बेसीशहर– युवा संघ लमजुङले प्रहरी हिरासतमा रहेका बेसीशहर नगरपालिकाका वडाध्यक्ष समेत रहेका आफ्ना नेता ऋषिराम बस्नेतको रिहाइको माग गर्दै राष्ट्रिय जिल्ला प्रशासन कार्यालय लमजुङमा ज्ञापन पत्र बुझाएको छ । लमजुङ अस्पतालका डा. सन्दीप अधिकारीलाई हातपात गरेको अभियोगमा सार्वजनिक स्वास्थ्य ऐन अन्तरगत मुद्दा परेर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई उनी आइतबारदेखिनै हिरासतमा रहेका उनको रिहाईका लागि संघले रिहाईको माग गर्दै असोज १० गते ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापन पत्रमा मिति २०८० साल आश्विन ७ गते राती १०ः३० बजे लमजुङ जिल्ला अस्पतालमा बेसीशहर नगरपालिका– ७ का अध्यक्ष ऋषिराम बस्नेत आफ्नो आमाको उपचारको लागि लैजादा निजको आमालाई डेंगु देखा परि भर्ना गर्ने क्रममा विरामीको आफन्तसँग गरिने मञ्जुरीनामा पत्रमा गरिने हस्ताक्षरको व्यहोरामा अपरेशन नगर्नु पर्ने विषयमा अपरेशन गर्नु पर्ने र सो जिम्मा आफन्तले लिनु पर्ने उल्लेख भएको बिषयमा सामन्य विवाद भएको र डा. सन्दिप अधिकारी र कृषिराम बस्नेत विच असामन्जस्यता उत्पन्न भएको परिस्थितिलाई अतिरञ्जित गरी अस्पतालको कर्मचारीले नियोजित हिसावले एउटा व्यक्तिलाई एकतर्फि चरित्र हत्या गर्ने कुरा गैर जिम्मेवार पूर्ण छ भन्ने दावी गरिएको छ ।
त्यस्तै अस्पताल भित्र भएको यथार्थ घटनाको सत्य तथ्य छानविन गरी वास्तविकता बाहिर ल्याउन आवश्यक रहेको कुरा ध्यानाकर्षण गराउन चाहन्छौ । घटनाका प्रत्यक्षदर्सी, सिसिटिभी फुटेज लगायतका उपकरणको सहयोग लिई चाँडो भन्दा चाँडो छानविन गरी गिरफ्तर गरिएका ऋषिराम बस्नेतको तुरुन्त रिहाईको जोडदार माग गर्दछ । अन्यथा हामी जस्तोसुकै कदम चाल्न वाध्य हुने कुरा यसै ज्ञापनपत्र मार्फत जानकारी गराउन चाहन्छौं भन्ने चेतावनी समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्र युवा संघ लमजुङका अध्यक्ष योगबहादुर गुरुङद्वारा हस्ताक्षर गरिएका छन् । ज्ञापनपत्रको बोधार्थ प्रति लमजुङ अस्पताललाई समेत दिइएको छ । गुरुङकै नेतृत्वमा एक टोली ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।
उक्त ज्ञापन पत्र बुझ्दै प्रजिअ अधिकारीले सो टोलीलाई दुःखद घट्ना घटेको स्विकार गर्नु भएकै छ, अनुसन्धानको कुरा प्रक्रिया अनुसार हुने हुन्छ हामीलाई लम्ब्याउने रहर छैन र अदालतमा प्रवेश गरिसकेको विषयमा आफूले धेरै बोल्न नमिल्ने बताउनु भएको थियो ।
युवा संघका निवर्तमान केन्द्रीय सदस्य समेत रहेका बेसीशहर नगरपालिका– ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले आइतबार राती लमजुङ अस्पतालको वार्डस्थित नर्सिङ स्टेशनमा ड्युटीमा रहेका डाक्टर सन्दिप अधिकारीसहितका नर्सिङ स्टाफलाई कुटपिट र अभद्र व्यवहार गरेको उजुरी परेपछि सोही समयबाट बस्नेत प्रहरी हिरासतमा रहेका छन् ।
प्रकाशित मिति २०८० आश्विन ११, बिहीबार ०६:३८ गते