
सुन्दरबजार– लमजुङ परिवार दक्षिण कोरियाका महासचिव गमबहादुर गुरुङको महासचिव चयन भएको साता दिन वित्दा नवित्दै निधन भएको छ । उहाँको हृदय घातका कारण असोज १७ गते निधन भएको हो । ३५ वर्षीय गुरुङ लमजुङको सुन्दरबजार नगरपालिका ५, गहतेका स्थायी बासिन्दा हुनुहुन्थ्यो ।
गुरुङ गत साता सम्पन्न लमजुङ परिवार दक्षिण कोरियाको १४ औं अधिवेशनबाट महासचिवमा निर्वाचित हुनुभएको थियो । गहतेस्थित कालिका युवा क्लवका पूर्वअध्यक्ष समेत रहनुभएका गमबहादुर गुरुङ सामाजिक काममा निकै रुचि राख्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँको अल्पायुमै दक्षिण कोरियामा भएको असमायिक निधनको खबरले आफूलगायत सिंगो गाउँ नै शोकमा डुबेको मामा नाता पर्ने हस्तबहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार भाञ्जा गमबहादुर गुरुङ ६ वर्षअघि दक्षिण कोरिया जानुभएको हो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय उहाँ ४– ५ महिना अघिमात्रै आएर फर्कनुभएको हो, एउटा बौद्धिक युवाको निधनले सिंगो लमजुङ जिल्लालाई अतुलनीय क्षति पु¥याएको छ ।’
गमबहादुर गुरुङ शव नेपाल ल्याउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँको यही दक्षिण कोरियामा निधन भएको पारिवारिक स्रोतले बताएको छ । लमजुङ परिवार दक्षिण कोरियाका नवनिर्वाचित अध्यक्ष मेघप्रसाद वाइवाका अनुसार महासचिव गमबहादुर गुरुङको रातीको काममा जानुअघि हृदय घातका कारण निधन भएको बुझिएको जानकारी दिनु भएको छ । उहाँका अनुसार गमबहादुरले काम गर्ने ठाउँ फाजुस्थित कम्पनीमा गएर बुझ्दा राती काम गर्ने समय अगाडि बेलुकी ६ बजेतिर निधन भएको बताइएको छ । उहाँले भन्नुभयो, ‘महासचिवज्युले बुधबार बिहान १० बजेर ५२ मिनेट जाँदा कार्यसमितिको पहिलो बैठक बस्ने सम्बन्धमा सूचना जारी गर्नुभएको थियो । हाम्रो कार्यसमितिका लागि वहाँको त्यो सूचना नै अन्तिम सूचना रह्यो ।’
गमबहादुरसंग एकजना भियतनामी कामदार पनि संगै बस्दै आएका थिए । भियतनामी र गमबहादुरको संगसंगै काम गर्ने समय राती थियो । ‘ड्युटी’ सकिएपछि १७ गते बिहान नुहाएर खाना खाइ सकेपछि बिहान करिब ११ बजेतिर दुवै निदाएको अनुमान गरिएको अध्यक्ष वाइवाको भनाइ छ ।
अध्यक्ष वाइबालाई ‘साहुनी’ले दिएको जानकारी अनुसार बेलुकाको नियमित ड्युटी समय सुरु हुनु अगावै भियतनामी साथीले खाना खाएर कार्यस्थल जानुअघि गमबहादुरलाई बोलाए छन् । खसै केही चहल पहल देखिएनछ । पछि भियतनामी आफैं कोठामा गएर लाइट बालेर गमबहादुरलाई उठाउन लाग्दा सुतिरहेकै अवस्थामा भेटिएछ । तुरुन्तै कम्पनीको साहुसँग कुरा गरेर एम्बुलेन्स र पुलिसलाई खबर गरेको कम्पनी साहुनीले जानकारी गराएको वाइबाले बताउनुभयो ।
घटनापछि गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, एनआरएन आइसीसी सचिव जुनु गुरुङ, लमजुङ परिवारका संरक्षक भिम गुरुङ, वरिष्ठ सल्लाहकार बिल गुरुङ, निवर्तमान अध्यक्ष राजकुमार गुरुङ र वरिष्ठ उपाध्यक्ष सन्तोष दुराको संयुक्त टोलीले घटनाबारे जानकारी लिएको अध्यक्ष वाइवाले बताउनुभयो ।
उहाँले गमबहादुर गुरुङको निधनबारे नेपालमा घरपरिवारलाई जानकारी गराइसकेको र परिवारको निर्णय अनुसार शवलाई छिट्टै नेपाल पठाइने बताउनुभयो । मृतक गमबहादुर गुरुङको श्रीमती, एक छोरी, एक भाइ र बुवाआमा गाउँमै हुनुहुन्छ ।
प्रकाशित मिति २०८० आश्विन २३, मंगलवार १३:०१ गते