
काठमाडौं– नेकपा (एमाले) वाग्मती प्रदेशले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई ‘न मास न क्याडर्स पाटी’ भन्ने उल्लेख गरेको छ । राजनीतिक र वैचारिक दृष्टिकोण विहीन, द्विविधाग्रस्त सांगठनिक चिन्तन भएको पार्टीका रुपमा एमालेले असोज ९ गते चित्रण गरेको हो ।
अध्यक्ष केशवराज पाण्डेको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिक र वैचारिक दृष्टिकोण विहीन, द्विविधाग्रस्त सांगठनिक चिन्तन (न मास पार्टी न क्याडर्स पार्टी), अर्थ राजनीतिक दृष्टिकोणमा अस्पष्ट हुँदाहुँदै उदारवादी पूँजीवादलाई आर्थिक नीतिको रूपमा स्वीकार गर्छ ।’
मूलधारको पार्टीका विरूद्धमा गलत अभियान चलाउने, जनमतलाई स्थापित पार्टीको विरूद्ध भड्काएर आफूतिर आकर्षण गर्न प्रयत्न गर्ने पनि प्रतिवेदनमा उल्लेख छ । रास्वपा तत्कालीन लाभको लागि उत्तेजक कार्ड फ्याक्ने पार्टी भएको उसको निष्कर्ष छ ।
प्रतिवेदन भन्छ, ‘राष्ट्रियता र परराष्ट्र नीतिमा अस्पष्टता, तत्कालीन लाभको लागि उत्तेजक कार्ड फ्याक्ने, स्थापित मूलधारको पार्टी र तिनीहरूको विरूद्धमा गलत अभियान चलाउने, जनमतलाई स्थापित पार्टीको विरूद्ध भड्काएर आफूतिर आकर्षण गर्न प्रयत्न गर्ने, असम्भव विषयमा राजनीतिक जनमत बनाउन र समस्याको उठानमा सफल तर समाधानको विकल्प दिन नसक्ने शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी देखापरेको छ ।’
अध्यक्ष पाण्डेले पेस गर्नु भएको राजनीति तथा साँगठनिक प्रतिवेदन माथि समूहगत रुपमा छलफल गरिएको थियो ।
नेतृत्व चयनमा सहमति कठिन : चुनावको सम्भावना बढ्यो :
एमाले वाग्मती प्रदेशको नेतृत्व चयनका लागि निर्वाचन हुने निश्चितजस्तै भएको छ । एमालको निर्वाचन आयोगका अनुसार आज १० गतेबाट निर्वाचन प्रक्रिया सुरु हुने छ ।
त्यसो त नेताहरूले भने वाग्मती अधिवेशन सर्वसम्मत टुंगिने सम्भावना अझै रहेको दाबी गर्न छाडेका छैनन् । एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य सहमतिका लागि अझै पहल गरिने बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘प्रतिनिधिहरूको भावना पनि हेर्छाैं, चुनाव नै हुनुहुँदैन भन्ने पक्षमा हामी छैनौँ ।’
आज उमेदवारी दर्ता हुने छ र भोलि निर्वाचन हुने तयारी रहेको वाग्मतीको निर्वाचनमण्डलका सदस्यसमेत रहेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताउनु भयो । उहाँका अनुसार भोलि बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने छ । अन्तिम नामावली ९ बजे प्रकाशित हुने तालिका छ । बिहान ९ बजेदेखि ११ बजेसम्म उमेदवारी दर्ता हुने छ ।
एमालेको वाग्मती नेतृत्वका लागि केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल र कृष्ण दाहाल मुख्य प्रतिष्पर्धीका रूपमा देखिनु भएको छ । त्यस्तै, नेता कृष्णभक्त पोखरेल, वाग्मतीका अध्यक्ष केशवराज पाण्डे, वाग्मतीका पूर्वसभामुख सानु श्रेष्ठले पनि आकांक्षा रहनु भएको बताइन्छ । तर, चुनाव नै हुँदा केन्द्रीय सदस्य दुईजना मात्रै मैदानमा हुने नेताहरूको दाबी छ ।
अध्यक्ष केपी ओलीले अधिवेशनको उद्घाटन गर्दै चुनावमा प्यानल बनाए उमेदवारी खारेज हुने चेतावनी दिनु भएको थियो । अध्यक्ष केपीको त्यो भनाईले पनि चुनाव हुन नरोक्ने संकेत गरेको कार्यकर्ताको बुझाइ रहेको छ ।
देश संघीयतामा गएपछि भइरहेको प्रथम अधिवेशन नेतृत्व छान्न चुनावतिर अघि बढेको हो ।
चुनावमा विद्युतीय भोटिङ मेसिन(राम लक्ष्मण) प्रयोग गर्ने तयारी :
आजै अपराह्न ४ बजे उमेवारको नामावली प्रकाशन हुने, ५ बजे अन्तिम नामावली प्रकाशन गरिने छ । भोलि बिहान ११ बजे मतदान हुने तालिका प्रकाशन भएको छ ।
वाग्मती एमालेको अध्यक्ष दाबी गरिरहेका केन्द्रीय सदस्य कैलाश ढुंगेलले सहमति हुने सम्भावना न्यून रहेको बताउनु भयो । उहाँ निर्वाचनको प्रचारमा निस्किसकेको प्रतिनिधिहरूसँगको भेटले समेत देखाएको छ ।
अधिवेशनको बन्दसत्र कमलादीस्थित प्रज्ञा भवनमा भएको थियो भने चुनावी प्रक्रिया पार्टी कार्यालय च्यासलमा हुने तयारी छ । चुनावमा विद्युतीय भोटिङ मेसिन(राम लक्ष्मण) प्रयोग गर्ने तयारी छ ।
प्रदेश अध्यक्षलाई पोलिट ब्युरोको मान्यता दिएको छ । सांसदहरूलाई चुनाव लड्न नदिएकाले पनि वातावरण अझै शान्त भएको स्रोतको भनाइ छ । एमालेले यसपटक जनप्रतिनिधिहरूलाई अधिवेशनमा चुनाव लड्न दिएको छैन । केन्द्रीय सदस्यहरूलाई भने चुनाव लड्न रोकेको छैन ।
अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय कमिटी चयन गर्ने छ ।
प्रकाशित मिति २०८० आश्विन १०, बुधबार ०६:१९ गते