अधिकारीको प्रतिनिधिमा उम्मेदवारीले एमालेमा हलचल 

अधिकारीको प्रतिनिधिमा उम्मेदवारीले एमालेमा हलचल 

नवराज पहाडी

@antaranganews

२०८० असोज ७ गते आईतबार ०७:०६

बेसीशहर– दरिलो नेता जन्माउन नसकेको कारण सधैं छायामा पर्ने गरेको लमजुङ अब भने विशेष अवस्थामा चर्चामा आउन थालेको छ । नेकपा एमाले लमजुङका नेता पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री हुँदै हाल सो दलको सहमहासचिव हुनुभए...

बेसीशहर– दरिलो नेता जन्माउन नसकेको कारण सधैं छायामा पर्ने गरेको लमजुङ अब भने विशेष अवस्थामा चर्चामा आउन थालेको छ । नेकपा एमाले लमजुङका नेता पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री हुँदै हाल सो दलको सहमहासचिव हुनुभए पछि लमजुङको सेप विस्तारै हट्ने संकेत देखिएको हो । यतिेबेला सोही दलको गण्डकी प्रदेशस्तरीय पहिलो अधिवेशनका लागि जिल्ला जिल्लाबाट प्रतिनिधि छनौटको रौनक सुरु भएको छ । गण्डकी प्रदेशको एमालेको यही असोज १५ र १६ गते हुने पहिलो गण्डकी प्रदेश प्रथम अधिवेशनको तयारी गरिएको छ ।
सोही क्रममा लमजुङबाट सो दलका केन्द्रीय सदस्य रहनु भएका मायानाथ अधिकारीले प्रदेश प्रतिनिधिका लागि जिल्लामा उम्मेदवारी दर्ता गराउनु भएसँगै सो दलमा सरगर्मी बढेको हो । केन्द्रीय सदस्यको प्रतिनिधिमा उम्मेद्वारी दर्तासँगै उहाँ गण्डकीको नेतृत्व अर्थात अध्यक्ष पदको आंकक्षीका रुपमा हेरिएको छ ।
भूमिगत  कालमा काभ्रेबाट २०४५ सालदेखि पार्टीको पदीय जिम्मेवारी (उपसचिव) लिन थाल्नु भएका अधिकारी काभ्रे र सिन्धुपाल्चोकको समेत नेतृत्व(सचिव भएर) गर्नु भयो । त्यसपछि गृह जिल्ला सरुवा हुने क्रममा ०४८ सालदेखि गण्डकीको अञ्चल सदस्य तथा लमजुङको उपसचिवको जिम्मेवारी लिने क्रममा उहाँले तीन कार्यकाल उपसचिवको जिम्मेवारी निभाउनु भयो । २०५८ सालमा पृथ्वीसुब्बा गुरुङ सो दलको केन्द्रीय सदस्य भएपछि जिल्ला सचिवको जिम्मेवारी लिन थाल्नु भएका अधिकारीले ०६५ सालसम्म सो जिम्मेवारीमा रहनु भयो । ०६७ मा राष्ट्रिय प्रतिनिधि परिषदको सदस्य बन्नु भएका उहाँ ०६९ का गण्डकी अञ्चलको संगठन विभाग प्रमुखको जिम्मेवारीमा चयन हुनु भएको हो । ०७१ को नवौं केन्द्रीय महाधिवेशनमा पूर्णकेन्द्रीय सदस्य (भुगोलबाट) चयन हुनु भएका उहाँ १० औं अधिवेशनमा पनि सोही पदमा निर्वाचित हुनु भएको हो । यो बीचमा जिल्ला इन्चार्ज, गण्डकीको सहइन्चार्ज समेतको भूमिकामा रहनु भएका अधिकारी गण्डकी प्रदेशको स्कूल विभागको संयोजक समेत हुनुहुन्छ ।
प्रदेश प्रतिनिधिका लागि उम्मेदवारी दिए पनि अधिकारी गृहजिल्लामै निर्विरोध हुन भने बाँकी छ । भोलि साँझ सम्मको समय छ, सहमति हुन्छ भन्ने विश्वास छ उहाँले यो प्रतिनिधिसँग भन्नुभयो । केन्द्रीय सदस्यले प्रदेश प्रतिनिधिका लागि किन उम्मेदवारी दिनु भएको हो ? भन्ने जिज्ञासामा पार्टी विधानले प्रदेशको अध्यक्षलाई पोलिटब्यूरो सदस्यको मान्यता दिने व्यवस्था ग¥यो । मैले कुनै पक्षको नभई सबै नेताहरूके सहमतिमा सर्वसम्मत रुपमा प्रदेशको जिम्मेवारी किन नलिने ? भन्ने सोचले प्रतिनिधिका लागि उम्मेदवारी दिएको हुँ अधिकारीले उल्लेख गर्नुभयो ।
