बेसीशहर– लमजुङ समाज युएईले मानवसेवा आश्रमको भवन निर्माणका लागि १ लाख ६० हजार रुपैयाँ सहयोग गरेको छ । मानवसेवा आश्रम भवन निर्माण समितिलाई एक कार्यक्रमका बीच उक्त रकम असोज ८ गते हस्तान्तरण गरिएको हो ।
लमजुङ समाज युएई लमजुङ घर भइ रोजगारी तथा विभिन्न सिलसिलामा युएईमा रहनुभएका लमजुङेद्वारा गठित समिति हो । सो रकम लमजुङ समाज युएई संस्थागत सहित १८ जना व्यक्तिबाट संकलन भएको हो । संविधान सभा सदस्य जमिन्द्रमान घले, लमजुङ समाज युएईका अध्यक्ष शिवजंग गुरुङ, उपाध्यक्ष नरेश रिमाल साथै लमजुङ समाज युएईका पदाधिकारीका जिल्लास्थित परिवारका तथा सदस्यले भवन निर्माण समितिका अध्यक्ष मोहनबहादुर थापा, आश्रमका संयोजक अनिता अधिकारीलगायतलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
रकम हस्तान्तरण पछि संविधान सभा सदस्य जमिन्द्रमान घलेले मानवीय सेवामा समर्पित मानवसेवा आश्रमको भवन निर्माणमा सवैले सहयोग गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आश्रम निर्माणका लागि आफ्नै नेतृत्वमा महायज्ञको समेत आयोजना गरिएको र मानवीय सेवाको भावना लिएर मानवसेवा आश्रमसंग लमजुङ साथै लमजुङ बाहिरका धेरै शुभचिन्तकहरू जोडिएको स्मरण गर्नुभयो ।
लमजुङ समाज युएईका अध्यक्ष शिवजंग गुरुङले मानवसेवा आश्रमको भवन निर्माणका लागि सहयोग नभई कर्तव्यमात्रै निभाएको बताउनुभयो । यसअघि गणेश पाण्डेबाट निर्देशित ‘भाग्यले बाँचेकाहरु’ बृत्तचित्र प्रदर्शन गरेर मानवसेवा आश्रमलाई सहयोग गरेको बताउनु भयो । उहाँले लमजुङ साथै युएईमा रहनुभइ आपतविपदमा परेका, असाहय, आर्थिक अवस्थाले नाजुक भएर उपचार लिन नपाएका, भूकम्प, बाढीपहिरोलगायत विपद्बाट पीडित तथा उनका परिवारलाई सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
सो अवसरमा क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, जिल्ला समन्वय समितिका उपप्रमुख बुनाकुमारी रिमाल, प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डेलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
मानवसेवा आश्रमलाई लमजुङ समाज युएईले ‘भाग्यले बाँचेकाहरू’ बृत्तचित्र प्रदर्शन गरेर १ लाख १ हजार १ सय १ रुपैयाँ सहयोग गरेको थियो । लमजुङ समाज युएईले परदेशको ठाउँमा अकालमा ज्यान गुमाउनु परेकाहरू, बिरामी तथा अलपत्र परेका लमजुङे तथा अन्यका लागि पनि नेपालमा उहाँहरूको आफन्तजन परिवार, नेपाली राजदुतावास अबुधाबी, युएई र यहाँका सम्बन्धित पक्ष सबैसंग समन्वय गरेर धेरै महत्वपूर्ण कार्यहरू गरिरहेको छ ।
मानवसेवा आश्रम भवन निर्माण समितिका अध्यक्ष मोहनबहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सोही आश्रम बेंसीशहर शाखाका संयोजक अनिता अधिकारीले गर्नुभएको थियो । मानवसेवा आश्रममा हाल २९ जना लक्ष्मीनारायणले आश्रय लिइरहनुभएको छ ।
