बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहर स्थित मर्स्याङ्दी बहुमुखी क्याम्पसको प्रमुखमा फेरि हरिबाबु थापा चयन हुनुभएको छ । आज बसेको क्याम्पसको सञ्चालक समितिको बैठकले मदतान गरी बहुमतद्वारा थापालाई प्रमुखमा असोज १० गते चयन गरेको हो । थापाको अबको कार्यकाल चार बर्षको हुनेछ ।
२१ सदस्यीय क्याम्पस सञ्चालक समितिका पदाधिकारी र सदस्य रहेकोमा मतदानमा दुई जनाले भाग लिएका थिएनन्् । जसका कारण १९ मत खसेको थियो । त्यसमध्ये थापाका पक्षमा १० मत पर्यो र उहाँ विजयी घोषित हुनु भएको हो ।
क्याम्पस प्रमुखमा सोही क्याम्पसका हालका सहायक क्याम्पस प्रमुख पद्मबहादुर राउत थापाका प्रतिस्पर्धी हुनुहुन्थ्यो । दुवैको व्यक्तित्व तुलना गर्दा हरिबाबु थापाको लामो कार्यकालमा आर्थिक मामिलामा स्वच्छ व्यक्ति सावित हुँदै आउनु भएको छ तर सहायक क्याम्पस प्रमुख राउतले आर्थिक गतिविधिका इमान्दारिताको कसीमा थापा झैं खरो उत्रन सकेको देखिदैन ।
राउत यसअघि कार्यरत रहेका खास गरी बेसीशहर मै रहेको केही वर्षअधिसम्म अब्बलकै दर्जामा रहेको बताउने गरिएको सुनौलो भविष्य साकोस यतिबेला धरासायी अवस्थामा पुगेको र कुनै पनि बेला ताला लाग्न सक्ने अवस्थामा छ भनिन्छ । त्यो सहकारीले करिब एक वर्षदेखि बचतकर्ताले जम्मा गरेको रकम फिर्ता दिन सकेको छैन भने पछिल्ला दुई वर्षदेखि साधारण सभा समेत गर्न नसकेको स्वयम् राउतको दावी छ । सो सहकारीलाई त्यस्तो स्थितिमा पुर्याउने कार्यमा खासगरी सञ्चालक समितिको अध्यक्ष र कार्यकारी प्रमुख(व्यवस्थापक) हुँदा ठूलो रकम चलखेल गरी राउतकै भूमिका रहेको भन्ने वर्तमान कार्यसमितिले खुलासा गरी उहाँले बदनामी कमाउनु भएको छ ।
आज क्याम्पस प्रमुखमा निर्वाचित थापाले उक्त क्याम्पसमा सेवा सुरु गरेको अवधि मात्रै ३२ वर्षमा प्रवेश गरेको छ । २०४९ को भदौमा सो क्याम्पसको सेवामा प्रवेश गर्नु भएका थापाले २०५१ सालको पुस महिनादेखि प्रमुखको जिम्मेवारी लिन थाल्नु भएको हो । त्यो बेलामा क्याम्पस स्थापनाकालीन अवस्थामा भएको हुँदा एउटा पनि भवन थिएन । त्यो बेलाका क्याम्पसमा पढाउनेहरूका लागि समेत तलब खुवाउन सक्ने आजको जस्तो ढुक्क अवस्था थिएन । त्यसैले थापाले क्याम्पस प्रमुख हुँदै गर्दा तीन लाख रुपैयाँ क्याम्पसलाई चन्दा प्रदान गर्नु भएको थियो ।
थापाकै सफल नेतृत्वका कारणले डिप्लोमा मात्र पढाई हुने सो क्याम्पसमा डिग्रीको पढाइसमेत भइरहेको छ भने क्याम्पस हातामा यतिबेला पाँच वटा भवन सञ्चालनमा छन् । हालै एक करोड खर्चेर निर्माण गरिएको भवनमा १० लाख खर्चेर फर्निसिङ हुँदैछ । फर्निसिङ पछि सोही भवनमा कक्षाहरू सञ्चालन हुने तयारी छ ।
थापाकै कुशल नेतृत्वका कारण गत आवमा क्याम्पसले ६० लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । सो नाफा प्रदेश सरकार, त्रिवि अनुदान आयोग, स्थानीय सरकारको सहयोगबाट आर्जित भएको क्याम्पस प्रमुख थापाले जानकारी दिनु भएको छ । क्याम्पसका नाउँमा यतिबेला बेसीशहर नगरपालिका– ७ को सातबीसे स्थित क्याम्पस हातामा १७ रोपनी जग्गा रहेको छ भने बेसीशहर नगरपालिका– १० को बाझाखेतमा ६२ रोपनी जग्गा रहेको छ ।
उक्त क्याम्पसमा हाल प्लस टु समेत तीन तहका तीन संकायको डिप्लोमा र डिग्रीका कक्षाहरू सञ्चालनमा छन् ।
यसबाहेक क्याम्पसको गुणस्तरका लागि आवश्यक पर्ने क्यूएएको मान्यता समेत गत आवबाट त्रिविले सो क्याम्पसलाई दिएको छ ।
उक्त क्याम्पसले हासिल गरेको उल्लेखित उपलब्धी क्याम्पस प्रमुख थापाको मात्र एकल प्रयासबाट भएको भने नहुन सक्छ तर पनि उहाँकै कार्यकालमा हुनु पक्कै पनि थापा र उहाँका शुभचिन्तकहरूका लागि गर्वको विषय हो र रहिरहने छ ।
स्मरणीय छ, क्याम्पस प्रमुख चयनका लागि निर्वाचन भएको भने यो पहिलो पटक हो ।
प्रकाशित मिति २०८० आश्विन १०, बुधबार २१:४५ गते