काठमाडौं– यस वर्षको बडादशैंका लागि घटस्थापनाको भोलिपल्टदेखि अर्थात असोज २९ गतेदेखि बडादशैंका लागि नयाँ नोट साट्न पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै उक्त दिनदेखि नयाँ नोट साटिने जानकारी असोज २१ गते दिएको हो ।
बैंकका अनुसार ५, १०, २०, ५० र १०० रुपैयाँ दरका एक एक बन्डल उपलब्ध हुनेछ । यस्तो नोट सटहीका लागि उपत्यका बाहिर राष्ट्र बैंकको शाखा तथा क्षेत्रीय कायालयसँगै अन्य बैंक तथा वित्तीय संस्थाहरूले तोकेको केन्द्रहरूमार्फत सटही सुविधा लिन सक्ने बैंकले जनाएको छ । बडादशैंका लागि विगत वर्षझैं यो वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार पाँच सय रूपैयाँ सटही सुविधा दिने भएको छ ।
राष्ट्र बैंकले बडादशैंको लागि मात्रै करिब १० अर्बभन्दा बढी रुपैयाँको नयाँ नोट बजारमा पठाउने गरी तयारी गरेको जनाएको छ । विगतका बडादशैंहरूमा सात÷आठ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा सटही गर्ने गरेको थियो ।
चलनचल्तीमा रहेका पाँच रुपैयाँ र १० रुपैयाँको नोट धेरै चाडो पुरानो हुने गरेको छ । यस्ता नोटको आयु लगभग तीन वर्षको मात्रै हुने गर्छ । पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्ममा साना दरका नोटलाई सटहीमा प्रयोग गरिरहेको छ । राष्ट्र बैंकको गत साउनसम्मको तथ्यांकअनुसार बजारमा ५ खर्ब १४ अर्ब रूपैयाँ बराबरका पैसा चलनचल्तीमा छन् ।
राष्ट्र बैंकले हाल एक र दुई रुपैयाँका नोट निष्कासन गर्न छोडेको जनाएको छ । औसतमा सबै खाले मुद्रा छाप्न दुई रुपैयाँ ५० पैसा लाग्छ ।
वि.स. २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना हुनु अघिसम्म पनि नेपालमा भारतीय मुद्राको दबदबा थियो ।
प्रकाशित मिति २०८० आश्विन २१, आईतवार १८:२८ गते