डाक्टरमाथि हातपात गर्ने वडाध्यक्ष बस्नेत प्रहरी नियन्त्रणमा

डाक्टरमाथि हातपात गर्ने वडाध्यक्ष बस्नेत प्रहरी नियन्त्रणमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज ८ गते सोमबार ०६:१३

जाहेरी प्रशासनतर्फ आकर्षित हुने हो कि अदालत तर्फ ? भन्ने जिज्ञासामा उहाँहरूले अस्पतालको विषय उल्लेख गर्नु भएको छ त्यसैले जिल्ला अदालततर्फको हुन्छ प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताउनु भयो । बस्नेतजीको अवस्था के छ ? भन्ने थप जिज्ञासामा अहिलेसम्म उहाँ हामीसँगै हुनुहुन्छ प्रहरी नायव उपरीक्षक घलेले उल्लेख गर्नु भयो ।

विरोधमा डा.हरूद्वारा अस्पतालको सेवा ठप्प पार्ने चेतावनी

बेसीशहर– लमजुङमा ड्युटीमा रहेका डाक्टरमाथि हातपात गर्ने एक वडाध्यक्षलाई प्रहरी नियन्त्रणमा लिएको छ । लमजुङ अस्पतालका डा. सन्दीप अधिकारी उपर गए राती करिब १०ः३० बजेको समयमा बेसीशहर नगरपालिका– ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले हातपात गरेको अस्पताल प्रशासनले जनाएको छ । मापसे समेत गरेर मातेका बस्नेतलाई प्रहरीले राती नै नियन्त्रणमा लिएको असोज ८ गते खुलासा भएको हो ।
आफ्नी आमाको उपचारका लागि अस्पताल पुगेका वडाअध्यक्ष बस्नेतकी आमालाई डेंगु पुष्टि भएको थियो । अस्पतालले बिरामीलाई भर्ना गरी बेडमा पु¥याई सकेपछि भर्नाको मञ्जुरी नामामा दस्तखत गर्न नर्सहरूले अनुरोध गर्दा बस्नेतले नमाने पछि विवाद बढेको अस्पतालको भनाइ छ । विरामी भर्ना गर्ने मञ्जुरीनामा सही गर्न इन्कार गर्दै बस्नेतले नर्सहरूलाई हतोत्साहित गर्ने खालका बोली, व्यवहार देखाउन थालेछन् । नर्सहरूले गरेको अनुरोध ठीकै हो भन्दै बस्नेतलाई सम्झाउन जमर्को गरेका ड्युटीमा रहेका डाक्टर सन्दिर अधिकारीमाथि वडाअध्यक्ष बस्नेतले ‘मलाई सिकाउने तँ को ?’ भन्दै मोवाइलको झटारो हानेको प्रत्यक्षदर्शीले बताए । त्यसपछि अनियन्त्रित बनेका बस्नेतले नर्सीङ स्टाफ रुममा रहेको हाफ ठोकामा लात्ताले हान्दा त्यसको चुकुल लगाउने छेस्किन घर खुस्किएर ढोका खुलेछ । त्यसपछि सो रुम भित्र पसेका बस्नेतले डाक्टरमाथि त्यहाँ रहेको कुर्सी उचालेर टाउकोमा प्रहार गर्न लाग्दा दुई जना स्टाफले कुर्सी समाउँदै रोकेको हुँदा डा. अधिकारी घाइते हुनबाट बचेको लमजुङ अस्पतालका प्रमुख मेडिकल सुपरिटेडेन्ट(मेसु) डाक्टर विशाल तिवारीले बताउनु भयो । मेसु तिवारीका अनुसार अस्पतालमा बिरामी भर्ना गर्दा आफन्त वा बिरामीले मञ्जुरी नामा गर्नुपर्ने प्रावधान छ । यस प्रकारको नियम सबै अस्पतालमा हुन्छ ।
डाक्टरमाथि हातपात भएको विरोधमा डाक्टरहरूले आज ८ गते दिउँसो इमरजेन्सी सेवा बाहेका सेवा समेत केही समय बन्द गरेका थिए ।
यस विषयमा प्रजिअ रामकृष्ण अधिकारीको पहलमा जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बसेर छलफल भएको थियो । वडाध्यक्ष पक्षका नेताहरूले माफी माग्न लगाएर मिलापत्र गर्न पटक पटक दबाब दिए । तर डा.को टिमले दोस्रो पटक भएको हुँदा माफी दिन नसक्ने अडान जारी राखे पछि वार्ता निस्कर्ष विहीन भएको अस्पताल सञ्चालक समितिका सदस्य एवम् पत्रकार वासु थापाले बताउनु भयो । उहाँका अनुसार बस्नेत विरुद्ध डाक्टरसहितको ड्युटीमा रहेको टिमले जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएपछि बस्नेतलाई प्रहरीले विहानैदेखि नियन्त्रणमा लिएको छ ।
