बेसीशहर– प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जिल्लामा चाडबाड लक्षित बजार व्यवस्थालाई चुस्त बनाउने बताउनु भएको छ । उहाँले जिल्ला प्रशासन कार्यालयका आयोजित एक कार्यक्रममा कृतिम अभाव र मूल्यबृद्धि तथा कालोबजारी हुन नदिने प्रतिवद्धता सारोकारवालाहरूका बीचमा असोज ८ गते व्यक्त गर्नु भएको हो ।
गृहमन्त्रालयले दिएको निर्देशन अनुसार उहाँले सो कार्य गरेको उल्लेख गर्नुभयो । उहाँले बजार अनुगमनलाई व्यवस्थित बनाउने तीनै तहका सरकारको जिम्मेवारी र कर्तव्य भएको बताउँदै स्थानीय तहले यो कार्य गर्नु भएकै होला, त्यसको प्रतिवेदनको प्रतिलिपी प्रशासनमा पठाएर सहयोग गर्न आग्रह गर्नु भयो । उहाँले जिल्लामा माग र आपूर्तिको अवस्था के कस्तो छ भन्ने तथ्यांक तयार गर्न पर्यटन तथा घरेलु कार्यालयलाई निर्देशन दिदै सो कार्यमा सहयोग गर्न लउवा संघ र स्थानीय तहका कार्यालयका प्रतिनिधिहरूलाई अनुरोध गर्नुभयो ।
सो अवसरमा सहभागी पत्रकारहरू तथा सरोकारवालाहरूले बजार अनुगमन कार्य जहिले पनि पहिलो हुने र माफी हुने स्थितिको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए ।
सो अवसरमा गरिएका निर्णयहरू जस्ताको तस्तै :
१) बजारमा अत्यावश्यक उपभोग्य वस्तुहरूको आपूर्ति र विक्री वितरणलाई सहज बनाई राख्न सरोकारवालासँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउने । साथै कृतिम अभाव, कालोबजारी, अस्वभाविक मूल्यबृद्धि जस्ता कार्य हुन नदिन नियामक निकाय र स्थानीय तहसँगको समन्वयमा प्रभावकारी रूपमा बजार अनुगमन गर्ने । सबै उद्योगी/व्यापारीहरूलाई अनिवार्य उपभोक्ता मूल्यसूची राख्न लगाउने । सो बमोजिमको कार्यको सम्बन्धित स्थानीय तहहरूले अनुमगन गर्ने ।
२) सबै स्थानीय तह र सरोकारवालाहरूको समन्वयमा जिल्लाका विभिन्न स्थानमा हुन सक्ने अवैध मदिरा उत्पादन तथा विक्री वितरण रोक्ने ।
३) सुरक्षा निकाय एवं प्रत्येक स्थानीय तहले चाडपर्वको समयमा पटका, आतिशवाजी लगायतका विष्फोटक पदार्थ तथा नियन्त्रित र निषेधित वस्तुहरूको अवैध आयात, ओसारपसार र विक्री वितरण तथा प्रयोगलाई नियन्त्रण गर्न थप अनुगमन र चेकजाँच कार्य गर्ने गराउने ।
४) प्रत्येक स्थानीय तहले अत्यावश्यक वस्तुको माग अनुमान सहितको विवरण ७ (सात) दिन भित्र पर्यटन तथा उद्योग कार्यालयमा पठाउने ।
५) लमजुङ उद्योग बाणिज्य संघले अत्यावश्यक वस्तुको सञ्चिति तथा भण्डारण र वैकल्पिक आपूर्तिको उपाय सहितको विवरण ७ (सात) दिन भित्र पर्यटन तथा उद्योग कार्यालयमा पठाउने ।
६) उल्लेखित अनुसार स्थानीय तह र लमजुङ उद्योग बाणिज्य संघबाट प्राप्त हुन आएको अत्यावश्यक वस्तुको माग अनुमान सञ्चिति तथा भण्डारण र वैकल्पिक आपूर्तिको उपाय सहितको कार्ययोजना ३ (तीन) दिनभित्र पर्यटन तथा उद्योग कार्यालयले जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने ।
उक्त कार्यक्रमको सञ्चालन सहायक प्रजिअ जगदिन मिश्रले गर्नु भएको थियो ।
प्रकाशित मिति २०८० आश्विन ८, सोमबार २२:३२ गते