काठमाडौं– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाद्वारा विधान कुल्चदै पाँच केन्द्रीय सदस्य मनोनीत गर्नु भएको छ । विधान विपरित सभापति देउवाले केन्द्रीय सदस्य मनोनीत गरेकोप्रति कांग्रेसमा असन्तुष्टि बढेको छ । मापदण्डविना तल्लो संगठनमा समेत चुनाव हारेका तथा विवादमा मुछिएका पात्रलाई केन्द्रीय सदस्य मनोनीत गरेको भन्दै नेताहरूले पार्टी नेतृत्वको आलोचना गरेका हुन् ।
गत महाधिवेशनमा तल्लो तहमा पराजितलाई सभापति देउवाले केन्द्रीय समितिमा मनोनीत गरेको संस्थापन इतरको दाबी छ । अर्जुनप्रसाद जोशी, भरत शाह, किरणराज शर्मा पौडेल, लक्ष्मी खतिवडा र गीता शाहीलाई केन्द्रीय सदस्य बनाएको विधिप्रति प्रश्न उठेको हो ।
नेपाली कांग्रेसको विधानको दफा ५९ मा भनिएको छ, ‘पार्टीको कुनै तहको अधिवेशनमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही अधिवेशनको अवधिमा सोभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि पदमा उम्मेदवार हुन पाउने छैन ।’
सभापति देउवाले यही असोज ४ गते जोशी, शाह, पौडेलसहित आठ जनालाई केन्द्रीय समितिमा मनोनित गर्नु भएको थियो । जोशी गण्डकी प्रदेशमा र शाह लुम्बिनीमा प्रदेशमा सभापतिमा पराजित भएका थिए । पौडेल बागलुङमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।
खतिवडा र शाही सहित १० जनालाई सभापति देउवाले २०७९ साउन ३१ मा केन्द्रीय सदस्यमा मनोनित गर्नु भएको हो । खतिवडा सुनसरी– १ को क्षेत्रीय सभापतिमा पराजित हुनुहुन्छ । शाही लुम्बिनी प्रदेश समितिको सदस्यमा पराजित व्यक्ति भएको बताइन्छ । मनोनित केन्द्रीय सदस्य बनेका जोशी गण्डकीमा, शाह लुम्बिनीको प्रदेश समितिमा र खतिवडा सुनसरी– १ को समितिमा स्वतः सदस्य हुने विधानमा व्यवस्था छ । जोशीलाई शुक्रराज शर्माले र शाहलाई अमरसिंह पुनले प्रदेश सभापतिमा हराउनु भएको हो । शर्मा र शाह र खतिवडा दुवै संस्थापन इतरका मानिनु हुन्छ ।
कांग्रेसको विधान अनुसार प्रमुख प्रतिस्पर्धी बनेर पराजित उम्मेदवार व्यक्ति उक्त समितिको स्वतः सदस्य बन्ने व्यवस्था छ । कांग्रेसको विधानको धारा ६५ अनुसार ‘पार्टीको सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुने’ उल्लेख छ ।
निकटत्तम प्रतिद्वन्द्वी स्वतः उक्त कार्यसमितिको सदस्य हुने व्यवस्थालाई सभापतिले कुल्चिएको लुम्बिनीका प्रदेश सभापति पुनले बताउनु भयो । ‘प्रदेश समितिमा मसँग सभपतिमा हारेका र प्रदेश सदस्यमा हारेकालाई केन्द्रीय सदस्य बनाइएको छ,’ लुम्बिनी प्रदेश सभापति पुनले बताउनु भयो ।
नैतिक प्रश्न :
तल्लो तहमा पराजितलाई माथिल्लो निकायको जिम्मेवारी दिँदा वरियतामा समेत विवाद हुने स्थिति उत्पन्न भएको छ । पराजितलाई माथि ल्याउँदा केन्द्रीय समिति बोलावटमा समेत फरक हुने भएको छ । प्रदेश सभापतिहरूलाई आमन्त्रित सदस्यका रुपमा बैठकमा बोलाउने गरिएको छ । जबकी उनीहरूसँगै पराजित स्वतः पूर्ण केन्द्रीय सदस्य बनेका छन् । संस्थापन इतरका नेता भन्छन् ‘प्रदेशमा हारेको व्यक्ति पूर्ण केन्द्रीय सदस्य भयो । उनलाई हराउने व्यक्ति केन्द्रीय समितिमा आमन्त्रित सदस्यका रुपमा बोलाइएको छ ।’
