रहेको बताउनु भयो ।
काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले समयमा काम नहुने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने र प्रकाश पन्थले समृद्ध तनहुँका लागि सबै राजनीतिक दलबीच सहकार्य आवश्यक छ भन्नुभयो ।
विसं २०७४ माघ २८ गतेदेखि निर्माण शुरु भएको भवन कोरोना महामारीका कारण ढिलो गरी निर्माण सम्पन्न जानकारी दिदै शहरी विकास मन्त्रालयको रु २३ करोड ६२ लाखको लागतमा दमौली सभागृह निर्माण भएको मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठले बताउनु भयो ।
उक्त सभाहल करिब ७५० जना क्षमता रहेको गण्डकी प्रदेशकै ठूलो बताइएको छ । चारतले भवनको करिब ६ हजार ५०० वर्गफिट क्षेत्रफलमा रहेको सभाहलमा दुईवटा ब्लक रहेका छन् ।
भुइँतलामा पार्किङ, दोस्रो तलामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम गर्ने कक्ष समेत सो भवनमा रहेका छन् ।
विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौस्थित डाँफे÷एमए÷प्रतिष्ठा जेभीले भवन निर्माणको लागि ठेक्का पाएको थियो ।
सभाहल निर्माण सम्पन्न भएको मितिदेखि एक वर्षसम्म मर्मत सम्भारको अवधि राखिएको छ । सभागृहमा पाँच सय ९३ जन अट्ने क्षमताको सभाहल छ । सभागृहको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ । भवनमा मुख्य सभाहल बाहेक एक सय ५० जना क्षमताको सेमिनार हल निर्माण भएको छ । सभाहल बाहिर फाउण्टेनसहितको भिआइपी पार्किङ स्थल समेत रहेको छ ।
प्रकाशित मिति २०८० आश्विन ७, आईतवार ०७:१३ गते