पोखरा– एमाले गण्डकीको अधिवेशनको पदाधिकारी चयनका लागि मतदानको तयारी जारी छ । विहान ८ बजे सुरु हुने भनिएको मतदानका लागि अझै त्यसको तयारी मै निर्वाचन समिति जुटिरहेको छ । मतदान सुरु हुन ११ बज्ने संकेत पाएको सो अधिवेशनको मतदाता समेत रहनु भएका लमजुङको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनु भयो ।
एमाले गण्डकीको अधिवेशनमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी समूह पुनः एकपल्ट आमने सामने भएका छन् । केन्द्रीय अध्यक्ष केपि ओलीको आदेशको विरुद्ध उपमहासचिव गुरुङ र स्थायी समिति सदस्य अधिकारीले आ–आफ्नो पक्षमा उम्मेदवारहरू प्यानल नै बनाएर असोज १८ गते चुनाव लडाउने हुनु भएको हो ।
प्रदेशको चुनावी चर्चा सुरु भएदेखिनै ‘मुखमा सहमति, मनमा चुनाव’ लिएर अघि बढेका यी दुई समूह फेरि एकपटक आमनेसामने भएका छन् ।
अधिवेशनको तयारीदेखि नै पोखरामा जुट्नु भएका नेकपा (एमाले) का उपसचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अधिवेशन उदघाटनको अघिल्लो दिनमा पत्रकारहरूका बीचमा समेत दोहो¥याउँदै भन्नु भएको थियो, ‘प्यानल नै खडा गरेर चुनाव लडे पार्टीले कारबाही गर्छ ।’ तर, आआफ्नो प्यानल नै घोषणा गरेर दुईपक्ष चुनाव लडिरहेका छन् ।
त्यतिमात्र हैन दुवै समूहले सचिवालय नै चलाएर इन्चार्ज विष्टलाई ठाडो चुनौति दिएका छन् । खगराजको सचिवालय जिरो किलोमिटरको न्यु एरा पार्टी प्यालेस र सभागृहचोकको मिड टाउन होटलमा छ । गुरुङ पक्षधर नवराज शर्माले लेकसाइडको मझेरी होटललाई सचिवालय बनाएका खुलासा भएको छ ।
त्यसो त यतिबेला गुरुङ र अधिकारीबीच यो गुटबन्दी एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल बीचको हो भनिन्छ । पौडेलको साथ पृथ्वीसुब्बा र पोखरेलको साथ खगराजलाई रहेका कारण त्यस्तो आंकलन गरिएको हो ।
प्रदेश समिति अध्यक्षका लागि गुरुङ पक्षधर नवराज शर्मा र अधिकारी पक्षका मायानाथ अधिकारी दुवैको बलियो दाबी छ । नवराज वर्तमान समितिका अध्यक्ष र मायानाथ केन्द्रीय सदस्य हु्ुँदाहुँदै पनि लमजुङबाट प्रतिनिधि चुनिनु भएको हो ।
गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य खगराज अधिकारीबीचको प्रतिस्पर्धा सदाबहार नै हो । जो यसपल्टको अधिवेशनमा पनि दोहोरिएको छ । अधिकारी संघको सांसद हुँदा गुरुङ गण्डकीको मुख्यमन्त्री हुनुहुन्थ्यो । यतिबेला भने गुरुङ संघको सांसद र अधिकारी प्रदेशसभामा हुनुहुन्छ ।
एमाले कास्कीको अध्यक्षमा गुरुङ पक्षधर मनबहादुर गुरुङले अधिकारीपक्षका दामोदर बैरागीलाई हराउन सफल भएपछि गुटबन्दी तल्लो तहसम्म झ्यांगिएको बताइन्छ । पछि शंकर पोखरेलको साथ पाएका खगराजले बैरागीलाई संघीय सांसदको टिकट दिलाउन सफल हुनुभएको थियो । यतिबेला पनि उहाँलाई पोखरेलको साथ छ भने केन्द्रीय अध्यक्ष ओली मौन रहनु भएको बताइन्छ ।
गण्डकीमा पृथ्वीसुब्बा र खगराजबाहेक एमाले सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य किरण गुरुङको समेत आफ्नै गुट छ । खगराज पक्षका मायानाथ अधिकारी अध्यक्षको उम्मेदवार रहेको प्यानलमा पद्मा अर्याल पक्षका रश्मी आचार्य सचिवमा चुनाव लड्नु भएको छ ।
नवराज शर्मा अध्यक्षको उम्मेदवार रहेको प्यानलमा भने पृथ्वीसुब्बा पक्षकै धनञ्जय दवाडी सचिवमा दाबेदारी छ । चुनिएका प्रतिनिधिमाझ अंकगणितीय हिसाबले दुवै पक्षको मत बराबरी जस्तै भएको बताइन्छ ।
अधिवेशनले १ सय ६५ सदस्यीय प्रदेश समिति निर्वाचित गर्ने छ । अधिवेशनमा सहभागी हुन गण्डकीका ११ जिल्ला र जनसंगठनबाट ९ सय ७ जना प्रतिनिधि पोखरामा भेला भएका छन् । सबैभन्दा धेरै कास्कीबाट १ सय ४६ र थोरै मनाङबाट १४ प्रतिनिधि छन् ।
१६५ पदका लागि ३८२ जनाको उम्मेदवारी, २७ जना निर्विरोध :