सभापतिमा निर्वाचित र पराजितलाई प्रदेशका कार्यक्रममा आमन्त्रित गरेको अवस्थामा सहभागी हुन नैतिकताको प्रश्न उठ्ने छ । ‘मेरो प्रदेशमा कार्यक्रम हुँदा सभापतिमा हारेको शाह र प्रदेश सदस्यमा हारेको गंगा शाहीलाई मैले नेता मान्न मिल्छ ?’ लुम्बिनी प्रदेश सभापति पुनले भन्नुभयो, ‘यस्तो स्थिति त पार्टीले मिलाउन पर्यो नि ।’ सभापति पराजित शाहलाई प्रदेश समितिमा दोस्रो वरीयतामा राखेको पुनको भनाइ छ । प्रदेश सदस्य भएकाले बैठकमा आमन्त्रण गर्ने गरेको उहाँ बताउनु हुन्छ ।
संस्थापन इतरका नेता डा. शेखर कोइरालाले २ असोजमा बोलाएको बैठकमा केही नेताले उक्त प्रसंग उठाएका थिए । त्यसको दुई दिन पछि देउवाले असोज ४ गते विधान भन्दा बाहिर गएर थप तीन जनालाई मनोनित गर्नु भएको हो ।
प्रदेश सदस्य र क्षेत्रीय सभापतिमा पराजित व्यक्तिलाई केन्द्रीय सदस्य बनाउँदा समयमै कुरा राख्न नसकेको २ असोजको संस्थापन इतरको बैठकमा चर्चा भएको थियो । तल हारेको व्यक्ति केन्द्रमा आउन सक्ने भएपछि प्रदेशमा महाधिवेशन गरेर पराजित गरेको महत्व नरहेको गण्डकीका सभापति शर्मा बताउनु हुन्छ ।
पार्टी संस्थापन पक्षले सभापति देउवाले विगतको अभ्यासका आधारमा मनोनित गरेको हुन सक्ने जनाएको छ । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले मनोनित केही केन्द्रीय सदस्यका विषयमा पार्टी बैठकमा प्रश्न उठेको बताउँछन् । ‘विगतका सभापतिहरुले पनि यस्तै अभ्यास गरेकाले त्यही परम्परा कायम राख्नुभयो होला जस्तो लाग्छ,’ प्रचार विभाग प्रमुख विश्वकर्माले भन्नुभयो, ‘बैठक समापन हुनु अघि सभापति र पदाधिकारी बैठक बसेर यो विषयको विवाद टुंगिने विश्वास छ ।’
११ जना केन्द्रीय सदस्यविरुद्ध अनुशासन उल्लंघनको उजुरी ः
यसैबीच, नेपाली कांग्रेसका अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले ११ जना केन्द्रीय सदस्य विरुद्ध अनुशासन उल्लंघनको उजुरी आएको बताएका छन् ।
केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उहाँले ११ जना केन्द्रीय सदस्यविरुद्ध अनुशासन समितिमा उजुरी आएको जानकारी असोज ७ गते गराउनु भएको हो ।
समितिले अनुशासन उल्लंघनको उजुरी गर्दा अडियो, भिडियो र लिखित प्रमाण खोज्ने गरेको जानकारी दिनुभयो । समितिले पारदर्शी तरिकाले काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
अनुशासन समितिले हाल महासमिति सदस्य चयन हुन नसकेका २५ जिल्लाका उजुरीलाई प्राथमिकतामा राखेर छानबिन गरिरहेको पनि संयोजक ढुंगानाले जानकारी दिनुभयो । उजुरीकर्ता र आरोपीलाई बोलाएर मिलाउने तथा स्पष्टीकरण लिने कार्य भइरहेको उहाँको भनाइ छ ।
अनुशासन सम्बन्धी पार्टीको विधान पनि अस्पष्ट भएकाले संशोधन गर्नुपर्ने ढुंगानाको धारणा छ । पार्टीको जिल्ला, प्रदेश र केन्द्रमा अनुशासन समिति रहने व्यवस्था विधानमा छ । तर जिल्लाको अनुशासन समितिले अनुशासन उल्लंघन गर्नेलाई कति समय निलम्बन गर्न सक्छ भन्ने व्यवस्था विधानमा उल्लेख नभएको उहाँको भनाइ छ ।
प्रकाशित मिति २०८० आश्विन ८, सोमबार ०९:१५ गते