एमालेका सहमहासचिव पृथ्वीसुब्बा गुरुङका निकट मानिनु हुने अधिकारी गण्डकीमा सोही समूहबाट अध्यक्षको उम्मेवादरी दिने बजारमा चर्चा छ । गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी प्यानलका बीचमा प्रतिस्पर्धा हुने तयारी रहेको एमालेका कार्यकर्ताहरूको बुझाई छ ।
यतिबेला लमजुङबाट एमालेको केन्द्रमा चारजनाले प्रतिनिधित्व गरी रहेको भएता पनि अन्य सहमहासचिव पृथ्वीसुब्बा गुरुङ तथा केन्द्रीय सदस्य द्वय टुका हमाल र जमिन्द्रमान घलेले भने त्यस्तो उम्मेदवारी दिनु भएको छैन ।
प्रदेश सम्मेलन प्रतिनिधीको ६५ जना प्रतिनिधिका लागि ९१ जनाको उम्मेदवारी :
नेकपा एमाले गण्डकी प्रदेश सम्मेलन प्रतिनिधीका लागि मनोनयन, ६५ जना प्रतिनिधिका लागि ९१ जनाको उम्मेदवारी परेको र दुई पालिकामा निर्विरोध भएको एमालेले जनाएको छ ।
जिल्लाका आठवटा स्थानीय तहहरूबाट प्रतिनिधित्व गर्न संगठित सदस्य सँख्याको आधारमा निश्चित संख्या निर्धारण भए पनि कतिपय पालिकाहरूमा निर्धारित संख्या भन्दा बढीको उम्मेदारी परेको हो । प्रदेश सम्मेलनमा जिल्लाबाट संगठीत सदस्य सँख्याको आधारमा प्रतिनिधीले सहभागिता जनाउन पाउने प्रावधान छ ।
आठवटै स्थानीय तहबाट खुल्ला, महिला, उत्पीडित र ४० वर्ष भन्दा कम उमेरका गरी संगठीत सदस्यताको आधारमा प्रतिनिधित्व गर्न पाउने व्यवस्था छ । स्थानीय तहबाट केही प्रतिनिधिहरू सर्वसम्मत भए पनि आकांक्षीहरू धेरै हुँदा केही प्रतिनिधीहरू छनौट निर्विरोध हुन नसकेको नेकपा एमाले लमजुङले जनाएको छ ।
प्रथम सम्मेलन प्रतिनिधिका लागि असोज ६ गते आठवटै स्थानीय तहहरूमा उम्मेदारी मनोनयन दर्ता भएको हो । जसमध्ये बेसीशहरबाट उत्पीडित समुदायको प्रतिनिधि बाहेक सबै विधामा निर्धारित संख्या भन्दा बढीको उम्मेदवारी परेको छ । बेसीशहरमा खुल्लातर्फ सात जना हुनुपर्नेमा १४ जना, महिलातर्फ चारजना हुनुपर्नेमा पाँचजना र ४० वर्ष मुनिका एकजना हुनुपर्नेमा तीन जनाको उम्मेदारी परेको एमाले लमजुङले जनाएको छ ।
जिल्लोको दोस्रो ठूलो सुन्दरवजार नगरपालिका अन्तर्गत उत्पीडित र ४० वर्ष मुनिको विधामा सर्वसम्मत प्रतिनिधी चयन भएका छन् । सो बाहेक खुल्लातर्फ चारजना हुनुपर्नेमा नौजना र महिलातर्फ दुईजना हुनुपर्नेमा चार जनाको उम्मेदारी परेको छ । जिल्लाको मध्यनेपाल नगरपालिका अन्तर्गत महिला र उत्पीडित विधामा सर्वसम्मत प्रतिनिधी चयन भएका छन् । खुल्लातर्फ चारजना हुनुपर्नेमा सात जनाको उम्मेदारी परेको छ ।
जिल्लाको राइनास नगरपालिका अन्तर्गत उत्पीडित विधामा सर्वसम्मत भएको छ । खुल्ला र महिला प्रतिनिधिमा आवश्यक भन्दा बढीको उम्मेदारी परेको छ । खुल्लातर्फ चारजना हुनुपर्नेमा ६ जना र महिलातर्फ एकजना हुनुपर्नेमा दुईजनाको उम्मेदारी परेको नेकपा एमालेका प्रेस संयोजक कृष्ण केसीले बताउनु भएको छ ।
दोर्दी गाउँपालिकामा पनि उत्पीडित विधामा सर्वसम्मत भएको छ । खुल्ला र महिलातर्फ आवश्यक भन्दा बढीको उम्मेदारी परेको छ । दोर्दीमा खुल्लातर्फ चारजना हुनु पर्नेमा पाँचजना र महिलातर्फ एकजना हुनुपर्नेमा दुईजनाको उम्मेदारी परेको छ ।
यसैबीच, क्होलासोँथार गाउँपालिका र दुधपोखरी गाउँपालिकाका सबै सर्वसम्मत प्रतिनिधि चयन भएको सो दलका प्रेस संयोजक केसीले जानकारी दिनु भएको छ । उहाँका अनुसार मस्र्याङदी गाउँपालिकामा महिला बाहेक सबै विधामा सर्वसम्मत प्रतिनिधी चयन भएका छन् । महिला प्रतिनिधी एकजना हुनुपर्नेमा तीन जनाको उम्मेदारी परेको छ ।
