सूर्यदर्शनमा जीबी समूहको बदमासी : सहायक कम्पनी र व्यक्तिमार्फत डेढ अर्ब अपचलन

सूर्यदर्शनमा जीबी समूहको बदमासी : सहायक कम्पनी र व्यक्तिमार्फत डेढ अर्ब अपचलन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज १५ गते सोमबार १२:१८

जीबी अध्यक्ष हुँदा २१ करोड ४२ लाख र उनका दाइ भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७० लाखको हिसाब देखिएको छैन । यस्तै सहकारीका संस्थापक अध्यक्ष बम्जनको पालामा १९ करोड १८ लाख र थानबहादुर बुढाको पालामा २७ करोड ४८ लाख रुपैयाँ अपचलन भएको विश्लेषण विशेषज्ञले गरेका छन् ।

सो साकोसको स्थापना कालदेखि नै हिसाब गोलमाल गर्न थालिएको थियो ।

पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था(साकोस)बाट करिब डेढ अर्ब हिनामिना भएको पाइएको छ । पोखरा महानगरपालिकाको विशेषज्ञ समितिले गरेको अध्यननका क्रममा उक्त साकोसको १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार रुपैयाँ अपचलन भएको असोज १४ गते भेटिएको हो ।
सो साकोसका मात्रै एक हजार ३६ जना बचतकर्ताले एक अर्ब ११ करोड रकम पाउनुपर्ने दाबी गर्दै निवेदन दिएपछि पोखरा महानगरपालिकाले सहकारीको आर्थिक हिनामिनासम्बन्धी विश्लेषणात्मक अध्ययन गर्न १० भदौमा विशेषज्ञ समिति गठन भएको थियो ।
पोखरा– ४ मा रहेको सूर्य दर्शन सहकारीका १ हजार ३६ जना बचतले १ अर्ब ११ करोड रकम पाउनुपर्ने दाबी गर्दै प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
महानगरको विशेषज्ञ समूहको अध्ययनका क्रममा करिब डेढ अर्ब हिनामिना भएको अध्ययनले देखाएको छ । सहकारीको १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार रुपैयाँ अपचलन भएको देखिएको छ भने कतिपय रकमको अभिलेख नै नभेटिएको प्रतिवेदनमा छ ।
जीबी अध्यक्ष हुँदा २१ करोड ४२ लाख र उनका दाइ भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७० लाखको हिसाब देखिएको छैन । यस्तै सहकारीका संस्थापक अध्यक्ष बम्जनको पालामा १९ करोड १८ लाख र थानबहादुर बुढाको पालामा २७ करोड ४८ लाख रुपैयाँ अपचलन भएको विश्लेषण विशेषज्ञले गरेका छन् ।
देशभर विभिन्न नेटवर्क खडा गरी जीबी राइ समूहले अर्बौं रुपैयाँ अपचलन गरेको सार्वजनिक हुनुअघि नै सूर्यदर्शन सहकारीले बचतकर्तालाई रकम दिन छाडिसकेको थियो । बचतकर्ता रकम फिर्ता दिन माग गर्दै पोखरा महानगर, प्रशासनदेखि काठमाडौंसम्म पुगे । जिल्ला प्रहरी कार्यालय कास्कीले ३२ साउनमा सूचना जारी गरी भदौ १५ गतेसम्म जाहेरी दिन आग्रह गरेको थियो ।
