कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान लमजुङद्वारा छात्रवृत्ति वितरण

कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान लमजुङद्वारा छात्रवृत्ति वितरण

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज १२ गते शुक्रबार ०७:०७

प्रतिष्ठानले वंशावलीका मात्र कुरा गरेर भन्दा यस्ता मानव उत्थान तथा कल्याणका कार्यक्रमहरू गर्दा झनै धेरै बन्धुहरूलाई प्रतिष्ठानमा जोड्न सहज हुने अनुभव गरी यो कार्यक्रम ल्याइएको हो भन्दै यो अभियानमा जोडिन र प्रतिष्ठानलाई सहयोग गर्न देश विदेशमा रहनु भएका अधिकारी वन्धुहरूलाई आह्वान गरिएको छ ।

राज्यका नीति र कार्यक्रम निम्न वर्गका व्यक्तिहरूको उत्थान लक्षित हुनुपर्छ भन्ने यो सांकेतिक सन्देश हो : पहाडी

सुन्दरबजार(लमजुङ)– कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको जिल्ला शाखा लमजुङ– रुपाकोटद्वारा छात्रवृत्ति वितरण गरिएको छ । प्रतिष्ठानको शाखाद्वारा पूर्वघोषित कार्यक्रम अनुसार रुपाकोट स्थित त्रिभुवन मावि मानेचौका र सुन्दरबजार नगरपालिका– ५ को खहरे स्थित विद्याज्योति माविमा अध्ययरत एक एक जना छात्रलाई छुट्टा छु्ुट्टै कार्यक्रम गरी छात्रवृत्ति वितरण कार्य असोज १२ गते गरेको हो ।
त्रिभुवन माविमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका केन्द्रीय सदस्य नवराज पहाडीले हाम्रो समाजमा धेरै प्रकृतिका संघसंस्थाहरू छन् । त्यसमध्ये यो प्रतिष्ठानको मुल उद्देश्य वंशको उत्थान गर्ने रहेको छ । त्यसैले यो कार्यक्रम गरिएको हो एकतर्फ भने अर्कोतिर राज्य सबैको अभिभावक हो तर बाहुन क्षेत्रीका निम्न वर्गका मानिसले राज्य आफ्नो अभिभावक भएको अनुभव गर्न पाएका छैनन् । राज्यले वर्गका आधारमा निम्न वर्गका मानिसलाई उत्थान गर्ने नीति र कार्यक्रम ल्याउनु पर्नेमा त्यो गरेको छैन । हामी सरकारले गरिआएको त्यो गलत कदम सच्चिनु पर्छ भन्ने कार्यक्रम मार्फत सन्देश दिन चाहन्छौं, अबका दिनमा जातीय आरक्षण बन्द गरेर वर्गका आधारमा निम्न वर्गको उत्थानका कार्य राज्यबाट गरिनु पर्छ भन्नेमा जोड दिनु भयो । उहाँले स्थानीय सरकारका प्रतिनिधि(नगरपालिकाका वडाध्यक्ष)लाई राखेर यो सन्देश प्रवाह गर्न पाउदा गर्व अनुभव भएको छ भन्नुभयो ।
कार्यक्रमको अर्को सन्देश पनि रहेको उल्लेख गर्दै पहाडीले प्रतिष्ठानले वंशावलीका मात्र कुरा गरेर भन्दा यस्ता मानव उत्थान तथा कल्याणका कार्यक्रम गर्दा झनै धेरै बन्धुहरूलाई प्रतिष्ठानमा जोड्न सहज हुने अनुभव गरी यो कार्यक्रम ल्याइएको हो भन्नुभयो । यसैले यो अभियानमा जोडिन र प्रतिष्ठानलाई सहयोग गर्न देश विदेशमा रहनु भएका अधिकारी वन्धुहरूलाई अनुरोध गर्दछु पहाडीले भन्नुभयो । छात्रवृत्ति पाउने भाइको आजसम्मको भन्दा भोलिका दिनको अवश्य पनि शैक्षिकस्तरबृद्ध हुनेछ, राम्रोसँग पढ्नु होला, यसकार्यमा शिक्षक वर्गको सहयोगी भूमिका रहने छ भन्दै आफूहरू पनि समय समयमा यसकार्यको निगरानीका लागि आउने छौं भन्नुभयो ।
साथै, यो सन्देश हाम्रै प्रतिष्ठानको केन्द्रलाई पनि हो भन्दै पहाडीले भन्नुभयो, ‘कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको केन्द्रीय सदस्यका नाताले यो कार्यक्रमको थालनी आफ्नो जिल्लाबाट प्रारम्भ गर्न पाएकोमा गर्वको अनुभव भएको छ, अबका दिनमा यस्तो कार्य प्रतिष्ठानका मुलुकभरका शाखाबाट गरिनु पर्छ ।’