सोही कार्यक्रमका अवसरमा लमजुङ समाज युएईबाट मानवसेवा आश्रम बेसीशहर, लमजुङलाई भवन निर्माणका लागि संकलित रकम हस्तान्तरण कार्यक्रममा वितरित प्रेस विज्ञप्तिको पूर्णपाठ :
सन् २००४ मा भीम गुरुङ (सविनय), कमलराज गुरुङ, धनबहादुर गुरुङ, डिल्लीजङ गुरुङ लगायत अन्य जोशिला लमजुङे युवाहरूको सक्रियतामा लमजुङ सम्पर्क समिति युएईको नाममा स्थापित भएको र सन् २०१४ मा पुनर्जागरणमा आएको, युएईमा रहनुभएका समस्त लमजुङेहरूको एकमात्र संस्था नै आजको लमजुङ समाज युएई हो ।
स्थापनाकाल सन् २००४ देखि अलिक सुषुप्त अवस्थामा रहेको लमजुङ सम्पर्क समितिले सन् २०१४ को द्वितीय अधिवेशनमा राजु घलेको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएपछि समाजले पुनः गति लिन थाल्यो । त्यसपछिको तेस्रो अधिवेशनमा महेश पराजुलीको नेतृत्वमा समाजले अर्को उचाई हासिल गर्यो । चौथो अधिवेशनमा समाजको स्थापनाकालको नाम ‘लमजुङ सम्पर्क समिति युएई’लाई आधिकारिक रुपमै परिवर्तन गर्दै ‘लमजुङ समाज युएई’ नामकरण गरियो । र, पुनः महेश पराजुलीलाई नै अध्यक्षको जिम्मेवारी प्रदान गर्यौं । पाँचौं अधिवेशनले लमजुङ समाज युएईको अध्यक्षमा बाबुराम सापकोटालाई सर्वसम्मत रुपमा निर्वाचित ग¥यो । छैटौं अधिवेशनले २०२३–२०२५ कार्यकालका लागि शिव कमिरजङ गुरुङलाई अध्यक्षका रुपमा सर्वसम्मत निर्वाचित गरेको छ ।
सन् २०१४ मा ‘लमजुङ समाज युएई’ पुनर्जागरण आए यता फगत समाजकै रुपमा मात्र रहेन । हाम्रो संस्था युएईमा रहेका लमजुङेसंगै लमजुङ जिल्ला र अन्य सबै नेपालीको सुख दुःखको साथी बनेको छ । नैतिक, भौतिक र आर्थिक रुपमा सहयोगका साथै युएईका सामाजिक एवं अन्य कार्यहरुमा पनि दरिलो सहभागिता जनाउँदै आएको छ । लमजुङ समाज युएईले ‘लमजुङ एफसी’ को नाममा आफ्नै फुटबल क्लब समेत स्थापना गरेको छ । स्थापना भएको बर्षमै लमजुङ एफसीले युएईको प्रतिष्ठित ‘रमादान कप– २०१९’ जितेको थियो । हाल युएईका स्थानीय फुटबल प्रतियोगिताहरूमा लमजुङ एफसीको दरिलो सहभागिता र दबदबा छ साथै विभिन्न प्रतियोगिताहरू समेत जित्दै आएको छ ।
संगसंगै समाजले नेपालीहरूको दशैं, तिहार, ल्होसार, तीज लगायतका महान चाडपर्वहरूलाई बडो धुमधाम साथ मनाउँदै आएका छ । चाडबाडका बेला परदेशीलाई हुने न्यास्रोपनालाई केहि हदसम्म भने पनि मेट्न सहयोग पुगेको छ । एक हिसाबले भन्ने हो भने एउटा गर्विलो इतिहास बोकेर लमजुङ समाज युएई द्रुतगतिमा अघि बढ्दैछ । दुःख र आपतमा परेका लमजुङे र अन्य नेपालीको सहयोग र उद्दारमा एउटा महत्वपूर्ण अंग बन्ने दिशामा समाज हिँड्दैछ । पछिल्लो १० वर्षको अवधिमा लमजुङ समाज युएईले युएई र जन्मभूमि र कर्ममूभिमा आर्थिक रुपमा कमजोर विपन्न बर्गका दुःखी पीडित, दीर्घविरामीहरूलाई जनप्रतिनिधि, सरकारी निकायका प्रमुख तथा प्रतिनिधिलगायत विभिन्न व्यक्तित्वहरूको प्रत्यक्ष रोहबरमा आर्थिक सहयोग गरेको छ ।
