मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा २२ औं साधारणसभामा विविध कार्यक्रम

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा २२ औं साधारणसभामा विविध कार्यक्रम

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज १४ गते आईतबार १०:५३

राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा उहाँकी धर्मपत्नी महाकाली घिमिरेद्वारा सोह्रलाख रुपैयाँ अक्षयकोषमा जम्मा गरी वर्षेनी एक दाख रुपैयाँ राशिको राष्ट्रकवि माधव घिमिरे पुरस्कार वितरण गरिने प्रवन्ध गरिएको मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले जनाएको छ । राष्ट्रकवि मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको संरक्षक हुनुहुन्थ्यो ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे स्मृति पुरस्कार विशिष्ट समालोचक, सर्जक एवम् प्राज्ञिक व्यक्तित्व प्रा.डा. वासुदेव त्रिपाठीलाई प्रदान

काठमाडौं– मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा २२ औं साधारणसभामा विविध कार्यक्रम सम्पन्न भएका छन् । साधारणसभाको उद्घाटन कुटनीतिक एवम् प्राज्ञिक क्षेत्रका विशिष्ट विद्वान् प्रा.डा. जयराज आचार्यको प्रमुख आतिथ्यता असोज १३ गते भएको हो ।

सो अवसरमा प्रमुख अतिथि आचार्यले बडो रोमाञ्चक ढङ्गले संस्थाले गर्नुपर्ने समाबेशी चरित्रका फराकिला कार्य गर्दै संस्थाप्रति विश्वास बढाउने कार्य गर्न कथानक शैलीमा रायसुझाव दिनुभएको थियो । यसैगरी सम्मानित व्यक्तित्व प्राडा वासुदेव त्रिपाठीले राष्ट्रकवि माधव घिमिरे पुरस्कारबाट पहिलोपटक ‘राष्ट्र, राष्ट्रियता तथा अमरगायक कविवर महाकवि, राष्ट्रकविको स्मरण गर्दै उहाँको नामबाट स्थापित पुरस्कार ग्रहण गर्दा गौरवान्वित हुँदै भावविह्वल भएको उल्लेख गर्नुभयो ।

‘मेरो शिल्पी यस सकलमा स्वस्थ आकार देऊ, यौटै सानो सरल कृतिमा पूर्ण आकार देऊ’ भन्ने राष्ट्रकविको कालिगण्डकी कविताको विराटभाव गंगाको स्मरणसमेत त्रिपाठीबाट आफ्नो मन्तव्यमा अभिव्यक्त भएको थियो ।
उक्त समारोहमा संस्थाको स्थापना दिवस २०७९ चैत्र २९ मा संस्थापक सदस्य सम्मान ग्रहण गर्न छुट्नु भएका वरिष्ठ पत्रकार एवम् सर्जक सोमनाथ घिमिरे, कविवर डिल्लीजङ गुरुङकी नातिनी एवम् पूर्वमाननीय सहायक मन्त्री मुनिन्द्रजङकी सुपुत्री सरल, स्वच्छ हृदयकी धनी सुभद्रा गुरुङलाई प्रमुख अतिथि आचार्यले दोसल्ला ओढाई सम्मानपत्रकासाथ सम्मान गर्नुभएको थियो ।

संस्थाका पुराना एवम् विशिष्ट सदस्यहरू रमेशचन्द्र अधिकारी, चन्द्रवदना घिमिरे, डा. विष्णु भण्डारी, डा. डिपी कार्की, प्राडा नन्दप्रसाद श्रेष्ठ, पूर्वअध्यक्ष डा बमबहादुर थापा जिताली, सम्मानित संस्थापक सदस्यद्वय सोमनाथ घिमिरे, सुभद्रा गुरुङले संस्थाको हितमा अत्यन्त सान्दर्भिक एवम् गम्भिर सुझावहरू दिनु भएको थियो । बच्चा जन्माउन भन्दा पनि हुर्काउन कठिन छ र त्यो कठिनाई भोगेर अगाडि बढ्न, युवाशक्ति आकर्षण गर्न, पारदर्शी र विश्वासिलो वातावरण सिर्जना गर्न सके आर्थिक स्थिति स्वतः वृद्धि गर्न सकिने र अहिले त्यो स्थिति तयार गर्न लाग्नु भएकोमा वर्तमान कार्यसमितिलाई धन्यवादसमेत मन्तव्यमा प्रकट गरिएको थियो ।
समारोहमा प्राडा नन्दप्रसाद श्रेष्ठ र सुभद्रा गुरुङले पच्चीस हजार संस्थालाई सहयोग गर्ने बचन दिनुभएको छ ।
सो अवसर जिल्लामा सांस्कृतिक सम्वर्धन र बौद्धिक क्षमता (प्रतिभा विकास) वृद्धि गर्न मद्दत गर्ने खालका कार्यक्रम पनि निर्माण गर्ने निर्णय भएको छ । साथै आउँदो आ.व. २०८०÷८१ का लागि व्यावहारिक, आवश्यकता आधारमा पेस गरिएको योजना र कार्यक्रम अन्तर्गत उपाध्यक्ष भाग्यशाली अधिकारीको संयोजकत्वमा स्मारिका प्रकाशन समिति, संस्थाको आयस्रोत वृद्धि गर्न सम्भावित व्यावहारिक उपाय अवलम्बन गर्न कोषाध्यक्ष लक्ष्मण थापाको संयोजकत्वमा एक समिति बनाउने, विधान संशोधन तथा परिमार्जन गर्न अध्यक्ष विजयराज न्यौपानेको संयोजकत्वमा एक विधान संसोधन समिति बनाउने, सदस्य यमबहादुर दुराको संयोजकत्वमा गौरवशाली पुर्खाको न्यायसंगत पहिचान कायम गरी परिचयात्मक जीवनी पहिलो खण्डमा २५ जनाजतिको एक कृति प्रकाशमा ल्याउन समिति गठन गरिएको छ । त्यस्तै, संस्थाको अभिलेख अद्यावधिक गराई राख्न सचिव श्रीकृष्ण न्यौपानेको संयोजकत्वमा एक अभिलेख समिति बनाउने र संस्थामा युवाशक्तिको आकर्षण गर्नपछि कार्यसमितिले एक संयोजक तोकी समिति निर्माण गर्ने निर्णय गरिएको छ ।
कोषाध्यक्ष लक्ष्मण थापाले आ.व.२०८९÷८०को लेखापरीक्षण प्रतिवेदन, आय व्यय बिवरण पेस गर्नुभएको थियो ।
विजयराज न्यौपानेको सभापतित्वमा भएकको कार्यक्रममा उहाँले संस्थाको वार्षिक गतिविधिको झलक उतार्दै शून्य स्थितिबाट वामे सर्दै दुई लाख रुपैयाँ संस्थाको मुद्दती खातामा राख्न सकिएको बताउँदै सहयोग दाताको नाम र रकम उल्लेख गर्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष भाग्यशाली अधिकारीले अग्रणी अग्रजहरूद्वारा स्थापित संस्थामा सगौरव स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभयो । अन्त्यमा हार्दिक धन्यवाद दिँदै र आभार प्रकट गर्दै सभाध्यक्ष न्यौपानेले साधारण सभा विसर्जन गर्नुभएको उक्त समारोहको उदघोषण सचिव श्रीकृष्ण न्यौपाने (विचौर)ले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८० आश्विन १४, आईतवार १०:५३ गते
हजुरको प्रतिक्रिया