सो अवसरमा सो माविका व्यवस्थापन समितिको अध्यक्ष समेत रहनु भएका भानु नगरपालिका– ११ का वडाध्यक्ष विमलराज जोशीले प्रतिष्ठानबाट असल कामको थालनी भएको छ तर भाइबन्दी नगर्दा राम्रो हुने थियो भन्ने सुझाव दिनुभयो ।
सो माविका प्रधानाध्यापक हिरामणि ढुंगानाले यस्ता कार्यक्रम गर्दा पढाई प्रभावित नहुने गरी गर्न र जाति, सम्प्रदायका कुरा नगर्दा राम्रो हुने भएकोले यसतर्फ ध्यान दिन आयोजकलाई गर्दछु भन्नुभयो । उहाँले भन्नुभयो, ‘त्यति हुँदाहुँदै पनि आफ्नो विद्यालयको विद्यार्थीलाई योग्य सम्झेर छनौट गरेकोप्रति खुशी व्यक्त गर्दै पुरस्कार थोरै भएता पनि स्वभावैले त्यो महत्वपूर्ण एवम् उत्कृष्ठ हुने हुन्छ र यो पाएपछि पाउने व्यक्ति बढी अनुशासित, मेहनति, लगनशील हुनुपर्छ ।’
सो अवसरमा त्रिभुवन माविको कक्षा– ७ मा अध्ययन गर्ने रोनिश अधिकारीलाई चालु शैक्षिक सत्रमा लाग्ने किताव, कापी, कलम, ड्रेस झोला समेत पाँच हजार रुपैयाँ बराबरको र वार्षिक शुल्क एक हजार पाँच सय रुपैयाँ छात्रवृत्ती रोनिशकी आमा निर्मंला अधिकारीको उपस्थितिमा प्रदान गरिएको हो । ती सामग्री र नगद प्रतिष्ठानका केन्द्रीय सदस्य नवराज पहाडी र जिल्ला अध्यक्ष तुलसी विकास अधिकारीले संयुक्त रुपमा वितरण गर्नु भएको हो ।
आफ्नो समापन मन्तव्यमा अध्यक्ष अधिकारीले समितिले निर्णय गरे अनुसार यो वर्ष तीन विपन्न परिवार पहिचान गरी तीनै जनालाई छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनु भयो । उहाँले यो सहयोगको क्रम आउँदा वर्षमा उनीहरू तीनै जनाले प्लस टु पास गर्दासम्म जारी रहने जानकारी दिदै यो छात्रवृत्तीका लागि हाल थाइल्याण्डमा रहनु हुने राइनास नगरपालिका– १ साहिलीटार निवासी मदन अधिकारीबाट सहयोग उपलब्ध भएको जानकारी दिनुभयो ।
उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सहसचिव पार्वती अधिकारीले गर्नु भएको थियो । उहाँले छात्रवृत्तिलाई निरन्तरता दिन सहज होस् भन्ने हेतुले प्रतिष्ठानले अक्षयकोषको समेत प्रवन्ध गरेको छ हाम्रा सहयोगी दानवीर मनहरू अक्षय कोषमा पनि जोडिन सक्नु हुन्छ भन्नुभयो । उहाँका अनुसार सो कार्यक्रममा जिल्ला सदस्य प्रमोद अधिकारी, पूर्वजिल्ला सदस्य ज्ञानविकास अधिकारी तथा रामकृष्ण अधिकारीले समेत सहभागिता थियो ।
यसैगरी, विद्याज्योति माविमा सो कार्यक्रम अनौपचारिक रुपमा गरिएको थियो । सो अवसरमा सोही माविका कक्षा– ४ मा अध्ययनरत छात्र सम्पन्न अधिकारीलाई पनि पाँच हजार रुपैया बराबरका झोला सहितको शैक्षिक सामग्री र वर्षभरको फि तीन हजार ६० रुपैया प्रदान गरिएको थियो । ती सामग्री प्रतिष्ठानका केन्द्रीय सदस्य, पहाडी जिल्ला अध्यक्ष तुलसीविकास अधिकारीले संयुक्त रुपमा वितरण गर्नु भएको हो । उक्त अवसरमा सम्पन्नकी आमा सविता अधिकारी पनि सहभागी हुनुहुन्थ्यो ।
उक्त कार्यक्रमको सञ्चालन सोही माविका प्रधानाध्यापक सूर्य केसीले गर्नु भएको थियो ।
सो अवसरमा प्रतिष्ठानका जिल्ला सल्लाहकार विष्णुभक्त अधिकारी, सहसचिव पार्वती अधिकारी तथा जिल्ला सदस्य प्रमोद आधिकारी लगायतको सहभागिता थियो ।

फोटो सौजन्य : प्रमोद अधिकारी ।

प्रकाशित मिति २०८० आश्विन १२, शुक्रबार १९:०७ गते
हजुरको प्रतिक्रिया