काठमाडौं– संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न भू–भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कोसी र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा असोज १७ गते भइरहेको हो ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुुसार कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागको आंकलन छ ।
विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ ।
कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । नेपालबाट मनसुन बाहिरिन बाँकी रहेको र भारतको झारखण्ड आसपास क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्र बनेका कारण नेपालमा केही दिनदेखि लगातार वर्षा भइरहेको मौसमविदको भनाइ छ ।
वर्षाले नदीको जलसतह हल्का बढ्ने, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने विभागले जनाएको छ । त्यसैले सम्भावित क्षतिबाट बच्न सतर्क रहन विभागको आग्रह छ ।
राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
आज राति कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति २०८० आश्विन १७, बुधबार ०८:१४ गते