पोखरा– नेकपा (एमाले)को गण्डकी प्रदेशस्तरीय नेतृत्व चयनका लागि मतदान भइरहेको छ । मतदान प्रक्रिया अत्यन्तै झञ्जटिलो रहेको बताइएको छ, जसका कारण एकजनालाई मतदान गर्न १२ मिनेटदेखि २० मिनेटसम्म लागेको छ । प्यानलगत प्रचारले झण्डै झडपको स्थिति उत्पन्न भएको थियो । तर प्यानलको प्रचार नरोकिने भएपनि स्थिति शान्त बनेको छ ।
बिहान ११ः५५ बजेदेखि मतदान सुरू भएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बताउनु भयो । उहाँका अनुसार ३३ वटा भोटिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ । उहाँले भन्नुभयो, मतदानको समय साँझ ५ः३० बजेसम्मलाई निर्धारण गरिएको र आजै नतिजा आउने छ ।’
यो समाचार तयार गर्दै गर्दा ४१९ मत खसेको लमजुङका जिल्ला सचिव सुभास पौडेलले बताउनु भयो । उहाँका अनुसार मतदान प्रक्रिया सम्पन्न गर्दा राती ८ देखि ९ बज्न सक्ने आंकलन(हल्ला) गरिएको छ ।
एमाले गण्डकी प्रदेशको आगामी नेतृत्वका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको छुट्टछुट्टै प्यानल खडा भएको छ ।
उपमहासचिव गुरूङले बनाएको प्यानलबाट अध्यक्षमा वर्तमान प्रदेश अध्यक्ष नवराज शर्मा(म्याग्दी) हुनुहुन्छ । उपाध्यक्षमा मीनबहादुर गुरूङ(स्याङ्जा), सचिवमा धनञ्जय दवाडी(लमजुङ), उपसचिवमा पर्वतकी मञ्जु अधिकारी र कास्कीका दामबहादुर बिक रहनु भएको छ ।
लेखा आयोग प्रमुखमा नवलपुरका अमृत ज्ञवाली र उपाध्यक्षमा गोरखाका गिरिधारी बास्कोटा र सचिवमा बाग्लुङका वीरबहादुर बिक सो पक्षबाट प्रत्यासी हुनुहुन्छ ।
अधिकारी समूहले अध्यक्षमा केन्द्रीय सदस्य समेत रहनु भएका मायानाथ अधिकारी(लमजुङ), उपाध्यक्षमा बाबुराम बिक(नवलपुर), सचिवमा रश्मी आचार्य(कास्की) तथा उपसचिवमा सन्तोष रावल(म्याग्दी) र मीना गुरूङ (कास्की) उम्मेदवार रहनु भएको छ ।
एमालेले २०८० लाई अधिवेशनको वर्ष मानेको छ ।
आ–आफ्नो प्यानलको लिस्ट बाँड्दै दुबै पक्ष :
एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका प्रदेश अधिवेशनमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व छनौट गर्ने चाहना थियो । सर्वसम्मत नभए पनि पार्टी नेतृत्व छनौटमा गुटबन्दी देखिने गरी प्यानल नबनाउन चेतावनी समेत दिनु भएको थियो । त्यस्तै, सो दलका गण्डकीका इन्चार्ज गोकर्ण विष्टले पनि प्यानल बनाएर चुनाव लड्न नदिने उदघोष गर्नु भएको थियो । तर अध्यक्ष ओली र इन्चार्ज विष्टको निर्देशनविपरीत अहिले भइरहेका प्रदेश अधिवेशनहरूमा प्रष्ट देखिने गरी प्यानल बनेका छन् । प्रदेशको अध्यक्षदेखि सदस्यसम्मै प्यानल बनाएर अधिवेशन प्रतिनिधिलाई भित्रभित्रै लिस्ट वितरण भइरहेको जानकारीमा आएको छ ।
गण्डकी प्रदेश अधिवेशनमा प्यानलको लिस्ट वितरण गर्दा दिउँसो केहीबेर कार्यकर्ताहरूमा तनाव समेत सिर्जिएको थियो । उपमहासचिव पृथ्वीसुब्बा गुरूङ समूहबाट आदिवासी जनजाति प्रदेश सदस्यका उम्मेदवार बनेका हुमबहादुर गुरूङले केही युवाले लिस्ट वितरण गरिरहको देखेपछि गुरूङले के हो यो ? भन्दै आपत्ती व्यक्त गर्नुभयो ।
तर पृथ्वीसुब्बा समूहले पनि आफ्नो प्यानलकै लिस्ट बनाएर भित्रभित्रै मतदातालाई बाँडिरहेको भेटिएको छ । दुबै पक्षले लिस्ट बनाएर बाँडेपछि भने मतदान शान्तपूर्वक चलिरहेको छ ।
एमाले गण्डकी प्रदेश अधिवेशनले ५ पदाधिकारीसहित १ सय ६५ सदस्यीय कमिटी निर्वाचित गर्र्दै छ । गण्डकी प्रदेश अधिवेशनमा ११ जिल्लाका ९ सय ७ जना प्रतिनिधि रहेको निर्वाचन समितिले बताएको छ ।
प्रकाशित मिति २०८० आश्विन १८, बिहीबार १६:२६ गते