एमाले गण्डकी अधिवेशन आज : उपमहासचिव पृथ्वीसुब्बा र स्थायी कमिटी सदस्य खगराज पक्षबीच टक्कर निश्चित

एमाले गण्डकी अधिवेशन आज : उपमहासचिव पृथ्वीसुब्बा र स्थायी कमिटी सदस्य  खगराज पक्षबीच टक्कर निश्चित

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज १५ गते सोमबार ०९:३२

अधिवेशनका लागि पोखराका २१ वटा होटल बुक गरिएको एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले बताउनु भयो । उहाँका अनुसार अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएका छन् । अधिवेशनको अन्य प्रदेश झैं अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

गुट छैन भनिन्छ, तर कसैले पत्याउँदैनन् !

पोखरा– एमाले गण्डकी अधिवेशन आज १५ गते सुरु हुँदैछ । अधिवेशनको अन्य प्रदेश झैं अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
१५ र १६ गते हुने अधिवेशनका लागि पोखराका २१ वटा होटल बुक गरिएको नेकपा एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले जानकारी दिनु भयो । उद्घाटन सत्रपछि लगत्तै बन्द सत्र सुरु हुने नेकपा एमाले गण्डकी प्रदेशले जनाएको छ । निर्वाचन हुने स्थिति आए १६ गते मतदान गरेर १७ गते साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको प्रदेश अध्यक्ष शर्मा बताउनु हुन्छ । उहाँका अनुसार एक हजार जनाभन्दा बढीलाई पोखरामा राखेर ढिलो गर्दा बढी खर्चालु पनि हुन्छ । मेसिनबाटै भोटिङ गर्ने भएकाले सकेसम्म १७ गते साँझसम्म रिजल्ट आउन सक्छ ।
सो अवसरमा हुने निर्वाचनमा नेताद्वय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षबीच टक्कर हुने निश्चित भएको छ । अधिवेशनको जानकारी दिनका लागि हिजो आयोजना गरिएको पत्रकार सम्मेलनमा पनि त्यस्तो दृश्य प्रष्टै देखिन्थ्यो ।
गुट छैन भनिन्छ, तर कसैले पत्याउँदैनन् !
पत्रकार सम्मेलनमा नै एमाले सचिव एवम् प्रदेश इन्चार्ज गोकर्ण विष्टले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीलाई देखाएर पार्टीमा गुट नभएको उल्लेख गर्नु भयो । ‘पार्टीभित्र गुट छ’ भन्नेलाई उनले ‘दोषी चस्मा’ रहेको भन्न समेत भ्याउनु भयो ।
त्यसो त एमालेमा प्रतिनिधि बनेकादेखि नबनेका सबैलाई थाहा छ– गण्डकीमा गुरुङ र अधिकारीको गुट छ, शक्तिसंघर्ष छ, टकराव छ । पूर्वमुख्यमन्त्री गुरुङ अहिले संघीय सांसद हुनुहुन्छ भने पूर्वगृहमन्त्री अधिकारी अहिले गण्डकीको एमाले संसदीय दलका नेता हुनुहुन्छ ।
कास्कीका अधिकारी र लमजुङका गुरुङबीचको शक्ति संघर्ष पालिकासम्मै पुगेको एमालेको दुई वर्ष अगाडि सम्पन्न पोखरा महानगर कमिटीको अधिवेशनबाट पनि प्रस्ट हुन्छ ।