यसबारेमा लमजुङ अस्पतालमा सम्पर्क गर्दा आफ्नो घर परिवार तथा शहरको सुविधा छाडेर दुर्गम ठाउँमा सेवा गर्न आएका डाक्टर माथि यस्तो व्यवहार गरिनु त्यो पनि जनप्रतिनिधि जस्तो व्यक्तिले सुहाउने विषय भएन लमजुङ अस्पतालका प्रमुख मेसु डाक्टर विशाल तिवारीले बताए । उनका अनुसार बस्नेतबाट यस्तो घट्ना यही अस्पतालमा तीन महिनाका बीचमा दोस्रो पटक भएको रहेछ गत साउनमा बस्नेतले तत्कालीन मेसु रमेश आचार्यलाई विरामी कुरुवाका लागि सुत्ने ठाउँको व्यवस्था किन नगरेको भन्दै निहुँ खोज्दै हातपातको प्रयास गरेका रहेछन् । त्यतिबेला उनी जनप्रतिनिधि भएका कारणले किन बेइजत गर्ने भन्दै आन्तरिक रुपमा सहमति गरिएको अस्पताल प्रशासनले जनाएको छ । त्यसैले पनि बस्नेतलाई यस पटक कानुनी कारवाही हुनुपर्छ भन्ने हाम्रो माग र आडन छ मेसु तिवारी बताउनु हुन्छ ।
यसबारेमा सो अस्पतालको सञ्चालक समितिमा सम्पर्क गर्दा यो टिमलाई अस्पताल सरकारी भएको मन परेको छैन, त्यसैले ऊ सुनियोजित तरिकाले अस्पतालको बदनाम गर्न आएको पनि हुन सक्छ, बस्नेतबाट यस्तो घट्ना भएको यो दोस्रो पटक भएको हुँदा यसपटक क्षमा दिन सकिदैन सो समितिका अध्यक्ष हरिजङ्ग तामाङले बताउनु भयो । उहाँका अनुसार कानुनी व्यवस्था अनुसार कारवाहीको प्र्रकृया अघि बढाउनु पर्छ भन्ने हाम्रो सोच छ ।
लमजुङ अस्पताल जिल्ला अस्पताल हुँदा विगतका २२ वर्षसम्म एक अन्तराष्ट्रिय गैससले मिसन अस्पतालको रुपमा चलाएको थियो । गत वर्षको कार्तिकमा प्रदेश सरकार सो अस्पताललाई आफ्नो मातहतमा ल्याएको हो । सो अस्पताल सरकार मातहत ल्याउने कार्यको संघीय संसदमा प्रमुख विपक्षी दल एमालेको जिल्ला नेतृत्वलाई चित्त बुझेको थिएन । बस्नेत एमालेबाट विजयी वडाध्यक्ष हुन् ।
यसबारेमा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्दा प्रहरीकोमा जान्छौ भनेर डाक्टरको टिम म कहाँबाट निस्केको हो, पछि के भयो ? बुझ्न बाँकी छ प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताउनु भयो । कसरी अघि बढ्ने संकेत पाउनु भएको छ ? भन्ने जिज्ञासामा उहाँहरूले कानुनी अनुसार अघि बढ्छौं भनेमा हामीले केही भन्न मिलेन, प्रहरीमा जान्छौं भन्नुको अर्थ जाहेरी दिने होला उहाँले भन्नुभयो ।
यसैगरी, जिल्ला प्रहरी कार्यालय लमजुङमा सम्पर्क गर्दा कानुनी रुपमा अघि बढेको छ र सेवा सुचारु भएको अवस्था छ, स्थिति समान्य छ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताउनु भयो । जाहेरी प्रशासनतर्फ आकर्षित हुने हो कि अदालत तर्फ ? भन्ने जिज्ञासामा उहाँहरूले अस्पतालको विषय उल्लेख गर्नु भएको छ त्यसैले जिल्ला अदालततर्फको हुन्छ प्रहरी नायव उपरीक्षक घलेले जानकारी दिनु भयो । बस्नेतजीको अवस्था के छ ? भन्ने थप जिज्ञासामा अहिलेसम्म उहाँ हामीसँगै हुनुहुन्छ प्रहरी नायव उपरीक्षक घलेले उल्लेख गर्नु भयो ।

प्रकाशित मिति २०८० आश्विन ८, सोमबार १८:१३ गते
हजुरको प्रतिक्रिया