बेसीशहर– लमजुङमा कविवर डिल्लीजङ स्मृति पुरस्कारका लागि अक्षयकोष स्थापनाको तयारी तिब्र पारिएको छ । सो पुरस्कार कोषको आउँदो कार्तिक १४ गते डिल्लीजङ गुरुङको ११९ औं जन्मजयन्तीका अवसरमा घोषणा गर्ने तयारी चलिरहेको छ ।
कविवर डिल्लीजङ गुरुङले लमजुङ जस्तो दुर्गम जिल्लामा रहेर नेपाली भाषा, साहित्यको श्रीबृद्धि गर्ने कार्यमा अतुलनीय योगदान गरिआउनु भएको छ । उहाँका १८ वटा कृतिहरू(डिल्लीजङ समुच्चयन भाग– १ र २ समेत) प्रकाशित भइसकेको छन् भने ५/६ वटा अझै पनि पाण्डुलिपिका रुपमा रहेको उहाँको परिवार स्रोतले बताएको छ । यस्ता कविवरको व्यक्तित्व तथा कीर्तित्वका बारेमा समाजमा जे जति चर्चा परिचर्चा हुनु पर्ने हो त्यस्तो हुन नसक्नु दुःखद पक्ष रहिआएको छ ।
यस्तो स्थितिलाई चिर्नका लागि ठाडोभाका लोककला प्रतिष्ठानले आफ्नो स्थापना कालदेखि नै सक्दो प्रयास गरिआएको छ । त्यसैले कविवरको संझना तथा योगदानलाई चिरस्थायी बनाउनका लागि कविवरका नाउँमा एक स्मृति पुरस्कारको स्थापना गर्ने सोच, प्रयास र योजना प्रतिष्ठानकोतर्फबाट विगत केही वर्षदेखि गरि आएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार सोही सन्दर्भमा प्रतिष्ठानको हालै सम्पन्न बैठकले कविवरको स्मृतिमा पुरस्कारको स्थापना गर्ने र त्यसको स्थायित्वका लागि अक्षयकोषको प्रवन्ध गर्ने, उक्त कोषमा प्रतिष्ठानकोतर्फबाट ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको छ । उहाँले भन्नुभयो, ‘उक्त अक्षयकोष कम्तिमा पाँच लाख रुपैयाँको बनाउने लक्ष्य छ । त्यसका लागि कोषमा रकम थप गर्न कविवरका परिवारजन, नातेदारतथा शुभचिन्तकहरूलाई समेत अनुरोध गर्ने निर्णय गरिएको छ ।’
संकलित उक्त कोषको रकम यस प्रतिष्ठानका नाउँमा राख्ने तर त्यसको बैंक खाता सञ्चालन गर्दा कविवरको परिवारको प्रतिनिधि एक जना र प्रतिष्ठानको प्रतिनिधि एक जना गरी दुई जनाको अनिवार्य दस्तखतमा मात्र व्याज रकम झिक्न पाउने प्रवन्ध गरिने छ पहाडीले बताउनु भयो । उहाँका अनुसार त्यो अक्षयकोष रकमबाट प्राप्त हुने व्याज रकमबाट कविवरका नाउँमा स्थापना गरिने पुरस्कार राष्ट्रिय रुपमा नेपाली भाषा, साहित्य तथा कलाका क्षेत्रमा ख्याति प्राप्त एक जना व्यक्तित्वलाई हरेक वर्ष कविवरको जन्मजयन्तीमा खुला राष्ट्रव्यापी कविता प्रतियोगिताका साथ प्रदान गर्ने प्रवन्ध आउँदो वर्षदेखि यस प्रतिष्ठानले जनाएको छ ।
सो पुरस्कार र कोषको रकम आउँदो कार्तिक १४ गते कविवरको जन्मस्थल, मर्स्याङदी गाउँपालिका– २ घनपोखरा गाउँमा खुला राष्ट्रव्यापी कविता प्रतियोगिताको पुरस्कार वितरण, कविवरको अर्धकदको शालिक अनावरण, पुरस्कार र अक्षयकोषको घोषणा तथा कविवरका बारेमा कवि मेदिदी सुवेदीद्वारा लिखित कृृतिको विमोचन समेतका कार्यक्रम गरिने तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।
प्रकाशित मिति २०८० आश्विन ९, मंगलवार ०९:०० गते