नेकपा एमाले गण्डकीका इन्चार्ज गोकर्ण विष्टले सुरू हुने प्रदेश अधिवेशनमा प्यानल बनाएर चुनाव लड्ने अधिकार कसैलाई नभएको बताउनु भयो । उहाँका अनुसार अध्यक्ष केपी शर्मा ओलीको निर्देशन भन्दै उनले प्यानल बनाए उम्मेदवारी नै खारेज हुने छ । उपमहासचिव गुरुङलाई बाँया र स्थायी कमिटी सदस्य अधिकारीलाई दाँया राखेर इन्चार्ज विष्टले भन्नुभयो– ‘पार्टी अध्यक्षको निर्देशन विपरित प्यानल बनाएर जाने छुट कसैलाई छैन, सकेसम्म सर्वसम्मत गर्ने हो, नभए कमरेडली प्रतिस्पर्धा गर्ने हो ।’
विष्टले चुनावमा प्यानल बीचको प्रतिस्पर्धा रोक्न मात्र नभई उपमहासचिव गुरुङ र स्थायी कमिटी सदस्य अधिकारीबीचमा कुनै तिक्तता वा प्रतिस्पर्धाको स्थिति नभएको समेत उल्लेख गर्नुभयो । तर विष्टको दावी विपरित गुरुङ र अधिकारी निकट नेता कार्यकर्ता प्यानल बनाएरै चुनावमा जाने तयारीमा जुटेको स्रोत बताउँछ ।
गण्डकीमा एमाले राजनीतिमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी सदाबहार प्रतिस्पर्धी मानिनु हुन्छ । जुनकुनै पनि पद लिदा होस् या स्थानीय या संसदीय निर्वाचनमा उहाँहरूबीच प्रतिस्पर्धा हुँदै आएको छ । विगतका गतिविधिले पनि निर्वाचन हुँदैन भन्ने आधार देखिन सकेको छैन ।
एमाले गण्डकीमा उपमहासचिव गुरुङले हाल प्रदेश अध्यक्ष नवराज शर्मा र सचिवमा धनञ्जय दवाडीलाई अघि सार्ने स्थिति बनेको छ भने अध्यक्ष र सचिवबाहेक अन्य पद बाँडफाँट गरेर सहमति गर्न सकिने गुरुङ पक्षको आंकलन छ ।
अध्यक्ष र सचिवमा दुई जना नेता निकट प्रतिस्पर्धा हुने देखिए पनि सदस्यसम्मै प्यानल बन्ने दुबै पक्षका कार्यकर्ताको तयारी छ । एमालेभित्र हुर्कदै गरेको शंकर पोखरेल पक्षले स्थायी कमिटी सदस्य अधिकारीलाई र विष्णु पौडेल पक्षले गुरुङलाई समर्थन गरेका छन् । गण्डकीमा एमाले भित्र गुरुङ र अधिकारी पक्षबीच देखिएको गुटबन्दी एमालेको केन्द्रीय राजनीतिकै उपज भएको कार्यकर्ताहरूको बुझाइ छ ।
अधिकारी पक्षले भने केन्द्रीय सदस्य मायानाथ अधिकारीलाई प्रदेश अध्यक्ष र रश्मी आचार्यलाई सचिवमा उम्मेदवार बनाउने तयारी गरेको बुझिएको छ । अधिकारीले सर्वसम्मति गर्न केन्द्रीय सदस्य कृष्ण थापालाई अध्यक्ष बनाउन पनि प्रयास गर्दै रहेको बताइन्छ ।
गण्डकीको अध्यक्षमा केन्द्रीय सदस्यहरू रामशरण बस्नेत, राजिव पहारी, प्रदेश उपाध्यक्ष मोहन रेग्मी, सोभियत ढकाल, हिराबहादुर केसी पनि प्रदेश अध्यक्षका दाबेदार मानिनु भएको छ ।
प्रदेश अधिवेशनमा छनौट भएका प्रतिनिधि कसका पक्षमा को भन्दै अहिले गुरुङ र अधिकारी निकट नेता कार्यकर्ता हिसाबकिताबमा व्यस्त छन् ।
दुबै पक्षले आफ्नो बहुमतमा रहेको दाबी गरिरहेका छन् । अधिकारी पक्षधर नेता कार्यकर्ताहरू हिजो बैठक नै बसेर विश्लेषण गरेको बताइएको छ ।
५० हजार बढी समर्थक सडकमा उतार्ने उदघोष :