अधिवेशनका क्रममा १६५ पदका लागि ३८२ जनाको उम्मेदवारी, २७ जना निर्विरोध भएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार ८ बजेबाट मतदान सुरु हुने कार्यतालिका हो तरकेही तयारी अपुग भएर ढिला भयो, अब मतदान सुरु हुन्छ ।
शर्मा र अधिकारीले आआफ्नो प्यानल तयार गरेर ५ पदाधिकारीमा छुट्टा छुट्टै उम्मेदवारी दर्ता गराएका छन् । शर्माको प्यानलबाट उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, तथा उपसचिवमा क्रमशः मञ्जु अधिकारी र दामबहादुर विक उम्मेदवार हुनुहुन्छ । त्यस्तै, अधिकारीको प्यानलबाट उपाध्यक्षमा बाबुराम विक, सचिवमा रश्मि आचार्य तथा उपसचिवमा सन्तोष रावल र मिना गुरुङले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
उम्मेदवारी दर्ता गरेपछि अध्यक्षका उम्मेदवार मायानाथ अधिकारीले पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै मतदानमार्फत हुने नेतृत्व चयनलाई लोकतान्त्रिक र स्वाभाविक प्रक्रियाका रूपमा लिनुपर्ने बताउनु भयो । उहाँलेभन्नुभयो, ‘निर्वाचनमा जानुलाई अन्यथा लिन मिल्दैन ।’ उहाँ आफ्नो पक्षमा नतिजा आउनेमा ढुक्क देखिनु हुन्छ ।
अध्यक्षका अर्का प्रत्याशी नवराज शर्माले समेत मतदानमार्फत नै नेतृत्वको टुङ्गो लाग्ने बताउनु भएको छ । उहाँले सहमति नजुटे प्रतिस्पर्धामा जानुको विकल्प भएन भन्नुभयो । उहाँले भन्नुभयो, ‘उम्मेदवारी दर्ता गरिएको छ, सहमति हुन नसकेपछि मर्यादित हार्दिकताको वातावरणमा निर्वाचनमा प्रतिस्पर्धा हुन्छ ।’ उहाँले पनि आफ्नो जित सुनिश्चित भएको बताउनु भयो ।
अन्ततः नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशनमा प्यानलगत रुपमा नै चुनावी प्रतिस्पर्धा सुरु भएको छ । उपाध्यक्ष विष्णु पौडेल– उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूह र महासचिव शंकर पोखरेल– स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षधर पदाधिकारीमा प्यानलसहित चुनावमा होमिएका हुन् । दुबैतिर प्यानल लिस्टमा नभएका अर्जुनकुमार सुनामले पनि उपसचिवमा उम्मेदवार हुनुहुन्छ । तथापि उहाँलाई खगराज नजिक मानिन्छ ।
दुई प्यानलबीच नतिजा आफ्नो पक्षमा ल्याउन कसरत चलिरहेको छ । तेस्रो धारको अभ्यास गरेका भनिएका सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य किरण गुरुङ दुबै समूहले आफूतिर लागेको भन्दै प्रचार गर्न समेत भ्याएका छन् । यद्यपि उहाँहरू देखिने गरी खुल्नु भएको छैन ।
विभिन्न क्लस्टरमा २७ जना निर्विरोध ;
मनाङ (संघीय निर्वाचन क्षेत्र भूगोल)
चिन घले
मनाङ जिल्ला भूगोल (खुल्ला)
बाबुराम नेपाली
पेम्बा घले
लमजुङ जिल्ला भूगोल (खुल्ला)
प्रेमबहादुर घले
फूलबहादुर थापा
लमजुङ जिल्ला भूगोल (महिला)
लक्ष्मी अधिकारी
विष्णुमाया राना
लमजुङ जिल्ला (दलित)
नन्दराम विश्वकर्मा
आदिवासी जनजाति (महिला), जोगमाया महतो, निर्मला थापा, लालसुब्बा गुरुङ, मुस्ताङ जिल्ला भूगोल (खुल्ला), हेमेन्द्र शेरचन, मुस्ताङ जिल्ला भूगोल (महिला), शर्मिला गुरुङ, मुस्ताङ संघीय निर्वाचन क्षेत्र भूगोल इन्द्रधारा विष्ट, अल्पसंख्यक (महिला), सुनकुमारी भुजेल घर्ती, मुस्ताङ जिल्ला भूगोल (दलित), तिलक विक, गोरखा–१ संघीय निर्वाचन क्षेत्र भूगोल, टिकानारायण श्रेष्ठ, गोरखा–२ संघीय निर्वाचन क्षेत्र भूगोल), हरिप्रसाद काफ्ले,बाग्लुङ–१ संघीय निर्वाचन क्षेत्र भूगोल, लिला राणा, बागलुङ– २ संघीय निर्वाचन क्षेत्र भूगोल, टंकप्रसाद शर्मा पौडेल, म्याग्दी संघीय निर्वाचन क्षेत्र भूगोल, हरिकृष्ण श्रेष्ठ, म्याग्दी जिल्ला भूगोल, किरण सापकोटा, म्याग्दी जिल्ला भूगोल दलित, पुष्कर विक, प्रदेश मजदुर (महिला), संगीता पाण्डे, जिल्ला भूगोल दलित (नवलपुर), कृष्णबहादुर विके, लेखा समिति महिला सदस्य मन्जु केसी र रेखा पौडेल ।
प्रकाशित मिति २०८० आश्विन १८, बिहीबार ०९:२० गते