त्यही उजुरीको आधारमा २४ भदौमा जीबीसहित ७ जनाको नाममा पक्राउ पुर्जी जारी भयो । अहिलेसम्म १९ जनाको नाममा जारी भइसकेको छ, तर कोषाध्यक्ष कुमार रम्तेल मात्र पक्राउ परेका छन् । रम्तेल पक्राउ परेको २२ दिन भइसकेकाले एकदुई दिनमै जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल बुझाउन लागिएको कास्की प्रहरी प्रमुख मोहनबहादुर थापाले जानकारी दिए ।
नेटवर्किङ कम्पनीदेखि मिडियासम्म लगानी, भेटिदैन कागजात :
सूर्यदर्शन सहकारीमार्फत सञ्चालक तथा व्यक्तिमार्फत कम र सहायक कम्पनीमार्फत बिना कागजात धेरै ठाउँमा पैसा निकालेर चलाएको भेटिएको छ ।
सहकारीले ब्रिज लोनका नाममा ४५ करोड लगानी गरेको छ । तर, त्यो कस्तो लोन हो ? के प्रयोजनका लागि दिइएको हो भन्ने कुनै पनि कागजात नदेखिएको अध्ययन रिपोर्टले देखाएको छ ।
जीबी राई समूहले नेटवर्किङ कम्पनीदेखि मिडियामा लगानी गरेको पाइएको छ । नेचर हर्ब्स इन्टरनेसनल, नेचर नेष्ट, स्प्रिङ उड, ग्रिजी स्पोन, गोर्खा ग्रुप अफ कम्पनीजस्ता सहायक कम्पनीमार्फत यो समूहले सहकारीको रकम चलाएको पाइएको छ । गोरखा मिडिया नेटवर्कको नाममा २ करोडभन्दा बढी रकम गएको देखिन्छ ।
महेन्द्र भोटेजस्तै कागजातबिना र प्रक्रिया नै नपु¥याई सहकारीबाट पैसा लैजानेको संख्या ठूलो छ । हेमन्त अधिकारी, मीनबहादुर पहारी, उमेश गुरूङ, डिल्ली लामिलाने, सृष्टि मानन्धर, नेत्रपाणि बास्तोलाले सहकारीको रकम बिना कागजात र प्रक्रिया नपु¥याई लगेको पाइएको छ । २ सय ६० भन्दा बढी व्यक्तिले यसरी सहकारीको रकम लगेको प्रतिवेदनले देखाएको छ ।
सहकारीमार्फत पूर्व सञ्चालक तथा युवा संघ नेपालका उपमहासचिव शिवबहादुर (महेन्द्र भोटे) एक्लैले झण्डै ९ करोड रुपैयाँ बिना कागजात चलाएको पाइएको छ । कुनै बेला गुण्डागर्दीमा सक्रिय एलजी ग्याङबाट व्यवसाय र राजनीतिमा महेन्द्रको अन्य कम्पनीमार्फत पनि लगानी हुनसक्ने समितिको विश्लेषण छ ।
कागजमा हिसाब छ, सफ्टवेयरमा देखिदैन :
सहकारीमा कतिपय नक्कली खाता खोलेर रकम हिनामिना पारिएको पनि विज्ञले वित्तीय विश्लेषण गरेका छन् । कतिपय सहकारीको रकमको हिसाबै छैन भने कति कागजमा मात्र सीमित देखिएको छ ।
सहकारी भएको घर पूर्व सञ्चालक शिवबहादुर (महेन्द्र भोटे) को नाममा छ । यो घर ८ करोड ५० लाख रुपैयाँमा किन्ने निर्णय सहकारीले गरेको छ, अहिले पनि महेन्द्रकै नाममा रहेको पाइएको छ । विभिन्न व्यक्तिले घर बनाउन ऋण लिएको कागजमा उल्लेख छ, तर लगानी गरिएको सम्बन्धित कागजात पाइएको छैन ।
शेयर पुँजीको अडिड रिपोर्टले साढे ४ करोड ४० लाख, साधारण सभाले ५ करोड ५० लाख र महानगरमा पेश गरेको श्वेत पत्रले ८ करोड ५० लाख रुपैयाँ शेयर पुँजी रहेको उल्लेख भएकाले यकिन गर्न नसकिएको पाइएको पोखरा महानगरपालिका सहकारी शाखा प्रमुख भरतराज पौडेलले जानकारी दिनु भयो ।
