अख्तियारको ठहरः पशुपतिमा जलहरी बनाउँदा १ किलो ४ सय ग्राम सुन घोटाला ठहर, तीनजना विरुद्ध मुद्दा

अख्तियारको ठहरः पशुपतिमा जलहरी बनाउँदा १ किलो ४ सय ग्राम सुन घोटाला ठहर, तीनजना विरुद्ध मुद्दा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज १५ गते सोमबार ०८:१०

आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव प्रदीप ढकाल, कोषाध्यक्ष मिलन कुमार थापा (हालका सदस्य सचिव) र स्टोरकिपार अरुणकुमार श्रेष्ठको मिलोमतामो १४९१.७१८ ग्राम सुन गायब पारिएको दाबी गरेको हो । सुन हिनामिना गर्ने कार्यमा ढकाल र थापाको प्रत्यक्ष भूमिका देखिएको अख्तियारको ठहर छ ।

एक करोड १७ लाख एक हजार सात सय ८१ एकासी रुपैयाँ बिगो दाबी गर्दै सोही बराबरको जरीवाना माग

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगल पशुपतिको शिव लिङ्गमा जलहरी राख्दा भ्रष्टाचार भएको ठहर गर्दै तीनजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पशुपतिमा सुनको जलहरी जडान गर्दा एक किलो चार सय ग्राम सुन हिनामिना भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असोज १४ गते मुद्दा दायर गरेको हो ।
तत्कालीन सदस्य सचिव प्रदिप ढकाल, हालका सदस्यसचिव डा. मिलनकुमार थापा र स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएको आयोगका प्रवक्ता भोला दाहालले बताउनु भयो । उहाँका अनुसार आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्दै तीन जनाले १४९१.७१८ ग्राम सुनबाट तत्कालीन बजार भाउ अनुसार एक करोड १७ लाख एक हजार सात सय ८१ एकासी रुपैयाँ बिगो दाबी गरेको छ ।
आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव प्रदीप ढकाल, कोषाध्यक्ष मिलन कुमार थापा (हालका सदस्य सचिव) र स्टोरकिपार अरुणकुमार श्रेष्ठको मिलोमतामो १४९१.७१८ ग्राम सुन गायब पारिएको दाबी गरेको हो । सुन हिनामिना गर्ने कार्यमा ढकाल र थापाको प्रत्यक्ष भूमिका देखिएको अख्तियारको ठहर छ ।
जलहरी प्रकरणमा घोटाला भएको भन्दै उजुरी परेपछि अख्तियारले सुस्त गतिमा छानबिन गरिरहेकै बेला संसदमा प्रश्न उठेपछि राष्ट्रिय चासोको विषय बनेको थियो । जलहरी प्रकरणले संसद नै अवरुद्ध हुने स्थिति बनेपछि सरकारको निर्देशनमा अख्तियारले उतारेर छानबिन गरेको थियो । छानबिनका क्रममा १४ सय ग्राम सुन कम राखेर त्यसको सट्टो लाहा हालिएको पाइएको आयोगको छानबिन प्रतिवेदनमा उल्लेख छ ।
आयोगले आफ्नो अभियोगपत्रमा उल्लेख गरेको छ, ‘बदनियतपूर्वक सुनको जलहरी निर्माणको क्रममा हानिनोक्सानी भएको १४९१.७१८ ग्राम सुनको नेपाल राष्ट्र बैंकसँग किनेको मूल्यमा पर्न आउने मुल्य एक करोड १७ लाख एक हजार सात सय ८१ रुपैया मुल्य बराबरको सुन हिनामिना गर्ने कार्यमा यी प्रतिबादीहरु डा. प्रदिप ढकाल र डा. मिलनकुमार थापाको प्रत्यक्ष भूमिका समेत रहेको पुष्टि हुन एवं उक्त हिनामिना भएको छ ।’
उनीहरूलाई जनही सोही रकम बराबरको बिगो माग गर्दै मुद्दा दायर गरिएको हो । अरुणकुमार श्रेष्ठ समेतलाई सोही बिगो बमोजिम जरिवाना माग गरिएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी राख्ने बताएपछि अर्थ मन्त्रालयले ३० करोड रुपैयाँ निकासा गरेको थियो । सोही रकमबाट कोषले नेपाल राष्ट्रबैंकसँग १०३ किलो ७७३.१ ग्राम सुन किनेको थियो ।
स्मरणीय छ, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटनमन्त्री भानुभक्त ढकालको जोडबलमा २०७७ फागुनमा चाँदीको जलहरीमाथि सुनको जलहरी राखिएको हो ।

प्रकाशित मिति २०८० आश्विन १५, सोमबार ०८:१० गते
हजुरको प्रतिक्रिया