प्रदेश सम्मेलन प्रतिनिधीका लागि निर्धारित संख्या भन्दा धेरै आकाक्षी भएका स्थानीय तहहरूमा असोज ९ गते निर्वाचन गर्ने कार्यतालिका छ । यद्यपी त्यसअघि सबै पालिकाहरूमा सर्वसम्मत प्रतिनिधि छनौटको पहल चलिरहेको नेकपा एमाले लमजुङका सचिव सुवास पौडेलले उल्लेख गर्नुभयो ।
कहाँ कति उम्मेदवारी ?
नगरपालिकाहरू बेसीशहरमा १५ जना प्रतिनिधिका लागि २५ जना, सुन्दरबजारमा ९ जनाका लागि १६ जना, मध्यनेपालमा ७ जनाका लागि १० जना, राइनासमा ७ जनाका लागि १० जनाको उम्मेदवारी परेको छ । त्यस्तै, गाउँपालिकाहरू दोर्दीमा ७ जनाका लागि ९ जना, मस्र्याङ्दीमा ९ जनामा महिला बाहेका अरु सर्वसम्वत भएको बताइन्छ ।
त्यस्तै, उत्पीडित तर्फ जिल्लाभर १६ जना रहेकोमा सबै जना सर्वसम्वत चयन भएका छन् । महिला तर्फ १३ जना रहेकोमा ३ जना सर्वसम्वत र १६ देखि ४० बर्ष मुनिका ३ जना रहेकोमा मस्र्याङ्दी र सुन्दरबजारमा सर्वसम्वत भएको छ । बेसीशहरमा १ जनाका लागि ३ जनाको उम्मेद्वारी परेको छ । उम्मेदवारी फिर्ता लिने समय आज ८ गते बेलुका ५ बजेसम्मका लागि तोकिएको छ ।
प्रतिनिधिहरूको सर्वसम्वत छनौट नभएमा असोज ९ गते मतदान गर्ने कार्यक्रम रहेको प्रथम अधिवेशन प्रतिनिधि छनोट निर्वाचन कमिटीका संयोजक बिमल अधिकारीले बताउनु भयो । उहाँका अनुसार निर्वाचन तालिका अनुसार ६ गते मनोनयन दर्ता, ७ र ८ गते मनोनयन फिर्ता, ८ गते बेलुका उम्मेद्वार अन्तिम नामावली प्रकाशन र सहमती नभएको खण्डमा ९ गते निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।
बेसीशहरमा १५ का लागि २५ को उम्मेद्वारी ;
गण्डकी प्रदेशको प्रथम अधिवेशनको लागि बेसीशहर नगरपालिकामा १५ जनाको लागि २५ जनाको उम्मेदवारी दर्ता भएको छ । यहि असोज १५ गतेबाट शुरु हुने प्रदेश अधिवेशनमा अस्ति ६ गतेबाट प्रतिनिधि छनौटका लागि मनोनयन दर्ता गर्ने क्रम सुरु भएको हो । सोही क्रममा बेसीशहरमा यति ठूलो संख्यामा उम्मेदवारी पर्न गएको हो ।
बेसीशहर नगरपालिकामा खुल्लातर्फ ७ जना प्रतिनिधि हुनुपर्नेमा १४ जनाको मनोनयन दर्ता भएको छ । खुल्लातर्फ पार्टी अध्यक्ष कृष्णप्रसाद अधिकारी, हाल प्रदेश कमिटीका सदस्यहरू महेन्द्रलाल श्रेष्ठ, फुलबहादुर थापा, गुमानसिंह अर्याल, गोबिन्द बस्नेत, केशर खत्री, दुधप्रसाद घले रहेको निर्वाचन कमिटीका संयोजक बिमल अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार खुल्ला तर्फमा नै जनामा पार्टी जिल्ला सचिव सुभाष पौडेल, राजेन्द्र बोहरा, शिवप्रसाद जोशी, राजकुमार विष्ट, रामकुमार श्रेष्ठ, जिवराज घले र शरद बरालको मनोनयन दर्ता छ । महिलातर्फ ४ जना प्रतिनिधि रहेकोमा ५ जना पवित्रा थापाराना, बुनाकुमारी रिमाल, विष्णुमाया राना, यशोदा रिमाल र लक्ष्मीदेवी अधिकारी रहेको बताइएको छ ।
त्यस्तै, १६ देखि ४० बर्ष उमेर समुहमा १ जना प्रतिनिधि रहेकोमा गणेश पाण्डे, जुन तामाङ र प्रदिप घिमिरेको मनोनयन दर्ता छ । त्यस्तै, उत्पिडित तर्फ ३ जना सर्वसम्मत चुनिएका छन् । सर्वसम्मत चयन हुनेमा विवश बुढाथोकी, हिरालाल विश्वकर्मा र बिमला हिमाली हुनुहुन्छ ।
प्रकाशित मिति २०८० आश्विन ७, आईतवार १९:०६ गते
हजुरको प्रतिक्रिया