एमाले सुदूरपश्चिममा चार जनाको उम्मेदवारी पर्यो

no-image

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज २३ गते मङ्गलबार ०७:४३

उपाध्यक्ष पदमा पाँच जना र सचिवमा भने तीन जनाको मात्र उम्मेदवारी छ । यसले पनि अध्यक्ष पदमा चार धार होइन कि ? भन्ने आशंका पनि छ ।

उदघाटन सत्रमा समेत ननिम्त्याइनु भएका भीम रावलको भूमिका अब के होला ? धेरैको जिज्ञासा छ ।

काठमाडौं– नेकपा (एमाले) सुदूरपश्चिमको जारी अधिवेशनमा नेतृत्व चयन प्रक्रिया लम्बिएको छ । विहानसम्म तीन जनाले अध्यक्ष पदको दावी गरेकोमा दर्ता गर्दा थप एक जनाको समेत उम्मेदवारी परेको छ । जसमा बहालवाला प्रदेश कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, प्रदेश सचिवालय सदस्यत्रय कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र बचनबहादुर सिंहले असोज २३ गते उम्मेदवारी दर्ता गराउनु भएको हो ।
निर्वाचन कमिटीले प्रकाशन गरेको उम्मेदवारको प्रारम्भिक नामावली अनुसार अध्यक्षमा अछामकै तीन जना प्रत्याशी देखिएका छन् । कमल तिमिल्सिना, कृष्णप्रसाद जैसी र भरत साउदले अध्यक्षमा दावी गर्नु भएको छ भने बचनबहादुर सिंहले पनि अध्यक्षमा उम्मेदवारी दिनु भएको छ । चार जनामध्ये सिंह कञ्चनपुरका र अन्य तीनै जना अछामका हुनुहुन्छ । यसबाट स्थानीय तहको गुटबन्दी सुदूरपश्चिममा छताछुल्ल हुन पुगेको छ ।
भीम रावलको भूमिका अब के होला ?
एमाले सुदूरपश्चिममा भीम रावलको प्रभाव उल्लेख्य मानिन्छ । तर दसौं महाधिवेशनमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेपछि एमालेमा रावललाई पाखा लगाउने काम हुँदै आएको छ तर पनि उहाँ आजका दिनसम्म एमालेमै देखिनु भएको छ । तर प्रदेश पहिलो अधिवेशनको उद्घाटन सत्रमा समेत उहाँलाई नबोलाइएको बताइन्छ । त्यसैले पनि आउँदा दिनमा नेता भीम रावलको भूमिका अब के होला ? भन्ने धेरैको जिज्ञासा रहेको छ ।
पहिलो प्रदेश अधिवेशनको बन्दसत्रमा आइपुग्दा एमाले सुदूरपश्चिममा स्पष्टै तीन धार देखिएको छ । एक धारको नेतृत्व दामोदर भण्डारीबाट भएको छ । प्रदेशका निवर्तमान अध्यक्ष उहाँले अछामकै कमल तिमिल्सिनालाई अध्यक्षका रूपमा उम्मेदवारको रूपमा अघि सार्नु भएको छ । निवर्तमान कमिटीका उपाध्यक्ष रहनु भएका उहाँलाई केन्द्रीय सदस्यहरू प्रकाश शाह, तारा लामा तामाङ, राजेन्द्रसिंह रावल, झपट रावल, दयालबहादुर शाही, लीला भण्डारी, गणेशसिंह ठगुन्ना, पुरनसिंह दयाल, कमला बोहोरा, लालबहादुर थापा, आशा बिक, अखिलाल ओखेडालगायतको समर्थन रहेको बताइएको छ । भीम रावलले पनि यही समूहलाई भित्रभित्रै समर्थन रहेको स्रोतको दाबी छ ।
अर्को धारको नेतृत्व कर्ण थापाको छ । सो समूहबाट अछामका कृष्णप्रसाद जैसीले उम्मेदवारी दिनु भएको छ । जैसी अछामका पूर्वजिविस सभापति हुनुहुन्छ । जैसीका पक्षमा केन्द्रीय सदस्य नारदमुनी राना, निरूदेवी पाल, गौरी वली, ऐन महर, नरबहादुर धामी लगायतको साथ रहेको बताइएको छ ।
त्यस्तै, अर्को धारमा लेखराज भट्ट देखिनु भएको छ । उहाँले अध्यक्षमा केपी ओलीनिकट केही नेतालाई साथ लिएर पूर्वमाओवादी धारको नेतृत्व गर्दै हुनुहुन्छ । उहाँले बचनबहादुर सिंहलाई अघि सार्नु भएको बताइन्छ । उहाँको टिममा गौरीशंकर चौधरीलगायत पूर्वमाओवादी नेताहरू समेत रहनु भएको स्रोत भन्छ ।
उपाध्यक्ष पदमा पाँच जना हजारी साउद, बलदेव रेग्मी, हरिसिंह साउद, कालीबहादुर शाही र रणबहादुर महराले उम्मेदवारी दिन् भएको छ । तर सचिवमा भने तीन जनाको मात्र उम्मेदवारी छ । जसमा रणबहादुर चन्द, रतनराज रेग्मी र राजेशकुमार खाती हुनुहुन्छ । यसले पनि अध्यक्ष पदमा चार धार होइन कि ? भन्ने आशंका पनि छ ।
उपसचिव महिलातर्फ कन्दकला राना, अर्चना गहतराज र भागिरथी बिष्ट तिमिल्सिना तथा उपसचिव खुलामा ६ जना रामदत्त जोशी, हरदेवी जोशी, अशोककुमार चन्द, नरबहादुर बिक, पल्लवराज भट्ट र सुरेन्द्रबहादुर पालले दावी गर्नु भएको छ ।
लेखा समितिको पदाधिकारीमा भने एक÷एक जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा राजेन्द्रसिंह सामन्त, उपाध्यक्षमा धनीराम लुहार र सचिवमा पदम सिंह धामीको उम्मेदवारी परेको बताइएको छ ।
निर्वाचन समितिले बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो । तर साढे ११ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको प्रमुख निर्वाचन अधिकृत पदम पालले बताउनु भयो ।
कार्यतालिका अनुसार निर्वाचन समितिले दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन गर्ने र बेलुकी ५ बजेदेखि मतदान सुरू गर्ने बताएको छ ।

प्रकाशित मिति २०८० आश्विन २३, मंगलवार १९:४३ गते
हजुरको प्रतिक्रिया