
सुर्खेत– नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशनबाट अध्यक्षमा गुलाबजङ्ग शाह विजय हुने निश्चित भएको छ । जारी मतगणनामा गन्न बाँकीभन्दा बढी मतान्तर बनाएसँगै उहाँको विजय सुनिश्चित भएको हो ।
मतगणनाको पछिल्लो परिणाम अनुसार उहाँले ३१० मत पाउनु भएको छ भने अर्का उम्मेदवार मीनबहादुर शाहले मात्र १६४ मत प्राप्त गर्नु भएको छ । यस्तै प्रकाश रोकायाले भने केबल ४ मत मात्र पाउनु भएको छ ।
अब केबल १०९ मत मात्रै गणना हुन बाँकी रहेको छ ।
कोशी प्रदेशको अध्यक्षमा खतिवडाको अग्रता ः
यसैबीच, विराटनगरबाट प्राप्त समाचार अनुसार नेकपा एमाले कोशी प्रदेश अध्यक्ष पदका लागि भएको निर्वाचनमा घनश्याम खतिवडाले अग्रता लिनु भएको छ । पछिल्लो मतपरिणाम अनुसार खतिवडाले २० मतको अग्रता लिनु भएको हो ।
खतिवडाले १४१ मत पाउनु हुँदा अर्का उम्मेदवार विनोद ढकालले १२१ मत पाउनु भएको छ ।
२१५ सदस्यीय प्रदेश कमिटीमा अध्यक्षसहित १६६ पदका लागि निर्वाचन भएको थियो । उपाध्यक्षसहित ४९ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
गए राति भएको निर्वाचनमा ९९७ प्रतिनिधि मध्ये ९७७ जनाले मतदान गरेका थिए ।
मतपत्र ११ पेज लामो रहेको छ । जसका कारण गणना कार्यमा विलम्ब भइरहेको छ ।
प्रकाशित मिति २०८० आश्विन १५, सोमबार २०:२७ गते