कोशी सरकार : भ्याकुताको धार्नी पुर्याउन खोज्नु भन्दा मध्यावधिमा जान सहज

कोशी सरकार : भ्याकुताको धार्नी पुर्याउन खोज्नु भन्दा मध्यावधिमा जान सहज

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज २० गते शनिवार ०४:४३

आयो मुख्यमन्त्रीको राजीमाना, पाँचौं सरकारले पनि विश्वासको मत पाउन आधार देखिदैन । यसपटक ६ जना सांसद भएको राप्रपाले पनि साथ नदिँदा प्रदेशमा एमाले एक्लिएको हो । अन्य गठबन्धनको पनि सहजै बहुमत पुग्ने स्थिति सुनिश्चित हुन सकेको देखिदैन ।

महिना दिनमै बिदा भयो सर्वोच्चको परमादेश पाएको कोशीको चौथो सरकार

विराटनगर– प्रदेशसभाबाट विश्वासको मत पाउन नसक्ने निश्चित भएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिनु भएको छ । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा असोज २० गते गर्नुभएको हो ।
मुख्यमन्त्री दपबाट राजीनामाको घोषणा गर्दै हिक्मत कार्कीले राजनीतिक दलहरूको अङ्कगणित र अहिलेको अवस्था हेर्दा मध्यावधि निश्चित रहेको समेत बताउनु भएको छ । कार्कीले मध्यावधि हुने अवस्थामा चुनाव भाग लिन एमाले नडराउने बताउनु भयो । तर राष्ट्रिय आवश्यकता, प्रदेशको आवश्यकता, आर्थिक अवस्था र जनचाहना अनुसार फेरि निर्वाचनको चाहाना भने नभएको उल्लेख गर्नु भयो ।
उहाँले संविधान र सर्वोच्च अदालतले विभिन्न मितिमा गरेको फैसलाले र संविधानको धारा १६८ को उपधारा ३ अनुसार सरकारले विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था हुँदा राजीनामा गरेर पदमुक्त हुनुपर्छ भनेर सुझाव आएको बताउँदै राजीनामाको घोषणा गर्नु भएको हो ।
कार्कीले थप भन्नुभयो– ‘अहिलेको जटिलता र अंकगणितको अवस्थाले थप जटिलतालाई नजरअन्दाज गर्ने हो भने हामी मध्यावधिको अवस्थामा पुग्नेछौँ । अहिलेको अङ्कगणित जुन छ, ४० सिट भएको पार्टी एकातिर नेकपा एमाले छ । हामीसँग सहकार्य गरेका दल छन् । अर्कोतिर गठबन्धन दल छ उसको पनि स्पष्ट बहुमत छैन । यो बीचमा घुमिरहेका छौँ, हामीले यो अङ्कगणितलाई ख्याल गरेनौँ भने मध्यावधि हाम्रो अगाडि निश्चित छ । यो चाहाना र माग हो भने जनताको बीचमा जान नेकपा एमाले डराउँदैन । निर्वाचनमा जान तयार छ तर निर्वाचन अहिले राष्ट्रिय आवश्यकता, प्रदेशको आवश्यकता, जनताको चाहना, सामाजिक अवस्था आदी केहीमा जनताले निर्वाचनको माग गरेका छैनन् ।’
सर्वोच्च अदालतको परमादेशपछि गएको भदौ २२ गते कार्की मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।
यसपटक ६ जना सांसद भएको राप्रपाले पनि साथ नदिँदा प्रदेशमा एमाले एक्लिएको हो ।
कोशी प्रदेशमा नेपाली काँग्रेस (२९), नेकपा माओवादी केन्द्र (१३), नेकपा एकीकृत समाजवादी (४) र जनता समाजवादी(१) ले विपक्षमा मतदान गर्ने घोषणा गरेका थिए ।
सर्वोच्च अदालतको परमादेशपछि अल्पमतको सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री कार्कीले भदौ २२ मा संविधानको धारा १६८ को उपधारा ३ अनुसार गठित सरकारलाई अन्य दलहरूले विश्वासको मत लिन साथ नदिएपछि कार्की नेतृत्वको सरकार ३० दिनमै बिदा भएको हो ।
सरकार बन्ने र ढल्ने क्रम बाक्लै चलिरहेको कोशी प्रदेशमा चौथो सरकार पनि बिदा भएको छ । यो सँगै अब संविधानको धारा १६८ को उपधारा ५ अनुसारको सरकार बन्ने बाटो खुलेको छ । तर भ्याकुताको धार्नी पुर्याउन खोज्नु भन्दा मध्यावधिमा जान सहज हुने स्थितिले बोलिरहेको आम बुझाइ छ ।
कोशीमा अब नयाँ सरकार बनाउने तयारीमा लाग्ने विपक्षी गठबन्धनको भनाइ छ । तर कुन दलको नेतृत्वमा सरकार बनाउने भन्ने टुंगो लागेको छैन । अब बन्ने सरकार भने संविधानको धारा १६८ को उपधारा ५ अनुसारको हुनेछ । यो उपधारा अनुसार प्रदेशसभामा बहुमत जुटाउन सक्ने सांसदले बहृुमत सदस्यको समर्थनमा मुख्यमन्त्री दाबी गर्न सक्नेछ । दश महिना पूरा हुँदानहुँदै प्रदेशसभाको चौथो अधिवेशनसमेत चलिरहेको प्रदेशमा अब बन्ने सरकार पाँचौं हुनेछ ।
स्मरणीय छ, दोस्रो कार्यकालका लागि प्रदेशसभा गठन भएको १० महिनाभित्र सरकार निर्माणका सबै संवैधानिक विकल्प प्रयोगमा आउने भएको छ ।

प्रकाशित मिति २०८० आश्विन २०, शनिबार १६:४३ गते
हजुरको प्रतिक्रिया