एमाले गण्डकीले अधिवेशनको उदघाटन समारोहमा एमालेले ५० हजार बढी समर्थक सडकमा उतार्ने उद्घोष गरेको छ । तयारीका लागि महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याललगायत नेताहरू यहाँ आइसक्नु भएको छ ।
एमाले गण्डकीका इन्चार्ज विष्टले दिएको जानकारी अनुसार अमरसिंह चोकमा हुने अधिवेशनमा पोखराको हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्ध चोक र बसपार्कबाट झाँकीसहित र्याली निकाल्ने तयारी छ । र्यालीमा सहभागी गराउन जिल्ला–जिल्लाबाट पनि एमालेले कार्यकर्ता आउने क्रम सुरु भएकको छ ।
अधिवेशनमा ११ जिल्लाका ८५ वटा पालिकाबाट ९ सय ७ जना प्रतिनिधि छनौट भएका छन् ।
गण्डकीका ८५ वटा पालिकामध्ये कास्कीको रुपा गाउँपालिकाबाहेक अन्य पालिकाहरूबाट सर्वसम्मत प्रदेश प्रतिनिधि छनौट भएका छन् । रुपा गाउँपालिकाबाट ९ जना प्रतिनिधिका लागि १८ जनाले उम्मेदवारी दिएपछि चुनाव भएको जनाएको छ । अधिवेशनले हाल ५ सय ५९ जना रहेको प्रदेश कमिटी घटाएर १६५ सदस्यीय कमिटी निर्वाचित गर्ने इन्चार्ज विष्टले जानकारी दिनु भयो ।
अधिवेशनका लागि पोखराका २१ वटा होटल बुक गरिएको एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले बताउनु भयो । उहाँका अनुसार अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएका छन् ।
गण्डकीमा ११ जिल्ला भए पनि चार जिल्लाले ५० प्रतिशतभन्दा बढी मत होल्ड गर्छन् । प्रदेश राजधानी रहेको कास्कीमा सबैभन्दा धेरै १४६ प्रतिनिधि छन् । स्याङ्जाबाट ११३ प्रतिनिधि आउँदा प्रदेशको सबैभन्दा सानो जिल्ला पर्वतबाट ११० र कान्छो जिल्ला नवलपुरबाट १०९ प्रतिनिधि छनोट भएका छन् । त्यस्तै, गोरखाबाट ५३, बाग्लुङबाट ७२, तनहुँबाट ८२, मुस्ताङबाट १६, लमजुङबाट ६५ प्रतिनिधि छनोट भएका छन् । मनाङबाट १४ जना प्रतिनिधि छानिँदा म्याग्दीबाट ४२ जना र एमालेको जनसंगठनबाट ८६ प्रतिनिधि छनोट भएका एमाले गण्डकीका उपसचिव एवम् प्रचारप्रसार उपसमितिका संयोजक रश्मी आचार्यले बताउनु भयो । उहाँका अनुसार कुल प्रतिनिधिमध्ये खुला महिलाबाट १९३, खुला ३९०, दलित ११५, दलित महिला ५४, मजदुर संगठनबाट १६ प्रतिनिधिले अधिवेशनमा भाग लिने भएका छन् ।
यी चार जिल्लाका प्रतिनिधिको संख्या जोड्दा ४७८ हुन्छ जो कुल मतदाता संख्याको झन्डै ५३ प्रतिशत मत हो ।
स्मरणीय छ, एमालेले प्यानल बनाएर चुनाव लड्न नपाउने भने पनि २०७८ पुसमा सम्पन्न कास्की जिल्ला अधिवेशनमा दुई नेता निकट प्यानल बनेको थियो । कास्की अधिवेशनमा उपमहासचिव गुरुङ निकट मनबहादुर गुरुङ निर्वाचित हुनु भयो भने अधिकारी निकट दामोदर पौडेल ‘बैरागी’ पराजित हुनु भयो ।

प्रकाशित मिति २०८० आश्विन १५, सोमबार ०९:३२ गते
हजुरको प्रतिक्रिया