काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्याङ्जाका एकजना सिनियर अहेवमाथि अकुत सम्पत्ती कमाएको आरोप लगाएको छ । चापाकोट स्याङ्जाका सिनियर अहेब बिन्दु कोइरालाविरूद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा असोज १९ गते मुद्दा दायर गरेको हो । आयोगले अहेब कोइराला र उनकी श्रीमती गीतालाई प्रतिवादी बनाएको छ ।
आयोगले कोइरालाविरूद्ध ९० लाख ३९ हजार छ सय २० रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा लगाएको हो । चापाकोट नगरपालिकाका सिनियर अहेब कोइराला सरकारी सेवामा रहँदा २०५४ कार्तिक ५ गतेदेखि २०७८ मंसिर १ गतेसम्म आर्जन गरेको सम्पत्तिको विषयमा आयोगले अनुसन्धान गरेको आयोगका प्रवक्ता भोला दाहालले बताउनु भयो । उहाँका अनुसार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी आरोप–पत्र दायर गरेको छ । उहाँले भन्नुभयो, ‘सो अवधिमा कोइरालाले दुई करोड ९७ लाख ८१ हजार आठ सय दुई रुपैयाँ बराबरको आय आर्जन गरेको पाइएको छ । सोही अवधिमा सिनियर अहेब कोइरालाले तीन करोड ८८ लाख २१ हजार चार सय २२ रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको अनुसन्धानको क्रममा फेला परेको छ ।’
सार्वजनिक सेवामा रहँदा करिब २० वर्षको अवधिमा कोइरालाले आर्जन गरेको सम्पत्तीमध्ये ९० लाख ३९ हजार ६२० रुपैयाँको स्रोत नखुलेको अख्तियारको ठहर छ । उनले २०५४ साल कार्तिक ५ गते सरकारी सेवामा प्रवेश गरेका थिए ।
सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदीय दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता कोइरालाको नाममा बैंकमा जम्मा गरेको पाइएको आयोगको भनाई छ । स्रोत पुष्टि हुन नसकेको सम्पत्ति जफथ गरी बिगो बमोजिम कारवाहीको माग दावी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार कोइरालाविरुद्ध सोही रकम बराबर विगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद सजाय हुन र स्रोत नखुलेको सम्पत्तीबाट जफत÷असुल गर्न माग दावी गरिएको छ । आयोगले अहेब कोइराला र उनकी श्रीमती गीता विरुद्ध बिगो बमोजिम कारबाहीको माग दावी गरेको छ ।
प्रकाशित मिति २०८० आश्विन १९, शुक्रबार १९:४९ गते