सहकारीको करिब ५ करोड जगेडा कोषमा रहेको कागजातमा देखिएको भएपनि कोषमा रकम नभएको पाइएको छ । विभिन्न ठाउँमा फरक फरक तथ्यांक भएकाले शेयर पुँजीसमेत यकिन गर्न नसकिएको प्रतिवेदनमा उल्लेख छ ।
साकोसको स्थापनाकालीन इतिहास :
नेटवर्किङ व्यवसायमा सक्रिय रहँदै गर्दा २०६५ सालतिरै पोखरामा सूर्यदर्शन सहकारी खोल्न गितेन्द्रबाबु (जीबी) राईको समूह संगठित भएको हो ।
पोखरामा नेटवर्किङ व्यवसायमा लागिरहेकाहरू र गुण्डागर्दी गर्ने परिचय बनाएका शिवबहादुर गुरुङ (महेन्द्र भोटे)जस्ता व्यक्ति पनि उनको समूहको सम्पर्कमा जोडिन पुगे । जीबीकै अगुवाइमा २०६६ सालमा गोर्खा ग्रुप अफ कम्पनी खोल्नु अघिल्लो वर्ष नै पोखरामा सूर्यदर्शन सहकारी खोले र त्यसको अध्यक्ष बने, ज्ञानबहादुर बम्जम ।
बम्जमका अध्यक्षतामा उपाध्यक्ष मीना गुरूङ, सूर्यध्वज न्यौपाने सचिव र कोषाध्यक्ष आरती गुरूङ रहे । त्यही समूहमा बागलुङका देवकुमार नेपाली पनि जोडिए । ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका नेपाली इमेज सहकारीको साढे २ अर्बभन्दा बढी रकम हिनामिना गरेर यतिबेला प्रहरीको फरार सूचिमा छन् ।
सहकारीमा पैसावाला व्यक्तिलाई भित्र्याउँदै जाने र त्यहाँको रहक विभिन्न सहायक कम्पनीमार्फत अन्तै लगानी गर्दै जान थालेको सूर्यदर्शनमा २०६८ सालमा जीबीकै अध्यक्षतामा नयाँ कार्यसमिति बनेको हो ।
त्यो बेला उपाध्यक्ष थिए देवकुमार नेपाली, सचिवमा सूरेशचन्द्र पहारी र कोषाध्यक्षमा आरती नै थिइन् । योबेला नै देवकुमार अध्यक्ष बन्न चाहन्थे, तर जीबी अध्यक्ष बने । त्यसपछि पनि जीबीले आफ्नै दाइलाई अध्यक्ष बनाउने बुझेपछि देपकुमारले त्यहाँका प्रवन्धक दीपक पौडेललाई लिएर त्यसलगत्तै इमेज सहकारी खोल्न पुगे । जीबीपछि २०७४ मा उनकै दाजु भूपेन्द्र राईको अध्यक्षतामा अर्को कार्यसमिति गठन भयो ।
त्यसको उपाध्यक्ष बने कैलाश दर्लामी, सचिव अनुज नकर्मी र कोषाध्यक्षमा रम्तेल नै दोहोरिए भने त्यसअगाडि देखि नै सहकारीमा रहे पनि सञ्चालक सदस्यका रुपमा शिवबहादुर गुरूङ (महेन्द्र भोटे) भित्रिए । त्यो बेला सञ्चालक सदस्य थिए, भविश्वेर अर्याल र हेमन्त अधिकारी ।
०७७ मा थानबहादुर बुढा अध्यक्ष बने । उपाध्यक्षमा कैलाश दर्लामी, सचिवमा सुरज श्रेष्ठ र कोषाध्यक्षमा तेस्रो कार्यकाल पनि कुमार रम्तेल नै दोहोरिए । सञ्चलक सदस्यमा प्रमोद भट्टराई, आइस्मा गुरूङ र हेमन्त अधिकारी थिए । २०७९ मा आइस्माले राजीनामा दिएपछि सञ्चालक सदस्य बनेर कविता तामाङ भित्रिइन् । यतिबेलासम्म सूर्यदर्शन सहकारी संकटमा परिसकेको थियो ।

प्रकाशित मिति २०८० आश्विन १५, सोमबार १२:१८ गते
हजुरको प्रतिक्रिया