काठमाडौँ– मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि एमाले निकट युवासंघको अगुवाइमा कालोमोसो दलिएको छ । संघीय राजधानीको एल्लो प्यागोडामा आयोजित पत्रकार सम्मेलन पछि फर्कने क्रममा प्रसाईं त्यस्तो कार्य भएको हो । सो कार्यमा युवा संघको एक समूहले प्रसाईलाई असोज २२ गते कालोमोसो दलेको हो ।
कालोमोसो दलेपछि सो कार्यमा संलग्नहरूले एमालेको पक्षमा नाराबाजी गरेको थियो । दुर्गा प्रसाईलाई कालोमोसो दल्ने कार्यमा युवा संघको संलग्नता रहेको युवा संघका अध्यक्ष क्षितिज थेवेले स्वीकार गर्नु भएको छ । उहाँका अनुसार स्वतन्त्र युवाहरूको अभियानलाई मन परेपछि युवा संघका कार्यकर्ताहरूले कार्यमा सहयोग गरेको हुन् ।
उहाँले भन्नुभयो, ‘स्वतन्त्र युवाहरू दुर्गा प्रसाईको भड्काउपूर्ण अभिव्यक्ति, संविधानको मर्मविपरीत, संविधानलाई नै कुल्चेर, गणतन्त्रकै खिलापमा दिएको अभिव्यक्तिविरुद्ध उत्रिएका रहेछन् । हाम्रा साथीहरू पनि त्यही हुनुहुँदो रहेछ, स्वतन्त्र युवाहरूको अभियानलाई राम्रो लागेर हाम्रो साथीहरूले पनि सहयोग गर्नुभएको हो ।’
राष्ट्रकै अहित हुने र समाजमा विग्रह ल्याउने कार्यमा प्रसाई संलग्न भएको दाबी गर्दै उनले स्वतन्त्र युवाहरूलाई युवा संघले सहयोग गरेर ठीक गरेको थेवेले उल्लेख गर्नु भयो ।
यसबारेमा प्रसाईसँग सम्पर्क गर्दा आफूलाई नेकपा एमालेका कार्यकर्ताले दुर्व्यवहार गरेको बताउनु भयो । उहाँका अनुसार आफूले सर्वहारा वर्गको पक्षमा वकालत गर्दा एमालेका कार्यकर्ताले आफूमाथि दुर्व्यवहार गरेका छन् । उहाँले भन्नुभयो, ‘देशका विद्यमान समस्याका विषयमा राखिएको छलफल कार्यक्रममा सम्बोधन गरिसकेर फर्कनका लागि गाडी चढ्न लागेको बेलामा रंग– पानीले भरेको बोतलबाट एमालेका कार्यकर्ताले आफूमाथि छ्यापेर दुर्व्यवहार गरे ।’
प्रकाशित मिति २०८० आश्विन २२, सोमबार २०:५० गते