काठमाडौं– नेपाल राष्ट्र बैंकले गाईको चित्र अंकित चाँदीका सिक्का ल्याएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले राष्ट्रिय जनावर गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ बिक्री गर्न असोज ७ गतेदेखि थालेको हो ।
बबरमहलस्थित टक्सार महाशाखामा आयोजित संक्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले यी उक्त सिक्का सार्वजनिक गरेका छन् । महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी हबिक्री सुरु गरेको हो ।
यी चलनचल्तिका नभई मेडालियन सिक्का हुन् । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ’मेडालियन’ भनिन्छ । दसैं तिहार जस्ता चाडपर्वमा यस्तो सिक्काको माग धेरै हुन्छ ।
सर्वसाधारणबाट हुने सिक्काको मागको आधारमा यसको टकमरीलाई निरन्तरता दिइने राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ ।
गएको जेठ १९ गते बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकबाट १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिइएको थियो ।
१० ग्राम सिक्काको मूल्य एक हजार ६०० र २५ ग्राम सिक्काको चार हजार रुपैयाँ निर्धारण गरिएको छ । दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ ।
बैंकसँग मौज्दात चाँदीलाई गलाएर मेडालियन सिक्का टकमरी गरिएको टक्सार महाशाखाले जानकारी दिएको छ ।
प्रकाशित मिति २०८० आश्विन ७, आईतवार २०:१४ गते