करिब साढे चार लाख रुपैयाँको बाउन्स चेकको मुद्दामा जिल्ला अदालतद्वारा मिलापत्र

करिब साढे चार लाख रुपैयाँको बाउन्स चेकको मुद्दामा जिल्ला अदालतद्वारा मिलापत्र

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज २३ गते मङ्गलबार १०:२३

मिलापत्रपछि जाहेरवालालाई बिगो भराई प्रतिवादी परियारलाई बिगो बमोजिम जरिवाना र तीन महिनासम्म कैद सजाय हुने अभियोग दावी लिइएकोमा सो सजाय नहुने भएको छ ।

मिलापत्रका लागि भूमिका खेल्नेमा अधिवक्ता विजयप्रकाश अधिकारी

बेसीशहर– लमजुङ जिल्ला अदालतमा करिब साढे चार लाख रुपैयाँको बाउन्स चेकको मुद्दामा मिलापत्र भएको छ । लमजुङको दुधपोखरी गाउँपालिका– ६ बस्ने गौप्रसाद गुरुङ वादी र कारागार कार्यलय लमजुङ शाखामा थुनामा रहेका पञ्चबहादुर परियारका बीचमा मिलापत्र असोज २३ गते भएको हो ।
सो बैंकिङ कसुर मुद्दामा मिलापत्र गराई पाउँ भनी जिल्ला अदालतमा वादी ४० वर्षीय गौप्रसाद गुरुङ र २९ वर्षीय पञ्चबहादुर परियारबाट संयुक्त रुपमा निवेदन पेश भएको थियो । त्यसमा सरकारी वकील कार्यालय, मिलापत्र गराउन मिल्ने भनी दिएको आदेश साथै राखी पेश गरेको मुद्दामा जिल्ला न्यायाधीश शिवप्रसाद खनालको इजलासमा पेश हुँदा दुवै पक्षका बीचमा मिलापत्र भएको हो । सो कार्यमा प्रतिवादी पक्षका अधिवक्ता विजयप्रकाश अधिकारीले प्रतिवादी बेसीशहर नगरपालिका– २ मा स्थायी बसोबास भई कारागार कार्यलय लमजुङ शाखामा थुनामा रहेका वर्ष २९ का पञ्चबहादुर परियारलाई वादी गुरुङले पाउनु पर्ने साँवा रकम चार लाख ५६ हजार रुपैयाँ वादीको खातामा नगदै जम्मा गरेको भौचर इजलाशमा पेश गरेपछि सो मिलापत्र भएको प्रतिवादीपक्षका अधिवक्ता अधिकारीले बताउनु भयो ।
अधिकारीका अनुसार सो मुद्दामा असोज १४ गते प्रतिवादीलाई जिल्ला अदालतबाट दुई लाख रुपैयाँ धरौटी माग भएकोमा सो रकम राख्न नसरी प्रतिवादी परियार जिल्ला कारागारमा थुनामा रहेका थिए ।
उहाँले भन्नुभयो, ‘प्रस्तुत बैंकिङ कसुर मुद्दामा आफ्नो खाताका पर्याप्त रकम नै नभएको चेक दिई बैंकिङ कसुर गरेको हुँदा प्रतिवादीले बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ को देहाय (ग) बमोजिमको कसूर अपराध गरेको स–प्रमाण पुष्टि हुन आएको हुँदा उनलाई सोही ऐनको दफा १५ को उपदफा १ बमोजिमको बिगो चार लाख ५६ हजार रुपैया कायम गरी जाहेरवालालाई बिगो भराई प्रतिवादी परियारलाई बिगो बमोजिम जरिवाना र तीन महिनासम्म कैद सजाय हुने अभियोग दावी लिइएकोमा मिलापत्र भएपछि प्रतिवादीलाई विगो बमोजिमको जरिवाना र तीन महिना कैद नहुने भएको छ ।’
यस्तो प्रकृतिको मुद्दा जिल्ला अदालतको इतिहासमा पहिलो हो भने जिल्लामा मिलापत्रको क्षेत्राधिका प्राप्त भए पछिको मुद्दा पनि पहिलो भएको अधिवक्ता अधिकारीले उल्लेख गर्नु भयो ।

प्रकाशित मिति २०८० आश्विन २३, मंगलवार २२:२३ गते
हजुरको प्रतिक्रिया