साउदी पुगेको साता दिनमै संसारबाट विदा भएर जो काठको बाकसमा फर्किए

साउदी पुगेको साता दिनमै संसारबाट विदा भएर जो काठको बाकसमा फर्किए

एजेन्सी

@antaranganews

२०८० असोज ९ गते मङ्गलबार ०६:०९

गत आर्थिक वर्ष २०७९/८० मा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख ७१ हजार ३२७ जना रहेकोमा १ हजार २०५ जनाको मृत्यु भएको थियो । आव २०६५–६६ देखि २०७९–८० सम्मको १५ वर्षमा १२ हजार १८९ जनाले ज्यान गुमाएका छन् ।

कोरोनाको बुस्टर डोज लगाएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको र उपचारकै क्रममा उनको निधन भएको हो ।

झापा– सुन्दर भविष्यको सपना बुनेर साउदी आएको एक सातामै झापा हल्दिबारी गाउँपालिका– १ निवासी टीकाराम रिमालको निधन भएको छ । १९ दिनमै सबै प्रक्रिया पुरा गरी शव नेपाल ल्याएर असोज ६ गते उनको अन्तिम संस्कार गरियो ।
यतिबेला उनको निधनपछि परिवारमा बज्रपात परेको छ । उनको परिवारले अहिले गायक प्रकाश सपूतको ‘बोल माया’ गीतको हरफ जबर्जस्ती स्वीकार्नु परिरहेको छ । बोलमाया गीतमा भनिएको छ, ‘धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकाशमा, कस्तो भई गयौ कस्तो भई आयौ काठको बाकसमा …. ।’
अनेक सपना बोकेर दिनहुँ सयौं नेपाली बिदेसिने गरेका छन् । कतिको सपना आंशिक वा पूर्णरूपमा पूरा पनि हुन्छ । तर, कतिका सपना रातो बाकसमै बन्द भएर फिर्ता हुन्छन् । टीकाराम भने रातो बाकसमा फर्किन बाध्य भए । हल्दिबारी गाउँपालिका– १ का ओमनाथ रिमालका छोरा टीकारामको निधनसँगै उनको सपना समेत विलाएका छन् ।
न्यु अल्फा एचआर सर्भिसेज प्रालि म्यानपावरमार्फत साउदी अरेबियाको मिराके गेटवे कफी लिमिटेड कम्पनीमा वेटरको काम गर्न आएका उनी पुगेलगत्तै बिरामी परेका थिए ।
कोरोनाको बुस्टर डोज लगाएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको र उपचारकै क्रममा उनको निधन भएको हो ।
झापाली समाज साउदीका अध्यक्ष राजेन्द्र थापाले रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीलाई उनको निधन भएको जानकारी गराएपछि सम्बन्धित कम्पनीलाई जानकारी गराइएको थियो ।
विदेशबाट आएका शवको वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पुर्याउने काम गर्दै आएको छ । शवसँगै आएका अस्तु भने सम्बन्धित मृतकका आफन्तले विमानस्थलसम्म आएर लिनुपर्ने व्यवस्था गरिएको छ ।
युवाले विदेशमा कमाएर पठाएको विप्रेषणले देशको झन्डै एकतिहाइ अर्थतन्त्र धानेको भन्दै नेपाल सरकारले गर्वसाथ तथ्य सार्वजनिक गर्दै आएको छ । तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृत्यु भएर बन्द बाकसमा फर्किंदा देश, समाज, उनीहरूका आफन्तमा भएको क्षतिमा कहिले हुन्छ मूल्यांकन ?
स्मरणीय छ, गत आर्थिक वर्ष २०७९/८० मा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख ७१ हजार ३२७ जना रहेकोमा १ हजार २०५ जनाको मृत्यु भएको थियो । आव २०६५–६६ देखि २०७९–८० सम्मको १५ वर्षमा १२ हजार १८९ जनाले ज्यान गुमाएका छन् ।
खाडी मुलुकमध्ये पनि गत आव २०७९/८० मा साउदी अरेबियामा मात्रै ३४६ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाएको छ । सोही आवमा मलेसियामा २८२ जना, कतारमा २२१ जना, यूएईमा १८७ र कुवेतमा ६८ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति २०८० आश्विन ९, मंगलवार ०६:०९ गते
हजुरको प्रतिक्रिया