लमजुङ– जिल्ला सदरमुकाम बेसीशहर यतिबेला सुन चोरी काण्डको विशेष चर्चामा छ । सुन चोरी भएको अभियोगमा पक्राउ परेकी एक युवती जिल्ला अदालतबाट तोकिएको चारलाख रुपैयाँ धरौटी राखेर तारेखमा रिहा भएकै दिन फेरि ८ तोला सुन असोज ११ गते चोरिएको छ ।
मध्य दिउँसोमा लमजुङको बेसीशहरमा एक घरबाट सुन चोरीएको हो । बेसीशहर नगरपालिका– ७, स्थित बेसीशहर बजारको हाइस्कूल चोक निवासी सन्तबहादुर तामाङको घरबाट सुन चोरी भएको प्रहरीले जनाएको छ । सन्तबहादुर र उहाँकी साली टिकामाया श्रेष्ठको गरी ८ तोला बढी सुन चोरी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँले बतानु भयो । उहाँका अनुसार हिजो साढे ११ देखि २ बजेसम्मको अवधिमा सुन चोरी भएको हुन सक्ने अनुमान छ । उहाँले भन्नुभयो, ‘प्रारम्भिक अनुमान अनुसार चोरिएको सुन आठ तोला रहेको छ ।’
साली र छोरी कार्यालय गएको साथै दिउँसोको समय तीन तले घरको सबैभन्दा माथिल्लो तलामा सुत्न गएका बेला घरकै च्यानल गेटको चाबी फोडेर सुन चोरी भएको पीडित सन्तबहादुरले बताउनु भयो । उहाँका अनुसार माथिल्लो तलामा सुतेर दिउँसो दोस्रो तलामा आउँदा च्यानल गेट खुल्लै रहेको र ढोका साथै सुन रहेको दराज पनि खुल्लै देखे पछि हेर्दा त सुन गायब भएको रहेछ ।
उक्त सुन चोरी घटनामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताउनु भयो । उहाँका अनुसार सुन चोरी घटनाको अनुसन्धान तथा चोरीमा संलग्नको खोजी थालिएको छ । उहाँले भन्नुभयो, ‘चोरी घटनाका बारेमा आशंकित व्यक्त वा अन्य कुनै सूचना प्राप्त भएमा प्रहरीमा जानकारी दिन अनुरोध गरिएको छ ।’
चार लाख धरौटी राखी तारेखमा रिहा :
यसैबीच, हिजै यसअघि भएका सुन चोरी काण्डको मुद्दामा थुनछेकको बहस हुँदा सो अभियोगमा पक्राउ गरेकी बेसीशहर नगरपालिका– ८ को सेरा निवासी २७ वर्षीया युवती सुजा घिमिरे चारलाख रुपैयाँ धरौटीको आदेश भएको छ । सो रकम धरौटी राखेर उनी हिजै रिहा भएकी छन् ।
उनका विरुद्धमा दुई जना पीडितले मात्र क्रमशः तीन लाख रुपैयाँ र एक लाख रुपैयाँको उजुरी गरेका कारणले बिगो अनुरुपको धरौटी माग गरिएको अदालत स्रोतले जनाएको छ । अदालतका अनुसार निज घिमिरेले इन्कारी बयान गरेको भएता पनि सामग्री नै बरामद भएको अवस्था छ ।
सो मुद्दामा मुलुकी फौज्दारी संहिता २०७४ को दफा २४२ को १ ले निषेधित गरेको कार्य अभियुक्तले गरेका कारण सोही दफको २ अनुसारको सजाय माग दावी गरिएको अवस्था छ । सो दफा अनुसार जफत भएको सुन अर्थात विगो सम्बन्धित पीडितले फिर्ता पाउने र बिगो बराबरको जरिवार वा तीन वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।
निज घिमिरेलाई प्रहरीले गत भदौ १८ गते पक्राउ गरेको थियो ।
प्रकाशित मिति २०८० आश्विन १२, शुक्रबार ०८:०२ गते