यसै क्रममा आज हामीले लमजुङ समाज युएईको तर्फबाट मानवसेवा आश्रमको भवन निर्माणका लागि सहयोग गरेका छौं । लमजुङ र नेपालका विभिन्न जिल्लामा घर भइ हाल विभिन्न सिलसिलामा युएईमा रहनुहुने व्यक्तित्वसंग सहयोगका लागि अपिल गर्दा निम्न महानुभावहरूबाट केही रकम संकलन गरेका छौं । यो रकम आज हामी संविधान सभा सदस्य जमीन्द्रमान घलेमार्फत मानवसेवा आश्रम लमजुङ शाखालाई हस्तान्तरण गर्दैछौं ।
रकम सहयोग गर्ने महानुभावहरू :
लमजुङ सभा युएई– ३०० दिराम, महेश पराजुली– पूर्वअध्यक्ष/संरक्षक– ५०० दिराम ।
यसैगरी, ४०० दिराम प्रदान गर्नुहुनेमा मुक्तिप्रसाद गुरुङ– संरक्षक, टकबहादुर गुरुङ– प्रवासी नेपाली मञ्च युएई अध्यक्ष, बाबुराम सापकोटा–निवर्तमान अध्यक्ष र विष्णुलाल श्रेष्ठ–सल्लाहकार प्रमुख/एनआरएन युएई उपाध्यक्ष हुनुहुन्छ ।
त्यस्तै, २०० दिराम सहयोग गर्नु हुनेहरूमा ; नन्दजंग गुरुङ–तमू समाज युएई अध्यक्ष, सविन पाण्डे– उपाध्यक्ष, लमजुङ समाज युएई, आइत गुरुङ– कार्यबाहक अध्यक्ष, लमजुङ समाज युएई, रिना÷नरबहादुर तामाङ– कोषाध्यक्ष–सदस्य, लमजुङ समाज युएई, रवि कुँवर क्षेत्री–सविच, लमजुङ समाज युएई र दुर्गा÷राजेश गुरुङ– सदस्य, लमजुङ समाज युएई हुनुहुन्छ ।
दिराम १५० का दरले सहयोग गर्नु हुनेहरूमा : मुनिन्द्र गुरुङ– तमू समाज युएई उपाध्यक्ष, नरेश रिमाल– उपाध्यक्ष, लमजुङ समाज युएई, सृजना गुरुङ– महिला उपाध्यक्ष, लमजुङ समाज युएई र टंक रिमाल– सदस्य हुनुहुन्छ ।
राजु घले–संरक्षक, लमजुङ समाज युएई १०० दिराम प्रदान गर्नु भएको छ भने राजेश श्रेष्ठ– कास्की आदर्श सेवा समाजको निवर्तमान अध्यक्ष र कृष्ण वाग्ले– नवलपुरले ५०/५० दिराम प्रदान गर्नु भएको छ भने चेत गुरुङ– सदस्य १० हजार रुपैयाँ प्रदान गर्नुभएको छ । यसप्रकार सो रकम कुल एक लाख ६० हजार रुपैयाँ भएको हो भनिएको छ ।
लमजुङ समाज युएईका अध्यक्ष शिव कमिरजङ गुरुङले जारी गर्नु भएको सो विज्ञप्तिमा हालसम्म के के काममा सहयोग गरियो भन्ने समेत दिएको छ । विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘समाजले परदेशको ठाउँमा अकालमा ज्यान गुमाउनु परेकाहरु, बिरामी तथा अलपत्र परेका लमजुङे तथा अन्यका लागि पनि नेपालमा वहाहरुको आफन्तजन परिवार, नेपाली राजदुतावास अबुधाबी, युएई र यहाँका सम्बन्धित पक्ष सबैसंग समन्वय गरेर धेरै महत्वपूर्ण कार्यहरु गरेको छ, गरिरहनेछ । यति मात्र नभएर लमजुङ समाज युएई परदेशमा विभिन्न नाममा अस्तित्वमा रहेका लमजुङेहरुको समाज, संस्थाहरुलाई एकीकृत गर्दै एउटा बृहत्तर अन्तराष्ट्रिय सञ्जाल बनाउने दिशामा समेत अघि बढ्दैछ । जसले संसारभर छरिएर बसेका लमजुङेहरुलाई एउटै मातृसंस्थाको छानामुनी आबद्ध गर्न सकोस् । आउनुस लमजुङ समाज युएईलाई थप उचाईमा पु¥याउन हातेमालो गरौं ।’
प्रकाशित मिति २०८० आश्विन ९, मंगलवार १५:१४ गते